Loading...
कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ठ अवार्ड छुटाउँदीनन्

म्याग्दी जिल्लाको रुम गाविस वडा नं. ९ डाँडा गाउँमा बाबबाट स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिएकि हुन् । ९ वर्षको उमेरमा बाबा गुमाएकी कमलालाई पालनपोषण र शिक्षदिक्षाको काम उनकी आमाले गरेकी हुन् । पछिल्लो समय हुने गरेका महिला भलिबल प्रतियोगितामा उत्कृष्ठ अवार्ड लिइरहने नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी भरपर्दी खेलाडी कमला सँग अमृत बास्कुनेले गरेको कुराकानी ।
दक्षिण एसीयाली खेलकुदमा कास्य पदक लिएपछि कमला
प्रश्न : भलिबल क्षेत्रमै किन पाइला चालियो त ?
उत्तर: मलाई सानै देखि खेलकुद मन पर्ने अनि भलिबल भनेपछि निकै रुची थियो । हुनत म्याग्दीको ग्रामिण भेकमा धेरै भलिबल खेल्ने भएको भएर होला म पनि भलिबलमा नै लागेँ । भलिबलमा रुची भएपनि छात्राहरु भलिबल खेल्ने कम हुन्थ्यो मुस्कीलले मात्र टिम पुग्ने समस्या थियो । केटीमान्छेलाई घरबाट बाहिर जान पनि दिदैन थिए गाउँमा मैले भने आमालाई फकाउथे अनि जान्थे खेल्नका लागि । अनि गाउँघरमा हुने मेलाहरुमा हुने प्रतियोगितामा सहभागी हुन जाँदा पनि म बेष्ट प्लेयर हुन्थे । जब म पुरस्कार थापेर घर पुग्थे मेरी आमा धेरै खुसी हुनुहुन्थ्यो ।
प्रश्न: खेलकुदको क्षेत्रमा कसरी अगाडी बढ्नु भयो ?
उत्तर : मैले ओखरबोट माध्यमिक विद्यालयबाट पढेकी हु भने मेरो एसएल एन्जलहार्टबाट हो । तत्कालीन समयमा वीरेन्द्र शिल्डको नामले हुन्थ्यो विद्यालय स्तरीय खेलकुद प्रतियोगिता । म ओखरबोटबाट वीरेन्द्र शिल्डमा सहभागी हुन आएको थिए । जिल्लाबाट छनौट भएर क्षेत्रमा पुगेँ म अनि क्षेत्रीय प्रतियोगिताबाट पनि म छनौट भएर क्षेत्रीय टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थिए । त्यो बेलामा वीरेन्द्र शिल्ड प्रतियोगिताको महिला भलिबल प्रतियोगिता पश्चिमाञ्चलले जितेको थियो । त्यस पछि मेरो खेल तर्फको रुची झन बढ्न थाल्यो । काठमाडौमा हुने ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा सहभागी हुनका लागि मलाई एन्जल हार्ट स्कूलबाट बोलाउनु भयो र म उक्त स्कूलको तर्फबाट खेले । मलाई त्यही स्कूलले छात्रबृत्तिमा पढाउने प्रस्ताव राख्यो र मैले स्वीकारे स्कूलको प्रस्तावलाई ।
प्रश्न: भलिबलमा भएको प्रगति र अहिलेको अवस्थामा आउन कस्ले सहयोग ग¥यो ?
उत्तर: मैले पढाइ सँगै खेल्ने र खेलको कोचीङ लिन थाले त्यस बेला इम राना मगर गुरु हुनुहुन्थ्यो र मैले इम राना जस्तो कोचले सिकाएको सिक्न पाए र त्यहीको प्रशिक्षण पछि मलाई राष्ट्रिय खेल खेल्ने मौका मिल्यो । मैले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाएँ मैले । खेल्दै जाँदा म राष्ट्रिय टोलीमा छानिएँ म राष्ट्रिय टोलिमा छानीनुमा पहिलो त मेरो आमाको भुमिका जसले मलाई अरु छोरीहरुलाई जस्तो गरी बन्दनमा नराखी खुल्ला रुपमा खेलकुदमा भाग लिन दिनुभयो । त्यस पछि एन्जलहार्ट स्कूल जसले मलाई राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुने मौका सृजना गरीदियो अनि मेरो खेललाई निखार ल्याउन महत्वपूर्ण योगदान दिनुहुने गुरु इम रानालाई मैले कहिल्यै भुल्न सक्दिन ।
प्रश्न: अहिले सम्म उपाधि तथा पुरस्कार कति हात पार्नुभयो ?
उत्तर: अहिले सम्म मैले दुई वटा स्कुटर पाएको छु । २०७१ मा ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा प्रतिभावान खेलाडी हुँदै मैले स्कुटर पाए । २०७२ मा मैले ढोरपाटन डबल लगि भलिबलमा उत्कृष्ट खेलाडी बन्दै अर्काे स्कुटर पाएको थिए । रुरु खेल प्रतियोगितामा बेष्ट डिफेन्डरको अवार्ड पाएको थिए । त्यस्तै अन्तराष्ट्रिय प्रतियोगितामा मैले ४ पटक सहभागीता जनाएको छु । दुई वटा बिच भलिबल प्रतियोगिता थिए । त्यस मध्ये एभिसी सेन्टर जोन माल्दीप्समा भएको थियो त्यसमा हामीले स्वर्ण पदक प्राप्त गरेका थियौं । त्यस्तै पहिलो दक्षिण एसीयाली महिला भलिबल प्रतियोगिता सन २०१४ मा भएको थियो जसमा नेपालले रजत पदक जितेको थियो । त्यो प्रतियोगितामा हामी फाइनलमा चुक्यौं । दक्षिण एसीयाली महिला भलिबल प्रतियोगितामा रजत जित्ने टोलीलाई नेपाल सरकारले पनि सम्मान गरेको थियो । भर्खरै सम्पन्न सागमा नेपालले कास्य पदक जितेको थियो त्यो प्रतियोगितामा म्याग्दी जिल्लाका हामी दुई जना खेलाडीहरु परेका थियौं टोलीमा अरुणा शाही र म भने कोचमा म्याग्दीकै कौशिला खत्री हुनुहुन्थ्यो ।
प्रश्न: सम्झन लायक सम्मान कुनै छ ?
उत्तर : सागमा कास्य जितेपछि हामीलाई धेरै सम्मान मिल्यो । जिल्ला खेलकुद विकास समिति म्याग्दीले समन्वय गरेर म्याग्दीमा धेरै संघ संस्थाहरुले हामीलाई सम्मान गरेका थिए । अहिले सम्मानको क्रममा म्याग्दीका ५ जना खेलाडीहरु थियौं जसले सागमा मेडल जितेका थिए । भारत्तोलनकी तारादेवी पुन, उसुकी विन्दु पुन, आर्चरीमा प्रेमप्रसाद पुन हुनुहुन्थ्यो भने अरुण र म भलिबलका भयौं ।
प्रश्न : अहिले कुनै क्लब तथा कुनै संघ संस्थामा आबद्ध हुनुहुन्छ कि ?
उत्तर: अहिले म नेपाल प्रहरी क्लबबाट व्यवसायीक भलिबल खेलीरहेकी छु । 
प्रश्न : अन्त्यमा केही भन्नु छ कि ?
उत्तर : खेल जीवन भनेको मानिसलाई स्वच्छ राख्नकालागि महत्वपूर्ण भुमिका दिने चिज हो । राष्ट्रिय खेलकुद परिषद्ले अगाडी सारेको नाराले पनि मानिसलाई पक्कै छोएको हुन पर्छ ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ हो यही नारालाई आत्मसाथ गर्दै म आगाडी बढीरहेकी छु र अहिलेको यो स्थानमा आउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिन्छु अनि मिडीया क्षेत्र जसले रुमकी कमलालाई नेपालको राष्ट्रिय टोलीकी कमलाको रुपमा प्रचार प्रसार गरेको छ त्यसैले मिडीयाकर्मी र मिडियाका साथीहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।






Loading...
Amrit Baskune

ads