Loading...
गोर्खाल्याण्ड आन्दोलनः ‘नेपाली बोल्छौं तर हामी नेपाली होइनौं’

पहाडमा सबैकुरा ठिक थियो । मानिसहरु आफ्नो दैनिकीमा व्यस्त थिए । पर्यटकहरुको आवतजावत जारी थियो र दार्जिलिङको चौबाटोमा राखिएको आदिकवी भानुभक्त आचार्यको प्रतिमाले गोर्खालीलाई आफ्नो मातृभाषा नेपालीको सधैं याद दिलाइरहेको थियो ।
यस्तैमा पश्चिम बंगाल सरकाले ९ कक्षासम्म विद्यार्थीका लागि बांग्ला भाषालाई अनिवार्य गरिदियो ।
यसको उत्तर बंगाल पहाडी इलाकामा व्यापक विरोध भयो । गोर्खाल्याण्डको सेलाइसकेको आन्दोलनको आगो यो निर्णयपछि पुनः एकपटक दन्कियो ।
चोक बजारमा ‘हाम्रो माग गोर्खाल्याण्ड’ को नारा लगाइरहेका प्रितम कार्की आफ्नो मातृभाषाको विषयमा निकै गम्भीर छन् ।
उनका अनुसार नेपाली सिर्फ उनको मातृभाषामात्र नभई आमा समान हो ।
यस्तोमा यो प्रश्न उठिरहेको छ कि भाषाको यो मुद्दा यति महत्वपूर्ण किन छ र समस्या कहाँ छ ?
प्रितमले भने, ‘हो हामी नेपाली बोल्छौं । नेपाली पढ्न लेख्न चाहन्छौं । यो हाम्रो मातृभाषा हो । हाम्रो घर दार्जिलिङमा छ । यो शहर भारतको सीमाको हिस्सा हो । नेपाली बोल्ने हामीजस्ता लाखौं मानिस भारतीय हुन् र हामीलाई भारतीय हुनुमा गर्व छ ।’
छोड्न सक्दैनौं भाषाः
दार्जिलिङ हिल्समा नेपाली पत्रिका हिमालय दर्पणका सम्पादक शिव क्षेत्रीका अनुसार सरकारले बांग्ला भाषाको पढाई अनिवार्य गर्नुपर्ने कुरा उठाउनु नै हुँदैनथ्यो ।
उनले बीबीसीसँग भने, ‘कुनै पनि जातीलाई समाप्त गर्नका लागि परमाणु बमको आवश्यकता पर्दैन । उनको भाषा समाप्त गरिदेउ । पहाडका मानिसहरुले बांग्ला भाषा अनिवार्य गरेर सरकाले त्यहि नीति अपनाएको भन्ने सोच्छन् । त्यसकारण यसको व्यापक विरोध भइरहेको छ । यसै पनि जब नेपाली भारत सरकारको आठौं अनुसूचीमा समावेश भाषा हो भने पश्चिम बंगालको सरकार बांग्लालाई निकै थप गर्न चाहन्छ ?’
तथ्यगत सामग्रीः
भारतमा नेपाली बोल्ने सबैभन्दा धेरै जनसंख्या पश्चिम बंगालमा बस्छन् । सन् २००ज्ञ को जनगणनाका अनुसार त्यहाँ १०.२३ लाखको मातृभाषा नेपाली हो ।
अब यो संख्या १२ लाखभन्दा पनि बढि भइसकेको छ । दार्जिलिङसँग साटिएको सिक्किम राज्यको ६२.६ प्रतिशत मानिस नेपाली बोल्छन् ।
अर्थात्, यी दुबै राज्यमा नेपाली मातृभाषा भएका मानिसहरुको बहुमत छ । सन् १९७७ देखि नै यहाँका मानिसहरुले नेपालीलाई आठौं अनुसूचीमा समावेश गर्ने माग गरेका छन् ।
सन् १९९२ मा भारत सरकारले लामो संघर्षपछि उनीहरुको माग सम्बोधन गरेको थियो ।
बांग्लाभाषी बुद्धिजीविको धारणाः
बांग्लाका चर्चित कोलमनिष्ट शर्मिष्ठा बाग पहाडमा भाषाको विषयमा चलिरहेको आन्दोलन जायज भएको मान्छिन् ।
उनका अनुसार भाषाको बहानामा गोर्खाल्याण्ड आन्दोलनले अक्सिजन पाएको छ । मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्छ ।
शर्मिष्ठा बाग थप्छिन्, ‘७० को दशकमा पूर्वी बंगालमा भाषाको विषयमा सबैभन्दा ठूलो आन्दोलन भयो । पाकिस्तान सरकार त्यो इलाकामा उर्दू थप्न चाहन्थ्यो । त्यसविरुद्ध मानिसहरु सडकमा उत्रिए र उनीहरुको विरोधका कारण पाकिस्तानको नक्शा नै परिवर्तन भयो किनभने उनीहरु बांग्ला बोल्थे । उर्दू उनीहरुलाई चाहिँदैनथ्यो । बांग्ला उनीहरुको मातृभाषा थियो । त्यसकारण गोर्खाल्याण्डको माग र भाषाको विषयमा पहाडका मानिसहरुको समवेदना जायज छ । यसको सम्मान गर्नुपर्छ ।’
सौतेनी व्यवहारः
दार्जिलिङकी कार्यकर्ता र गोर्खाल्याण्ड आन्दोलनमा निकै सक्रिय भएर भाग लिने कोमल गुरुङका अनुसार नेपाली बोल्ने मानिसहरुमाथि पश्चिम बंगाल सरकारले सधैं सौतेनी व्यवहार गर्दै आएको छ । यहाँका मानिसहरु भारतको सीमामा आफ्नो ज्यान गुमाउँछन् र सरकार उनीहरुलाई दोस्रो दर्जाको नागरिक मान्छन् जुन गलत हो ।
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख सल्लाहकार र चर्चित स्तम्भकार स्वराज थापा भन्छन्, ‘हामी नेपाली बोल्छौं । यसको अर्थ यो होइन कि हामी अरु भाषालाई सम्मान गर्दैनौं । तर कसैलाई पनि जबर्जस्ती कुनै पनि भाषा पढ्नका लागि बाध्य बनाइनु हुँदैन ।’
उनी थप्छन्, ‘अब आन्दोलन सुरु भइसकेको छ । त्यसकारण यसलाई गोर्खाल्याण्डको मागसम्म यसलाई जारी राखिन्छ । यो राम्रो कुरा हो कि भाषाले यसमा आफ्नो भूमिका निभाइरहेको छ ।’
उनका अनुसार भाषाको विषयमा पहाडमा चलिरहेको आन्दोलन त्यतिबेलासम्म चल्नेछ जब सरकारले बीचको बाटो निकाल्दैन ।
यस विषयको आन्दोलनलाई दार्जिलिङ मात्र नभई देशका अन्य भागका बुद्धिजीवीले पनि समर्थन गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads