Loading...
दश वर्ष नेतृत्व पाए देशमा चमत्कार हुन्छ : प्रचण्ड


कांग्रेस–एमालेहरु गाबिसकै चुनाव गर्ने पक्षमा
रामपुर, उदयपुर - पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले दश वर्ष देशको नेतृत्व गर्न पाए नेपालमा चमत्कार हुने बताएका छन् ।
माओवादी केन्द्रले उदयपुरको रामपुरमा हिजो आयोजना गरेको जनसभामा बोल्दै प्रचण्डले भने, ‘चाह्यो भने समृद्धि हाम्रै पालामा सम्भव हुने रहेछ । मैले सरकारको नेतृत्व गर्दैगर्दा देश अस्तव्यस्त थियो । राजनीतिक झमेला चरम सीमामा थियो । महङ्गी, बन्द, हड्तालले देश आक्रान्त थियो । सम्बोधनकै क्रमा उनले थपे, तर, मैले सरकारको नेतृत्व गरेपछि देश क्रमशः राजनीतिक स्थिरता, संविधान कार्यान्वयन, विकास र समृद्धिको बाटोतिर गयो । इमान्दारिता र ईच्छाशक्ति भयो भने १० महिनाको छोटो अवधिमा यति धेरै काम गर्न सकिने रहेछ, माओवादीले दश वर्ष देशको नेतृत्व गर्ने अवसर पाए नेपालमा चमत्कार हुन्छ ।’
माओवादी नेतृत्वको सरकारको दश महिने कार्यकाल नेपालको इतिहासमा स्वर्णीम् काल रहेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालको आर्थिक वृद्धिदर ७.५% छ, यो विश्वमै तेस्रो हो, आर्थिक वृद्धिमा हामीले छिमेकीलाई पनि उछिनेका छौं । लोडसेडिङ अन्त्य भएको छ, यसले गरे सकिन्छ भन्ने सन्देश राष्ट्र र जनतामा गएको छ । विकास आयोजनाहरुमा ठूलो प्रगति हासिल भएको छ । गाउँ–नगरमा करोडौं रुपैयाँ गएको छ, गणतन्त्रले के दियो भन्नेहरुलाई स्थानीय तहको निर्माण र स्थानीय तहमा पठाइएको खरबौंको बजेटले गतिलो जवाफ दिएको छ ।’

प्रचण्डले भने :
-माओवादी बिना स्थानीय तह निर्माण र स्थानीय तहको निर्वाचन दुवै सम्भव थिएन ।
-माओवादी नभएको भए स्थानीय तहको निर्माण नै हुने थिएन ।
-कांग्रेस–एमालेहरु गाबिसकै चुनाव गर्ने र गाबिसमा २५ लाख पठाउने पक्षमा थिए । 
-अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको छ । समग्रमा माओवादी र माओवादी एजेण्डाले जितेको छ ।

गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन
'खाने बेला बेला एमाले कांग्रेस टुप्लुक्क'
बेल्टार  अध्यक्ष प्रचण्डले गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिन नहुने बताएका छन् । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाले बेल्टारमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रचण्डले भने, ‘गाउँमा किसानले बाली रोप्छ, गोड्छ, मलजल गर्छ, काट्छ । तर, भित्राउने बेला सामन्त टुप्लुक्क आइपुग्छ र आफ्नो भकारीमा भित्राउँछ । देशमा माओवादीले गणतन्त्र, संघीयता, सामाजिक न्याय, सामावेशी–समानुपातिक, आर्थिक विकास, समृद्धि ल्यायो । तर, खाने बेला पुरानै एमाले कांग्रेस टुप्लुक्क आउने गरेका छन् ।
उनले भने, नेताहरु बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्थे । अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, र समृद्धिको बाली पाक्दैछ, असार १४ गते हुने चुनावले त्यो बाली भित्राउँछ । फेरी पनि पुरानै सामन्तहरु जनताले लगाएको बाली आफ्नो भकारीमा भित्राउने दाउ हेर्दैछन् । यसपालि जनताले लगाएको गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन । माओवादी केन्द्रलाई जिताएर जनताले आफ्नो बाली आफै भित्राउनुपर्छ ।’
कार्यक्रममा चौदण्डीगढी नगरपालिका मेयरका उम्मेदवार कुमारसिंह कार्की र उपमेयर मायादेवी राईले नगरको विकासबारे प्रतिवद्धता राखेका थिए ।
‘गीरिजाबाबू भन्नुहुन्थ्यो, नेपाल तपाईले मात्रै बचाउन सक्नुहुन्छ’ — प्रचण्ड
गाइघाट । उदयपुरको गाइघाटमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस नेता गीरिजाप्रसाद कोइरालाले नेपाल तपाईले मात्रै बचाउन सक्नुहुन्छ भनेको कुरा स्मरण गरे ।
कार्यक्रममा प्रचण्डले भने, ‘गीरिजाबाबू अन्तिम अवस्थामा हुनुहुन्थ्यो, म उहाँलाई भेट्न अस्पताल गएँ, राम्रोसँग बोल्न सक्ने अवस्था पनि थिएन । गीरिजाबाबूले भन्नुभयो, प्रचण्डजी अब म धेरै दिन रहँदिन, नेपाल बचाउन सक्ने नेता अरु कोही देखेको छैन, तपाई नै हो । अब नेपालको जिम्मा तपाईकै काँधमा छ ।
कार्यक्रममा प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको स्वामित्व जनतालाई हस्तान्तरण गर्न पहल गरिने बताए । सभामा माओवादी केन्द्रका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार किरण राई र उपमेयरका उम्मेदवार गीता खड्का (कार्की) ले नगरको विकासबारे आफ्नो धारणा राखेका थिए ।
चोरलाई चौतारो, साधुलाई सुली नहोस्
कटारी । उदयपुरकै कटारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चोरलाई चौतारो र साधुलाई सुली नगर्न मतदातालाई अपील गरे ।
‘म प्रधानमन्त्री बन्दै गर्दा देश टुक्रने त होइन भन्ने खतरा थियो । केपी ओली एउटा समुदायलाई काखा र अर्कोलाई पाखा गरेर देशमा बिखण्डनको बिउ रोपिरहनु भएको थियो । देश नै नरहने त होइन भन्ने गम्भीर चिन्ता थियो । तर, हामीले देशलाई सम्हाल्यौं । सम्बोधनमा प्रचण्डले भने, हिमाल, पहाड र तराई–मधेशबीच सुदृढ एकता कायम गरियो । देशको एकता र स्वाभिमानका लागि ठूलठूला चूनौतिहरुको सामना गरियो । यसपालि माओवादी केन्द्रलाई जिताएर देशको समृद्धि र विकासको नेतृत्व गर्ने अवसर दिनुहोस् । चोरलाई चौतारो र साधुलाई सुली नहोस् ।’
आफ्नो १० महिने प्रधानमन्त्री कालको अनुभव सुनाउँदै प्रचण्डले भन्नुभयो, ‘हिमाल, पहाड र तराई–मधेशको एकता बलियो पारिएको छ, महाकालीमा पुल, हुलाकी राजमार्ग, ओबिओआर, रेलवे लगायतका योजनाहरु सम्पन्न हुँदैछन्, नेपालमा उज्यालो युगको आरम्भ भएको छ । दुवै छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम गरिएको छ । यसलाई निरन्तरता दिन पनि माओवादीले जित्नुपर्छ, जिताउनु पर्छ । माओवादीले हार्यो भने फेरि नेपाल अध्याँरो युगमा धकेलिन सक्छ ।’
कार्यक्रममा कटारी नगरपालिकाका मेयरका उम्मेदवार कृष्णप्रसाद बराल र उपमेयरका उम्मेदवार मीना कोइरालाले नगरको विकासबारे आफ्नो प्रतिवद्धता राखेका थिए ।
रामपुर, बेल्टार, गाइघाट र कटारीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलबाट विद्रोह गरी २०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले अबिर र खादा लगाएर स्वागत गरेका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads