Loading...
धार्मिक क्षेत्रमा भक्तजनहरूको भीड

रुप्से  दैनिक बेनी
यस वर्षको नागपञ्चमी र जनैपूर्णिमा (रक्षाबन्धन) पर्व शुक्रबार एकैदिन मनाइयो । आउँदो २३ गते परेको जनैपूर्णिमाको दिन यसवर्ष चन्द्रग्रहण परेको हुँदा उक्त दिनमा रक्षाबन्धन लगाउन उत्तम नहुने देखिएको हुँदा नागपञ्चमीको दिन जनैपूर्णिमा पर्व मनाइएको हो ।
नागपञ्चमी र जनैपूर्णिमा एकैदिन परेपनि देशैभरका धार्मिक क्षेत्रमा भने भक्तजनहरुको उपस्थिति बाक्लो नै देखियो । यसैक्रममा म्याग्दीको प्रसिद्ध गलेश्वर मन्दिर सदरमुकाम बेनीको बेनी शिवालय लगायत जिल्लाका विभिन्न स्थानका दजनौं मठमन्दिरमा जनै तथा रक्षाबन्धन लगाउनेहरुको भीड लागेको थियो । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेमङ्गलेमा अवस्थित रिखार मन्दिरमा जनैपूर्णिमाका दिन पुजाआजा गर्न भक्तजनहरू पुगेका थिए । भौगोलिक विकटता, आवतजावत कम, खानेपानीको समस्याका बाबजुत पनि सदरमुकाम बेनीका साथै रघुगंगा गाउँपालिकाका विभिन्न बस्तीबाट भक्तजनहरू मन्दिरमा पुजाआजा गर्न पुगेका हुन् ।
सदरमुकाम बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरि हिमालको फेदमा अवस्थित रिखारमा ढुङ्गाको आधारमा रहेको मन्दिरमा पुजाआजा गरे मनोकांक्षा पुरा हुने जनविश्वासका साथ बालबालिकाका साथै युवा पुस्ता र वृद्धवृद्धाहरु पुग्ने गरेका छन् । स्कन्दपुराणका अनुसार द्वापरयुगमा देवीदेवता र सप्तक्रषिमुनीहरूले तपस्या गर्ने स्थानको रुपमा उल्लेख गरिएको छ । सप्त क्रृषिको तपोभूमी समेत रहेको रिखारमा खानेपानी र पूर्वाधारको अभावका कारण भक्तजनहरुलाई सास्ती हुने गरेको छ । रिखार क्षेत्रलाई हिमालका देवताको वासस्थान भनेर समेत चिनिन्छ ।
रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौं पहिलेका शिल्पीहरू रहेका छन् । हिमालको नजिक रहेको मन्दिरमा पुजाआजा गर्न म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, पिप्ले दग्नाम, चिमखोला, कुइनेमङ्गले, रितुङ मावि, दुवाडी हुँदै पात्लेखर्कबाट पुग्ने गरिन्छ । तलाउको जलले स्नान गरी भगवान्को पूजा अर्चना गर्नाले भगवानको लोक पाउने र पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा न्यूनतम पूर्वाधार समेत नभएपछि गाउँपालिकाले प्राथमिकतामा राखेर आवश्यक पुर्वाधार विस्तार गर्ने जनाएको छ ।
यसवर्ष जनैपूर्णिमका दिन नांगी र खयरबाराही मन्दिरमा भने २३ गते पुजा हुने भएपछि भक्तजनहरु बढ्ने अनुमान गरिए पनि खानेपानी र मौसममा देखिएको परिवर्तनका कारण अपेक्षा गरेभन्दा कम भक्तजनहरु पुग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बागलुङको ढोरबराह मन्दिरमा पनि भीडः
नागपन्चमी पर्वका दिन बागलुङ जिल्लाको प्रशिद्ध उत्तरगंगा नदी किनारमा अवस्थित ढोरबराह मन्दिर ढोरपाटनमा रक्षाबन्धन अर्थात् जनैपूर्णिमा (ऋषितर्पणी) मेला सम्पन्न भएको छ । यस वर्षको साउन २३ गते जनै पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने हुँदा धार्मिक शास्त्रअनुसार साउन शुक्लपन्चमी नागपन्चमीका दिन ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउन विधिसम्मत हुने भएकाले आज नागपन्चमी पर्वका अवसरमा रक्षावन्धन (जनैपूर्णिमा) पर्व मनाइएको हो ।
बागलुङ जिल्लाको ढोरबराह मन्दिरमा विशेष पर्वको रुपमा मनाइने जनैपूर्णिमा मेला आज नागपन्चमीका पावन दिनमा श्रद्धालुहरुले धार्मिक आस्था र मान्यताअनुसार पूजादिसहित बलि दिएर मनाएका छन् । श्रद्धालुहरुले बिहानैदेखि ढोरबराहा मन्दिरमा पूजाअर्चना गरी भेडाको बलि दिएका थिए । श्रद्धालुहरुले ढोरबराह मन्दिरमा झण्डै ३ सय ६० भेडाको बलि चढाएका छन् । गत वर्षको जनैपूर्णिमा मेलामा १ हजारभन्दा बढी बलि चढाइएको थियो । यसवर्ष साउन २३ गतेको जनैपूर्णिमा नागपन्चमीका दिन मनाउनुपर्ने भएकोले श्रद्धालुहरु गत सालको तुलनामा केही कम भएको स्थानीयको भनाई छ ।
ढोरबराह मन्दिरमा मेला भर्न बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गुल्मी, प्यूठान, पाल्पा, रपन्देही, पर्वत जिल्लाहरुबाट समेत श्रद्धालु भक्तहरुको ओइरो लाग्ने गर्छ । उत्तरगंगा नदीबाट अविरल बगिरहने पवित्र जलस्नान गरी भक्तहरु ढोरबराह मन्दिरमा पूजा अर्चना गर्छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads