Loading...
आयल निगमभित्र अर्को ठूलो भ्रष्टाचार, खोलाको जग्गा किनेको खुलासा

भैरहवा, ८ साउन । नेपाल आयल निगमले खरिद गरेको करिब साढे १४ विगाह जग्गाको पुर्जा लिन नेपाल आयल निगमको टोली जिल्ला मालपोत कार्यलय भैरहवामा दौडधुपमा सक्रिय भएको छ ।
रोहिणी खोला हिँडीरहेको जग्गा हाल साविक समेत नगरी नेपाल आयल निगमको नाममा असार २८ गते अबैध ढंगले रातारात पास भएको थियो ।
मालपोतले भने आयल निगमको विभागको पत्र नभएसम्म पुर्जा नदिने बताएको छ । पुर्जा लिनको लागि भलबारी डिपोबाट कर्मचारीहरू बारम्बार मालपोत आइरहेको स्रोतको भनाइ छ ।
मन्त्रालय, आयल निगमका उच्च अधिकारीसहित लेखन्दास सम्मले करोडौंको आर्थिक लेनदेन गरी कामै नलाग्ने जग्गा खरिद गरिएको भन्दै ब्यापक विरोध भएको छ । सो जग्गामा आयल निगमको भण्डारण केन्द्र राख्ने भनिएको छ ।
खोला हिडेको जग्गा आयल निगमका अधिकारी, मालपोत, स्थानीय प्रशासनको मिलोमतोमा किनबेच भएको स्रोतको भनाइ छ । सो जग्गा किन्नका लागि काठमाडौंदेखि आएका जग्गा दलालहरू सुरेश घिमिरे, कोमुद ढुंगाना, विश्वास अधिकारी, हरिप्रसाद पोखरेल भैरहवास्थित होटल निर्वाणाको १ सय ५ नम्बर कोठामा बसेर मुख्य कारोबार गरेका थिए ।
खोला किनबेचमा नवलपरासीका ‘हर्षभर’ समुह पनि सक्रिय थियो । स्थानीय व्यक्तिको नाममा जग्गा भएको भएता पनि हाल साविक गर्दा सो जग्गा खोलामा पर्ने देखिन्छ ।
हाल साविकमा सार्वजनिक जग्गा, बाटो र खोलाले चर्चेको छ त्यहाँ सोही अनुसार कायम गर्दै आएको छ । साविक नगरिएको जग्गा जिल्ला मालपोतले माथिको आदेशको भरमा पास गरेको कार्यलयका प्रमुख शिवप्रसाद रेग्मीले बताए । जबकी सामन्य मान्छेको जग्गा हालसाविक नभएसम्म किनबेच हुँदैन ।
गाउपालिका अन्र्तगत पर्ने उक्त जग्गा गाउँपालिकालाई जानकारी नै नगराई किनबेच भएकोप्रति रोहिणी गाउँपालिकाका जनप्रतिनिधीले कडा आपत्ति जनाएका छन् । उक्त गाउँपालिकाका वडाध्यक्ष सरोजकुमार पाण्डेले जग्गाको किनबेचमा दलालहरूले सिंगो देशलाई नै ठगेको आरोप लगाए ।
उनले भने, ‘खोलाको बगरमा आयल निगमको भण्डारण बनाइनु नै बैज्ञानिक छैन । अर्कोतिर साढे ३ लाखमा दलालले जग्गा खरिद गरेर पौने ११ लाखमा आयल निगमलाई बिक्री गरेर भ्रष्टाचार गरिएको छ ।’
संसदको अर्थ समितिले पनि यस विषयमा चासो राख्दै छानविन गर्न उपसमिति नै गठन गरेको छ । १५ दिनको कार्यादेश पाएको उपसमितिले रुपन्देही आएर छानविन गर्ने सभापति प्रकाश ज्वालाले जानकारी दिए ।
दैनिकनेपालबाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads