Loading...
बाबुरामको : यसकारण भयो राजनीतिक गिरावट

र, नयाँशक्ति निर्माण अभियान शुरु गरे । ९ असोज ०७२ मा हठात् पत्रकार सम्मेलन गरेर उनले माओवादीबाट अलग भएको घोषणा गरेका थिए ।संविधान निर्माणको महवपूर्ण जिम्मेवारी पूरा गरेको एक साता नबित्दै अचानक उनले माओवादी त्याग्नुलाई संशयका दृष्टिले हेरिएको थियो । यद्यपि, पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’मा उनले संविधान बनेपछि नयाँशक्ति निर्माण गर्नुपर्छ भन्ने सोचमा पहिलेदेखि नै भएको दाबी गरेका छन् । ‘पूर्वघोषित मान्यताअनुसार नै मैले पार्टी त्यागेको हुँ,’ उनले स्पष्टीकरण दिएका छन् ।
पुस्तकमा माओवादी अध्यक्ष दाहालसँगको ‘इगो’का कारण पनि उनी बाहिरिने वातावरण बनेको उल्लेख छ । संविधान जारी भएको भोलिपल्ट दाहालले ‘भट्टराईलाई ३० वर्ष झेलेको, ८ असोजको पार्टी बैठकमा ‘अब हामी अलग–अलग बाटो हिँड्दा पनि हुन्छ’ भनेको आदि कारणले ‘इगो हर्ट’ भएर अचानक पार्टी छाड्ने निर्णयमा पुगेको उनकै अभिव्यक्तिबाट प्रस्टिन्छ । दाहालसँगको ‘इगो’, पार्टीको ‘फस्ट म्यान’ हुने महत्वाकांक्षा, सैद्धान्तिक मतभेद वा अरू नै केही, पार्टी छोड्नुको जे कारण भए पनि दुई वर्षयता उनी माओवादीबाहिर छन् ।
baburam3
नयाँशक्ति पार्टी गठन गरेको पनि एक वर्ष कटिसकेको छ । ३० जेठ, ०७३ मा जुन तामझाम र अपेक्षासहित नयाँशक्ति पार्टीको घोषणा भएको थियो, त्यसले अपेक्षाकृत जनाकर्षण हासिल गर्न सकेको छैन । स्थानीय तह निर्वाचनको नतिजामा निकै कमजोर भएबाटै त्यसको पुष्टि भएको छ । संघीय समाजवादी फोरमसँगको गठबन्धनमा उसकै चुनाव चिह्न साझेदारी गरेर सहभागी भएको नयाँशक्तिले पहिलो र दोस्रो चरणको चुनावमा जम्मा पाँच स्थानमा विजय प्राप्त गर्‍यो । करिब डेढ दर्जन स्थानमा माओवादी केन्द्रका उम्मेदवार हराउने ‘भूमिका’ देखिएबाहेक नयाँशक्तिप्रति जनता खासै आकर्षित देखिएनन् ।
पराजयका पाँच कारण
चार दशक लामो राजनीतिक यात्रा तय गरेका र त्यस अवधिमा प्रायः ‘सेकेन्ड म्यान’को भूमिकामा रहेका भट्टराईमा एउटा राजनीतिक दलको ‘फस्ट म्यान’ हुने ठूलो महत्‍वाकांक्षा थियो, जुन उनले नयाँशक्ति गठन गरेर पूरा गरे । तर, नयाँशक्तिको नेताका रूपमा उनलाई जनअनुमोदन प्राप्त भएको छैन । समकालीन राजनीतिमा अहिले पनि शीर्ष नेताहरूको नैतिक चरित्रको कुरा आउँदा तुलनात्मक रूपमा भट्टराईमाथि कमै प्रश्नहरू उठ्छन् । जनस्तरमा अपेक्षा गरिएका नेतामै पर्छन्, उनी । तर, स्थानीय तह निर्वाचनमा ती अपेक्षा कहीँ कतै प्रतिबिम्बित भएनन् । किन यसरी कमजोर भए बाबुराम ?यसका पछाडि यी केही कारण जिम्मेवार छन्

१.नयाँशक्ति ‘नबिक्नु’को कारण भट्टराईले अघि सारेका मुद्दाहरूप्रति जनता आकर्षित नहुनु हो । नयाँशक्तिको मुख्य राजनीतिक दर्शन मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने भन्ने हो । पुँजीवादी क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर आर्थिक, सामाजिक क्रान्ति गर्दै समाजवादतिर बढ्न नयाँशक्तिको आवश्यकताबोध भएको भट्टराईको दाबी हो । विश्व राजनीतिमा अभ्यास भएका दुई इतर वाद ‘उदारवाद’ र ‘समाजवाद’बीच ‘फ्युजन’ गरेर समाजलाई आर्थिक समृद्धितर्फ अघि बढाउनुपर्छ भन्ने विचार उनले सारेका हुन् ।
pr.krisna-hacheu यो ‘स्टेबल पार्टी भोटर्स’ भएको देश हो। यहाँ मूलधारमा नरहेपछि चुनावमार्फत् त्यसको हैसियत कमजोर नै हुने रहेछ। नयाँशत्तिाmको हकमा पनि त्यही भएको हो। प्रा. कृष्ण हाछेथुु राजनीतिशास्त्री
तर, उनको विचार आम जनताले ‘बाई’ गरेनन् । ‘मेरो त शुरुदेखि नै असहमति थियो । राजनीतिक संघर्षको चरण सकिएको भन्ने भट्टराईको दाबीसँग’ राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ‘भट्टराईले भनेजस्तो राजनीतिक संघर्षको चरण सकिएकै छैन । समावेशीलगायत थुप्रै राजनीतिक मुद्दा छन्, जसको व्यवस्थापन अझै हुन सकेको छैन । चुनावमा भट्टराईको दर्शन जनताले रुचाएनन् ।’
कुनै बखत भट्टराईसँग नजिक रहेर सहकार्य गरेका माओवादी केन्द्रका नरेन्द्रजंग पिटर पनि नयाँशक्तिले दूरदृष्टिसहित मुद्दा अघि सार्न नसकेको दाबी गर्छन् । उनी बाबुरामले प्रचण्डसँगको ‘इगो’का कारण उग्र प्रतिक्रियाको राजनीति गरिरहेको दाबी गर्दै भन्छन्, ‘अहिलेकै चुनावलाई नै हेरौं । नयाँशक्तिका कारण माओवादीले कतिपय ठाउँमा पराजय बेहोर्नुपर्‍यो । प्रचण्ड, बाबुरामहरू सबै तीव्र महत्वाकांक्षालाई व्यवस्थापन गर्न नसक्दाको परिणति भोगिरहेछन् ।’ उनी थप्छन्, ‘नयाँशक्तिको विचार के हो ? यसको राजनीति कसका लागि हो ? मध्यमवर्गका लागि ? राजनीति पवित्र सोचले मात्रै चल्दैन । यो चल्न प्रस्ट र दूरदृष्टि चाहिन्छ । नयाँशक्तिमा प्रस्ट भिजन छैन ।’
एक समय भट्टराईनिकट मानिएका अर्का माओवादी केन्द्रका नेता मणि थापा पनि भट्टराईमा सैद्धान्तिक विचलन आएपछि जनताले उनलाई नपत्याएको दाबी गर्छन् । ‘उहाँलाई भारतपरस्त भन्ने शंका गरिन्थ्यो । माओवादी परित्याग गरेपछि त्यसमा थप बल मिल्यो,’ उनी भन्छन्, ‘जसले सबैभन्दा बढी व्याख्या माक्र्सवाद, लेनिनवाद र माओवादको गर्‍यो, उसैले माक्र्सवादी होइन भनेर सैद्धान्तिक रूपमा विचलित भएपछि जनताले उहाँलाई पत्याएनन् । चुनावमा त्यो देखियो ।’
२. चुनाव जित्न बलियो संगठन चाहिन्छ । नयाँशक्तिले पर्याप्त रूपमा देशव्यापी संगठन निर्माण गर्न सकेको छैन । बनेकै संगठनमा पनि आन्तरिक मतभेदहरू बढेका कारण पनि यसप्रति जनताको आकर्षण रहेन । नयाँशक्तिमा माओवादी र गैरमाओवादी पृष्ठभूमि भएका मानिसहरू छन् । ‘फरक वैचारिक पृष्ठभूमि भएकाहरूबीच द्वन्द्व बढेकाले संगठन बलियो हुन सकेन,’ एक जना नयाँशक्तिकै नेता स्वीकार्छन्, ‘अन्तरघुलन हुन केही समय लाग्छ ।’ ३. संगठनले गति नलिँदै पार्टी छोड्ने क्रम पनि बढेको छ ।
नयाँशक्तिका रूपमा घोषित भएको केही महिनामै मुमाराम, रामेश्वर खनाल आदि पार्टीबाट अलग भइसकेका छन् भने माओवादी स्कुलिङ भएका कार्यकर्ता पुनः माओवादी केन्द्र फर्किने क्रममा छन् । हालै पनि एउटा समूह माओवादी केन्द्र फर्केको छ । ‘तथ्यांक नै त छैन । तर, गएकामध्ये २५ प्रतिशत जति फर्किसके,’ एमाओवादी केन्द्रका नेता मणि थापा भन्छन्, ‘माओवादी पृष्ठभूमिका सबै नेता कार्यकर्ता ढिलोचाँडो यतै फर्किन्छन् ।’ फरक वैचारिक पृष्ठभूमिका मानिसहरूबीच संगठन निर्माण हुँदै गरेकाले आन्तरिक असन्तुष्टि र मतभेद बढेर पार्टी छोड्ने प्रवृत्ति बढ्नुले पनि प्रभाव पार्‍यो ।
narendra नयाँशक्‍तिकाे विचार के हो ? यसको राजनीति कसका लागि हो ? मध्यमवर्गका लागि ? राजनीति पवित्र सोचले मात्रै चल्दैन। नयाँशक्‍तिमा प्रस्ट भिजन छैन। नरेन्द्रजंग पिटर नेता, माओवादी केन्द्र
४.नेपाली राजनीतिमा पार्टीको संस्थापनसँग विभाजित भएर बाहिरिने शक्तिलाई जनताले खासै विश्वास गर्ने गरेका छैनन् । अझ निर्वाचनका बेला त मूलधारमा नरहेका शक्तिहरू किनारा नै लाग्ने गरेका छन् । ‘नेपालका निर्वाचनहरूको विश्लेषण गर्दा थाहा हुन्छ, यो एक ‘स्टेबल पार्टी भोटर्स’ भएको देश हो,’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण हाछेथुु भन्छन्, ‘फ्रान्समा केही महिनाअघि खुलेको पार्टीले जितेजस्तो वा दिल्लीकै केजरीवालले जस्तो जनमत नयाँ दलहरूले पाउदैनन् । यहाँ मूलधारमा नरहेपछि चुनावमार्फत् त्यसको हैसियत कमजोर नै हुने रहेछ ।
नयाँशक्तिको हकमा पनि त्यही भएको हो ।’नेपाली राजनीतिमा दल फुट्नु, जुट्नु नौलो सन्दर्भ होइन । ००७ सालपछि नै कांग्रेस, कम्युनिस्टहरू पटक–पटक विभाजित हँुदै आएका छन् । कांग्रेसबाट गणेशमान सिंहजस्तो व्यक्तित्वले पनि अन्तिम समयमा कांग्रेस छाडे । ‘पार्टीबाट बाहिरिएपछि उनले जगन्नाथ आचार्य नेतृत्वको दललाई समर्थन गरे, तर जनताले कांग्रेस छोडेनन्,’ हाछेथु थप्छन् । अरू जति पनि पार्टी विभाजित भएका छन्, सबैजसो संस्थापनमा नआउनेहरू कमजोर भएको अनेकौं दृष्टान्त नेपाली राजनीतिमा पाइन्छ ।
५. विशेष परिस्थितिमा नभई सामान्य अवस्थामा चुनाव भएकाले नयाँशक्ति पराजित हुनुलाई स्वाभाविक ठान्नेहरू पनि छन् । ‘०६४ को संविधानसभाको पहिलो चुनावमा माओवादी वा मधेशी दलहरू आन्दोलनको सफलतापछि विशेष अवस्थामा चुनावमा गएका थिए । त्यसबेला नयाँ दल भए पनि भोट आउथ्यो,’ विश्लेषक साह भन्छन्, ‘अहिले त्यस्तो विशेष परिवेश छैन । त्यसकारण नतिजा अपेक्षाकृत नै हो ।’ उनका अनुसार नयाँशक्तिले यसपालि धेरैभन्दा धेरै उम्मेदवारी दिएर परिचय बनाएको छ । आगामी चुनावमा अहिलेको तुलनामा राम्रो नतिजा आउन सक्छ ।
ओर्लिंदो आकर्षण
चुनावी पराजयले नयाँशक्तिको राजनीतिक हैसियतमा ल्याएको गिरावटको सीधा असर भट्टराईको राजनीतिमाथि पर्छ । नयाँशक्ति ‘वान म्यान’ पार्टी हो । त्यसो त भट्टराईले भिन्न पृष्ठभूमिका मानिसहरूलाई संगठित गर्दै नयाँ शैलीमा पार्टी निर्माण गर्ने दाबी गरेका छन् । तर, यसको ‘फेस भ्यालु’ उनी मात्रै हुन् । त्यसकारण नयाँशक्तिले शक्ति आर्जन गर्दा वा गुमाउँदा त्यसको असर उनको राजनीतिलाई पर्छ ।नयाँशक्तिको नेतृत्वमा आएपछि उनका पक्षमा जुन लहर आउने अपेक्षा थियो, त्यो पटक्कै आएको छैन ।
babura4
तर, पछिल्लो एक दशकको राजनीतिक परिदृश्यमा उनी सबैभन्दा बढी ‘लोकप्रिय’ नेताका रूपमा दर्ज भएका थिए । त्यसो त ०६२/६३ को आन्दोलनपछिका परिदृश्यमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल राजनीतिका प्रमुख आकर्षणका रूपमा रहे । पछिल्लो समय एमाले अध्यक्ष केपी ओली राजनीतिको केन्द्रमा छन् । कोइराला, दाहाल या ओली समयअनुसार, भूमिकाका हिसाबले प्रभावशाली देखिए पनि लोकप्रिय नेताको श्रेणीमा परेनन् । भट्टराईले लोकप्रियता नै कमाएका थिए ।
अर्थमन्त्री हुँदै प्रधानमन्त्री हुँदासम्म उनले अरू नेताभन्दा केही फरक गर्न खोजे । प्रचारमुखी ढंगले केही राजनीतिक ‘स्टन्ट’ पनि गरे तर प्रधानमन्त्री हुँदाका प्रारम्भिक दिनहरूमा उनको कामको सबैतिरबाट प्रशंसा नै हुन्थ्यो । ‘मुस्ताङ म्याक्स’सँगै लोकप्रियताको सिँढी उक्लिन थालेका उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र काठमाडौंका सडक विस्तार गर्ने काम गरे, जसको सबैतिरबाट सराहना भयो । माओवादी आन्दोलनका मुख्य ‘ब्रेन’ भनेर चिनिएका भट्टराईले विद्रोही दललाई शान्तिपूर्ण रूपान्तरणमा ल्याउन भूमिका खेलेको, पार्टीलाई संविधानसभाको पक्षमा ल्याएको र बाह्रबुँदे समझदारी निर्माणमा भूमिका खेलेको आदि ‘क्रेडिट’ पाएका थिए ।
त्यसमाथि पढाइमा सधैं अब्बल र पीएचडी गरेको पृष्ठभूमि आदि कारण समाज उनीप्रति अपेक्षा पनि राख्थ्यो । तर, प्रधानमन्त्रित्वकाल लम्बिँदै जाँदा उनको ‘क्रेज’ घट्दै गयो । झन् प्रधानमन्त्री भएकै बखत ‘देशको चाबी अन्तै रहेछ’, ‘देशै मर्ज, सब मर्ज हुन सक्छ’ आदि विवादास्पद अभिव्यक्ति दिन थालेपछि उनको साख स्वात्तै घट्यो । पत्नी हिसिला यमी र क्याबिनेटका मन्त्रीहरूका आर्थिक चलखेलका प्रसंग जोडेर उनको व्यापक आलोचना हुन थाल्यो । त्यसमाथि संविधानसभा नै विघटन भएपछि त झन् उनीमाथि गम्भीर आरोप नै लाग्यो । एउटा समय आशा जगाउन सकेका नेताको छवि कतिसम्म ओरालियो भने, उनलाई ‘भारतपरस्त’को बात अझ चर्को स्वरमा लाग्न थाल्यो ।
tulanarayan राजनीतिक संघर्षको चरण सकिएकै छैन। समावेशी लगायत थुप्रै राजनीतिक मुद्दा छन्, जसको व्यवस्थापन अझै हुन सकेको छैन। चुनावमा भट्टराईको दर्शन जनताले रुचाएनन्। तुलानारायण साह राजनीतिक विश्लेषक
‘जनयुद्ध’ कालमै उनीमाथि भारतपरस्त नेताको आरोप लाग्ने गथ्र्यो । शान्तिकालमा पनि उनीमाथि त्यस्तो आरोप पार्टीभित्रैबाट लाग्दै आएको थियो । अध्यक्ष प्रचण्डले त ‘भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेको छ’ भनेर कार्यकर्ता भेलामै बोले । उनले त्यसो भनेको केही महिनापछि उनी प्रधानमन्त्री पनि भए । पत्रकार सुधीर शर्मा प्रयोगशाला पुस्तकमा लेख्छन्, ‘प्रचण्डसँग संशय र उतारचढावपूर्ण सम्बन्ध रहनु, गिरिजाप्रसाद जस्ता भर पर्न सकिने अनुभवी नेता बित्नु, सूर्यबहादुर थापाजस्ता परम्परागत बफादारको जनाधार नरहनु, महन्थ ठाकुरजस्ता मधेशी नेताको राष्ट्रिय आधार कमजोर हुनु आदि कारणले गर्दा भारतीयहरूले दीर्घकालीन भरोसा गर्न सकिने नेपाली नेताका रूपमा बाबुरामलाई नै बुझे ।’
०६८ भदौमा प्रधानमन्त्री हुँदा दक्षिण छिमेकको ‘आशीर्वाद’ उनले पाएकै हुन् भन्ने धेरैले बुझेका थिए । तर, जब उनले माओवादी परित्याग गरी नयाँशक्ति गठन गर्न पुगे । भारतविरोधी मनोविज्ञान भएको नेपाली समाजले त्यसमा पनि शहरी मध्यम वर्गीय जमातले उनीप्रति हेर्ने दृष्टिकोण मात्रै बदलेन, संशयका दृष्टिले पनि हेर्न थाल्यो । नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीको कुरा उठाएका उनीमाथि कूटनीतिक सन्तुलन कायम राख्न नसकेको आरोप पनि लाग्ने गर्छ ।
गन्तव्य कता ?
शीर्ष नेताहरूलाई एउटा हारमा उभ्याउँदा अहिले पनि भट्टराई तुलनात्मक रूपमा आशा र अपेक्षाका पात्र हुन सक्छन् । यद्यपि, अहिले उनलाई एउटा जमातले संशयको दृष्टिले हेर्छ भने जनताको एउटा तप्काले अझै आशाको नजरले हेर्ने गर्छ । कुनैबेला ‘सफ्ट कर्नर’मा राख्ने मिडिया उनीप्रति आलोचनात्मक छ । यो परिवेशमा उनी अब कसरी बढ्लान् ? के दाहालले दाबी गरेजस्तै उनी पुनः माओवादीमै फर्केलान् ? आफ्नै जीवनकालमा समृद्धि हासिल गर्ने नारा दिँदै नयाँ शक्तिमार्फत् राजनीतिमा होमिएका उनको चुनावमार्फत् सत्तामा पुग्ने सम्भावना छ ?
mani जसले सबैभन्दा बढी व्याख्या माक्र्सवाद, लेनिनवाद र माओवादको गर्‍ यो, उसैले माक्र्सवादी होइन भनेर सैद्घान्तिक रूपमा विचलित भएपछि जनताले भट्टराईलाई पत्याएनन्। चुनावमा त्यो देखियो। मणि थापा नेता, माओवादी केन्द्र
केही महिनाअघि नयाँशक्ति छोडेर साझा पार्टीमा आबद्ध भएका मुमाराम खनालले उनी पुनः माओवादी केन्द्रमै फर्किने सम्भावना भएको बताएका थिए । हालै दाहालले पनि उनी माओवादीमै फर्किने विश्वास व्यक्त गरे । तर, भट्टराई आक्रोशित हुँदै भन्छन्, ‘माओवादी केन्द्र आफंै पतनको बाटोमा छ । त्यहाँ म कुनै शर्तमा फर्किन्नँ ।’
माओवादी केन्द्रका नेता थापा संघीयतालगायत समावेशीका कतिपय मुद्दाहरूमा कुरा मिले पनि बाबुराम एमाओवादी केन्द्र फर्किने कुरामा विश्वास गर्न नसक्ने बताउँछन् । गुमेको साख र आकर्षण चाहिँ पुनः प्राप्ति होला ? राजनीतिशास्त्री हाछेथु भन्छन्, ‘उहाँले उठाउनुभएको मुद्दा प्रत्यक्ष/अप्रत्यक्ष राज्यले ग्रहण गर्न सक्छ । तर, निर्वाचनबाट विजेताकै रूपमा नयाँशक्ति आउलाजस्तो चाहिँ लाग्दैन ।’ अन्नपूर्ण बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads