Loading...
भरतपुरको हिसावकिताब : रेणुलाई कांग्रेसको भर, देवीलाई गठबन्धनको डर !


काठमाडौं, १६ साउन– दुई महिना अघि भरतपुर महानगरपालिकाका मतदाताले आफ्ना जनप्रतिनिधि चयनका लागि चर्को घाममा लाइन बसेर मत खसालेका थिए । 

पहिलो चरण अन्तर्गत वैशाख ३१ मा चुनाव भएका २८३ स्थानीय तहमध्ये भरतपुर बाहेका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन् र उनीहरुले जनताको काम, स्थानीय तहको विकास निर्माण, वजेट र दुरगामी महत्वका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । तर, पहिलो चरणको चुनावमा सर्वाधिक चर्चामा रहेको भरतपुरका मतदाताले भने जनप्रतिनिधि पाउन अझै केही दिन कुर्नु पर्ने भएको छ ।

बैशाख १४ गते मतगणना जारी रहेको बेला माओवादी केन्द्रका दुई प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरमा मतगणना रोकिएको थियो । 

रोकिएको मतगणाना सुचारु गर्न विभिन्न चरणमा भएका छलफलबाट केही निश्कर्ष ननिस्किएपछि निर्वाचन आयोगले एक समिति गठन गरेको थियो । जसले दिएको सुझाव र प्रतिवेदनका आधारमा आयोगले च्यातिएका मतपत्रको संख्या एकिन गर्नका लागि दलका प्रतिनिधि, प्रहरीको रोहोबरमा जिल्ला निर्वाचन प्रमुखको उपस्थितिमा गनिएको थियो । जसमा ९० मतपत्र च्यातिएको अवस्था फेला परेको थियो । 

त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्नका लागि निर्णय गरे पनि नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय वदरको माग गर्दै रिट हालेका थिए । 

तर, अदालतले दुई महिना लामो अदालती प्रकृया र वहसपछि आइतवार निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरेको हो । यससँगै भरतपुरको १९ नम्बर वडामा पुन निर्वाचन हुने बाटो खुलेको हो ।

कहिले हुन्छ चुनाव ?

अब भरतपुरमा कहिले निर्वाचन हुन्छ भन्नेमा धेरैको चासो छ । चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले अदालतको आदेश प्राप्त नभएकोले आदेश पढेपछि सोही अनुसार निर्णय गर्ने बताए ।

‘आधिकारिक रुपमा अझै सर्वोच्चको आदेश आएको छैन,’ उनले भने, ‘आदेशमा जे लेखेको छ त्यही अनुसार गर्ने हो ।’ अदालतको आदेश पुगेपछि मात्रै कहिले निर्वाचन हुन्छ भन्ने कुराको टुंगो लाग्न छ ।

सर्वोच्चको आदेश निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि आयोगले निर्वाचनको मिति तोक्ने छ ।

के भन्छन् उम्मेदवार ?

भरतपुर महानगरपालिकामा कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल र एमाले नेता देवी ज्ञवालीबिच मेयरमा प्रतिस्पर्धा छ । 

सत्ता गठबन्धन त्यसमा पनि प्रचण्ड पुत्री रेणु विरुद्ध देवी ज्ञवालीले अग्रता लिइरहेका कारण पनि भरतपुर चर्चामा रहन गएको हो । 

आइतवार सर्वोच्चले पुनः मतदानको फैसला गरेसँगै भरतपुरमा मेयरका दुई उम्मेदवारले फरक फरक विचार राखेका छन् । एमालेका तर्फबाट उम्मदवार रहेका ज्ञवालीले अदालतको फैसला दुर्भाग्य र त्रुटिपूर्ण भएको बताएका छन् भने माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवारले भने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताइन् । 

ज्ञवालीले अव भरपुरको अन्तिम फैसला जनताले गर्ने भन्दै आफ्नो जीत निश्चित भएको बताए । अर्की उम्मेदवार रेणुले पनि महानगरमा आफ्नो जित निश्चित भएको दाबी गरिन् । 

मतपत्र च्यातिनु अघिसम्म कसको कति भोट ?

मतपत्र च्यातिनु अघिसम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाएकी थिइन् । अब भरतपुरमा १९ नम्बर वडामा पुन चुनाव हुने छ भने २० नम्बर वडाको मतगणाना हुने छ ।

कस्तो छ गणित ?

भरतपुरमा अब १९ नम्बरमा चुनाव भएपछि दुईवटा वडाको मत गन्न बाँकी हुनेछ । जसले भरतपुरमा मेयरको कुर्सीमा को बस्छ भन्ने फैसला गर्नेछ । 

१९ नम्बर वडामा कुल ३ हजार ८ सय दुई मतदाता रहेका छन् । किरण मावि किरणगञ्ज, शारदा मावि शारदानगरबजार र जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर गरि तीन वटा मतदान केन्द्र रहेका छन् ।

पहिलो चरणमा आएको मतलाई आधार मान्ने हो भने १९ नम्बर वडा कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । तर, मेयरमा भने रेणुले उल्लेख्य मत पाएकी थिइनन् । १९ नम्बर वडामा रेणुले जम्मा २० भोटको अग्रता पाएकी थिइन् । जुन अग्रता धेरै हुनुपर्ने कांग्रेसीहरुको अपेक्षा थियो ।

कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी केन्द्रकी उम्मेदवार रेणुलाई आशा गरिए अनुसारको मत आएको थिएन ।

वडा अध्यक्षमा नेपाली कांग्रेका उम्मेदवारले राम्रो मत अन्तरसहितको अग्रता लिएको भएपनि रेणुले सोही अनुपातमा मत पाएकी थिइनन् । 

मेयरमा देवीलाई मत हालेर कांग्रेसका मतदाताले अन्य भोट पार्टीका उम्मेदवारलाई हालेको देखिएको थियो । 
अव हुने निर्वाचनमा पनि यस्तै अवस्था रह्यो भने देवी १९ नम्बर वडामा हावी हुने सम्भावना हुन जान्छ । यदि गठबन्धन राजनीतिलाई नेपाली कांग्रेसका मतदाताले स्विकार गरेको खण्डमा भने देवी भन्दा रेणुले पाउने मत बढी हुन सक्छ ।

जसका कारण रेणुले देवीसँग रहेको ८ सय करिबको मत अन्तरलाई कम गर्न वा अघि लाग्न सक्ने अवस्था छ । 
पछिल्लो राजनीतिक परिदृश्यले पनि भरतपुरको १९ नम्बर वडामा प्रभाव पार्ने देखिएको जिल्लाका राजनीतिक दलका नेताहरुको अनुमान छ । 

दुई चरणको निर्वाचनमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ५० स्थानीय तह बढी जित्दै अगाडि रहेको छ । जो संसदमा पहिलो पार्टी रहेको नेपाली कांग्रेसका उसका कार्यकर्तालाई चिन्ताको विषय बनेको छ । 

त्यसमा पनि महानगरहरुमा एमालेले जितेका कारण उसलाई थप एक महानगरको साँचो दिनबाट रोक्न पनि नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत दिने अनुमान गरिएको छ ।

तर नेकपा एमालेका नेताहरुले भने माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेका कारण दुई महिनासम्म भरतपुरले जनप्रतिनिधि नपाएको विषयलाई लिएर मतदाताका जाने र त्यसबाट जस लिने भन्दै पहिलाको भन्दा मत बढाउने अपेक्षा गरेको छ । 

२० नम्बर वडा पनि नेपाली कांग्रेसको प्रभाव क्षेत्र हो । तर नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले भने आफ्नो दलले उक्त वडामा पनि राम्रो मत पाउने दावी गरेका छन् भने रेणुले नेपाली कांग्रेसका कार्यकर्ताले आफूलाई मत हालेको विश्वास लिएकी छिन् ।

कांग्रेसको गढको रुपमा लिइएको वडा नम्बर २१ को मत गणना हुँदा देवीले भन्दा ३ सय ६१ मत रेणुले बढी पाएकी छिन् ।

उनले मतान्तर घटाएर ७ सय ३३ मा ल्याएकी छन् । १९ नम्बरको मत गनिँदै गर्दा उनले त्यो अन्तर ७ सय सम्म ल्याएकी थिइन् जुन माओवादी कांग्रेसले गरेको गणित भन्दा कम हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads