Loading...
प्रधानमन्त्री देउवाले राजपाका नेतालाई भने– तपाईँहरु ढुक्क हुनु्, सबै माग पूरा हुन्छ

Click to Load Image
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका नेताहरुलाई सबै माग पूरा हुने आश्वासन दिएका छन् । शुक्रबार बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री देउवाले राजपा नेतालाई ढुक्क हुन पनि आग्रह गरे । वार्तामा उपस्थित राजपा नेताहरुले चुनावको वतावरण बनाए मात्रै आफूहरु चुनावमा भाग लिने जानकारी सरकारलाई दिएका थिए । 

शुक्रबार बेलुका बालुवाटारमा राजपासँग भएको वार्तामा तेस्रो चरणको चुनावको तयारी थालिसकेको सरकारले राजपाको सबै माग पूरा हुने भन्दै ढुक्क हुन आग्रह गरेको हो ।
पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेका राजपा नेपालले तेस्रो चरणको चुनावमा भाग लिन्छ कि लिँदैन भनि अन्योल रहेकाबेला सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रले सो दलसँग स्पष्ट धारणा मागेको थियो । राजपा नेपाल चुनावमा आउन तयार भए सोही अनुसारको तयारीमा लाग्ने सत्तारुढ दलको बुझाई छ । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफूहरुले सरकारलाई चुनावको वतावरण बनाउन भनेको र सरकारले चुनावको वतावरण बनाउन सके मात्र चुनावमा सहभागी हुने स्पष्ट पारिसकेको बताए ।

‘हाम्रो माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको देखियो, प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति भएअनुसार सबै माग पूरा गर्ने तर चुनावमा आउने प्रतिवद्धता आउनु पर्ने कुरा राख्नु भएको छ ।’ नेता रायले भने । सविधान संशोधनका लागि दुई तिहाई पुर्याउन वर्तमान सरकारलाई सहज हुने भएको छ । सरकार विस्तार गर्ने क्रममा अन्य साना दलहरुलाई मन्त्री बनाएपछि उनीहरुले सविधान संशोधन गर्न सहयोग गर्नेमा प्रधानमन्त्री देउवा विश्वस्त छन् । त्यसैले मन्त्रीमण्डल जम्बो आकारको बन्न सक्ने प्रधानमन्त्रीले नै बताइसकेका छन् । 

‘दुई चरणको चुनाव सकिसकेको छ, अबको कार्य मधेशवादी दलको माग पूरा गर्दै तेस्रो चरणको चुनाव सफल पार्ने हो’, देउवाले बैठकमा राखेको कुरालाई उद्धृत गर्दै एक नेताले भने, ‘तपाईहरु ढुक्क रहनुस्, सबै माग पूरा हुन्छ ।’

राजपा नेपालका नेताहरुले शुक्रवार नै दल दर्ता गराएर वार्ताका लागि बालुवाटार गएका थिए । वार्तामा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राजपा नेपालका महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो, राजकिशोर यादवको उपस्थिति थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads