Loading...
बाग्लुङ दुर्घटना: यस्तो रहेछ कारण


घाइतेहरु बोकेर काठमाडौं उडेको हेलिकप्टर । तस्वीर :नारायण थापाको फेसबुकबाट
काठमाडौं, ९ साउन — बाग्लुङको ग्वालीचौरमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

ध १ ज १८४ नम्बरको जीप बडिगाढ गाउँपालिका ५ ग्वालीचौरमा दुर्घटनामा परेको हो ।

जलजलाबाट आएको जीप ग्वालीचौरमा दुर्घटनामा परेको हो । गाडिमा ११ जना यात्रु रहेकोमा गाडिका धनी ओट लगाउन गाडिबाट झरेका थिए ।

अरु १० जना दुर्घटनामा परे । दुर्घटनामा परेका मध्ये ४ जनाको ज्यान गएको छ भने बाँकी ६ जनालाई भर्खरै काठमाडौं ल्याइएको छ ।

स्थानीय भानु उच्च माविका प्राचार्य केशव खरेलले चिप्लो बाटोमा गाडिको ब्रेक फेल भएपछि दुर्घटनामा परेको बताए । गाडि ओरालो बाटोमा गुडिरहेको थियो । सोही बेला गाडिको ब्रेक लागेन । 

‘ब्रेक नलागेपछि गाडिधनी भूइँमा झरेर गाडिमा ओट हाल्नुभएको थियो,’ खरेलले भने, ‘त्यसपछि गाडि केही बेर रोकिएको थियो । तर ओट पनि नाघेर गाडि अघि बढ्यो । त्यसपछि दुर्घटना भयो ।’

उनले अलि ठूलो ओट हालेको भए गाडि दुर्घटनाबाट बच्न सक्ने सम्भावना हुन सक्ने समेत बताए । ‘अलि ठूलो ओट हालेको भए दुर्घटना हुँदैनथियो कि भन्ने कुरा हो,’ उनले भने, ‘तर बाटो अत्यन्तै चिप्लो र ओरालो भएको कारणले जति ठूलो ओटले पनि काम नगर्ने जस्तो पनि देखिन्छ ।’

दुर्घटनामा गाडि चालकको पनि दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा बढीगाढ ५ का मुक्तबहादुर पाइजा, ८ का नारायण सेर्पुजा, बढीगाड ४ का कुलबहादुर पुन, र जलजला ४ का उमेल काउसा रहेको प्रहरी सहायक निरिक्षक विष्णु लम्सालले जानकारी दिए ।

गाडि सडकबाट ७ सय मिटर भन्दा तल खसेको छ । ओरालो बाटो, वर्षा याम र घुम्तिको संयोगले गर्दा गाडि दुर्घटनामा परेको खरेलले बताए । गाडि घुम्तिबाट सिधै भिरमा खसेको छ ।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । दुर्घटनामा बडिगाढका भिमबहादुर सेरभुजा, टेकबहादुर पाइजा, भिमबहादुर श्रीस, बलमति पाइजा, उनका छोरा दिनेश र छोरी दिपशिखा घाइते भएका छन् । बलमति, दिनेश र दिपशिखा एउटै परिवारका तीन जना घाइते भएका हुन् ।

भिरमा रहेका घाइते र शवलाई स्थानीय तथा प्रहरीले उद्दार गरेर तल पट्टिको सडकमा लगेका थिए । केहिबेर अघि दुर्घटनास्थल पुगेको नेपाली सेनाको हेलिकप्टरले घाइतेहरुलाई काठमाडौं ल्याएको छ । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । 

बडिगाढ गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले शवहरुको पोष्ट मार्टम गर्ने तयारी भइरहेको बताए । उनले गाडि रोक्नको लागि ओट स्वरुप राखिएको ढुंगालाई नै नाघेर गाडि भिरमा खसेको उनले बताए । उनले सो दुर्घटनाले सम्पूर्ण गाउँपालिकानै स्तब्ध भएको समेत बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads