Loading...
नवनिर्वाचित जनप्रतिनिधिका लागि एमालेले ल्यायो आकर्षक कार्यक्रम

काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिका लागि दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघि सम्पन्न स्थायी समितिको बैठकले निर्णय गरेबमोजिम पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरमा आयोजना गरिने दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको मिति र विषय तय गरेको हो ।
एमाले सचिव योगेश भट्टराईका अनुसार प्रदेश नम्बर १ मा साउन २३ र २४, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते र प्रदेश नम्बर ७ मा साउन ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिनेछ ।
प्रदेश संगठन कमिटीले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एकजना निर्वाचित बरिष्ठतम वडाध्यक्ष, प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष नभएका तहबाट दुईजना बरिष्ठतम वडाध्यक्षहरू, पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुखहरू र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुखहरू, पार्टीका जिल्ला इन्चार्जहरू र सम्बन्धित प्रदेश अन्तर्गतका व्यवस्थापिका–संसद्का सदस्यहरू उपस्थित हुनेछन् ।
उक्त अभिमुखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने सचिव भट्टराईले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads