Loading...
ओलीका चार रुपः बाबुसाहेब, पण्डित, साहुजी र दलित !

२९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली रमाइला नेता हुन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले टोपी लगाइने फरक-फरक शैलीकै आधारमा नेपाली समुदायमा कसरी जात छुट्याउने कुप्रथा थियो भन्ने उदाहरण प्रस्तुत गरे । ओलीले विभिन्न जातिको जस्तो देखिने गरी अभिनय नै गरेपछि कार्यक्रममा हाँसो छायो ।

‘नेपालमा केही वर्षअघिसम्म टोपी लगाएर मान्छेको जात र हैसियत थाहा हुन्थ्यो’ ओलीले भने- म बाहुनको छोरो, मैले यसरी -अभिनय गर्दै) टोपी लाउनु हुदैनथ्यो, यसरी टोपी निधारको तलसम्म (आँखीभुइँ छोपिने गरी) लगायो भने त्यो बाबु साहेब, काजीसाहेब हुन्थ्यो । बाबु साहेब भनेर नमस्कार गर्नुपथ्र्यो ।’
ओलीले अगाडि भने- ‘टोली अलि माथि लगायो भने बाहुन पण्डित हुन्थ्यो । ए पण्डित बाजे भनेर बोलाइन्थ्यो । अलि माथि लगायो भने व्यापारी साहुजी हुन्थ्यो । अनि कच्याक कुच्चुक पारेर लगायो भने दलित भनेर बुझिन्थ्यो । उसलाई ओइ तेरो घर कता भनेर बोलाइन्थ्यो । यसरी टोपी लाएका भरमा मान्छेलाई व्यवहार गरिन्थ्यो ।’
भूमिजा मानव अधिकार मञ्चले विहीबार ओलीलाई मधेसबारे मन्थन गर्ने मञ्च दिएको थियो । यसक्रममा ओलीले करीव सवा घण्टाको प्रवचन दिए ।
एमाले अध्यक्ष ओलीले नेपाली समाजमा टोपीको उदाहरण दिनुभन्दा पहिले भारतीय समाजको कुरो गरे । उनले भारतको उदाहरण दिँदै यसो भने-
‘दक्षिण भारतमा जाँदा मैले दुईथरी मान्छे देखेँ । एउटाले गम्छा काँधको दुवैतिर पारेर भिरेको थियो । अर्कोले काँधको एकातिरमात्रै झुण्ड्याएको थियो । मैले यो के हो भनेर सोधेँ । त्यहाँ मलाई भनियो- दुईतिर पारेर गम्छा लगाउने धनी हो, एकातिर पारेर लगाउने दलित हो ।’
भिडियो
भारतको उदाहरण दिनेक्रममै ओलीले नेपालको मधेसी समाजको लामो विश्लेषण गरे । कार्यक्रममा उनले मधेसबारे बोलेका कुराहरुको सारसंक्षेप यस्तो थियो-
मधेससँग एमालेको सम्बन्धबारे जसले जति भ्रम छरे पनि इतिहासले सत्य बोल्छ । आज बिभिन्न भ्रम छर्ने प्रयास भइरहेका छन् । तर एमाले भनेको मधेसमा जन्मिएको पार्टी हो । मधेसमा सबैभन्दा पहिलो किसान आन्दोलन गर्ने पार्टी हो । मधेसमा ‘रे नही जी कहो’ आन्दोलन चलाएका हौं हामीले ।
अहिले पनि तराई मधेसमा रे वाला सामन्तहरुले आम मधेसीमाथि दमन चलाइरहेका छन् । हामी जी कहो भन्छौं, रे भन्नेहरुले एमाले मधेस विरोधी हो भन्छन् त्यसैले । मधेसमा अहिले पनि दमनकारी र दमित समुदायको विभेद छ । दमनकारीले दमितहरुलाई हामी विरुद्ध प्रयोग गर्छ बेला बेला ।
एमालेले तराईका गरीव दलितहरुमाथि दमन गर्नेहरुलाई नियन्त्रण गर्नुपर्छ भन्छ । उनीहरुका विरुद्ध संघर्ष गर्छ । तर, कहिले काहीँ तिनीहरुले तिनै दमितलाई प्रयोग गरेर हाम्रा बिरुद्ध जाइलाग्छन् । अस्ति राजविराजमै पनि त्यस्तै भयो । हामी विरुद्ध ढुंगा हान्न दमनकारीले दमितलाई प्रयोग गरे । यस्तो किन भयो त भन्दा, तराई मधेस सुगम भएर पनि दुर्गम भन्दा पछि परेको अवस्था छ । विभेद,भेदभाव र दमनका कारण मधेसी जनता पछि परे । त्यो विभेद हिजोको सत्ताले गरेको थियो । तर, अहिलेको संविधानले धारा १६ देखि ४६ सम्म समानताको हक दिएको छ ।
अब ३ वर्षभित्र कानुन बनाएर सबै जनताले राज्यका सबै ठाउँमा समान हक पाउनुपर्छ । नत्र संविधान कार्यन्वयन गर भनेर मधेसका जनताले बोल्नेछन् । संविधानले सिद्धान्तमा अधिकार दियो तर व्यवहारमा मधेसको अवस्था दयनीय किन भयो ? हामीले सोच्नुपर्छ ।
ढल्केबरबाट जलेश्वर जान खोज्यो भने रोडको अवस्था नाजुक छ । हरिवनबाट मलंगवा जाने अवस्था छैन । रौतहट जस्तो सुगम जिल्लामा स्ााक्षरता प्रतिशत बाजुरको भन्दा कम छ । ३२ प्रतिशत महिला निरक्षर छन् ।
सिंगै डोम समुदायको साक्षरता प्रतिशत जम्मा २० प्रतिशत छ । मधेसको ठूलो जनसंख्या मुसहरको साक्षरता जम्मा २१ प्रतिशत छ । सामाजिक जागरणको क्षेत्रमा सुगम भएर पनि मधेस यति पछि परेको छ । अब हामीले ३ वर्षभित्रमा जवाफ दिनुपर्छ । किनकि संविधानले शिक्षाबाट कोही पनि बञ्चित हुन पाउँदैन भनेर व्यवस्था गरिसकेको छ ।
तपाईहरुलाई म एउटा उदाहरण दिन्छु, धनुषा जिल्ला सुगम ठाउँ हो । तर त्यहाँ प्रत्येक एक हजार नवजात शिशुमा ७८/७९ को मृत्यु हुन्छ । यो बाल मृत्युदर के कारणले बढिरहेको छ ? यो डरलाग्दो तथ्यांक होइन ? यो जनकपुर धनुषा त्यही भूमि हो, जुन ठाउँमा हलोले खेत जोत्दा बच्चा भेटिन्थ्यो । त्यही ठाउँमा आज घरमा जन्मिएको बच्चाको मृत्युदर डरलाग्दो छ ।
विद्यापतिको पुण्यभूमि आज किन पछि पर्‍यो ?
मानव सचेतनताको क्षेत्रमा पछि परेपछि त्यसको प्रतिबिम्ब विकासमा पर्छ । राजनीतिमा परेको छ । अहिले हेर्नुस् अन्तका जनताले आफ्ना प्रतिनिधि चुनेर गाउँको विकास धमाधम बजेट बिनियोजन गरिरहेका छन् । तर, २ नम्बर प्रदेशका मधेसका जनतालाई आफ्ना प्रतिनिधि चुन्ने अवस्थाबाट बञ्चित गरेको छ, त्यहाँको राजनीतिले ।
संयुक्त राष्ट्रसंघले शान्ति, सम्वृद्धि र समावेशितालाई दिगो विकासको स्तम्भ मानेको छ । समावेशिता भनेको समृद्धिको माध्यम हो । उत्पादनको समान वितरण हुनुपर्छ भन्ने एमालेको मान्यता हो । अधिकार र अवसरको समान उपभोग गर्न देशका सबै नागरिकले पाउनुपर्छ । भौगोलिक दुर्गमता र सामाजिक दुर्गमतालाई समावेशी विकासले समायोजन गर्नुपर्छ ।
आज मधेसको सामाजिक दुर्गमताको वकालत गर्दा एमालेमाथि विभिन्न ठाउँबाट प्रहार भइरहेको छ । तराई मधेस भनेको बिभिन्न सभ्यताको मुहान हो । सातौं शताव्दीमै मिथिला सभ्यता विकास भएको ठाउँ हो । विद्यापति जस्ता महान विद्धानहरुले १४ औं शताव्दीमै त्यहाँ शास्त्रार्थ गर्थे । त्यो पुण्यभूमि, त्यो तपोभूमि आज पछि परेको छ ।
मधेसको यो दुर्गति अब धेरै समय रहन सक्दैन । नेकपा एमालेले अब विशेष पहल गर्न थालेको छ भनेर तपाईहरु बुझ्नुस् । अब मधेस यो अवस्थामा रहन सक्दैन । मधेसको समस्या समाधानका लागि एमालेले विशेष पहल लिएको छ । अब तीब्र बेगमा यसलाई टुंग्याउनुपर्छ ।
तराई मधेसको सामाजिक र पूर्वाधार क्षेत्रमा विकास गर्नुपर्छ भन्दा हामीमाथि मधेस बिरोधीको आरोप लगाइयो । तराईमा सिञ्चाई आयोजनामा बजेट हाल्नु मधेस बिरोधी हो ? तराईका जिल्ला सदरमुकाम जोड्ने सडक बिस्तार गर्नु मधेस बिरोधी कार्य हो ? राजमार्गलाई ६ लेन बनाउनु मधेस विरोधी हो ? २० हजार विपन्नलाई घर बनाउन बजेट दिनु मधेस बिरोधी कार्य हो ? जनकपुरलाई चक्रपथबाट घेर्नलाई काम थाल्नु मधेस बिरोधी हो ? मुसहर र डोमका छोरा छोरीलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षाको अनिवार्य व्यवस्था गर्नु मधेस विरोधी कार्य हो ? यदि हो भने एमाले यस्ता मधेस बिरोधी काम त गरिरहनेछ ।
एमालेले यति धेरै काम गरेपछि बिरोध गर्ने इस्यु केही नपाएर हामीलाई युपी विहार जा भन्यो, शहीदलाई आँप झरेका भन्यो भन्ने कुप्रचार गरियो । आफ्ना देशका जनतालाई कसैले युपी बिहार जा भन्न सक्छ ? हो, यदि कोही उताबाट आएकाहरुलाई त्यस्तै लाग्यो भने अलग कुरा हो ।
म तपाईहरुलाई भन्न चाहान्छु, तत्कालीन राजतन्त्र विरुद्ध लड्दा २०२० सालतिरै फासीमा चढाइएका मधेसका क्रान्ति योद्धा बेदानन्द झालाई कसैले शहीद घोषणा गरेनन् । बेदानन्दलाई शहीद घोषणा गर्न केपी ओली प्रधानमन्त्री बन्नुपर्‍यो । त्यो केपी ओलीले शहीदलाई आँप झरेको भन्न सक्छ ? बेदानन्द झालाई शहीद घोषणा गर्ने केपी ओली मधेस बिरोधी ?
अनलाइनखबर

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads