Loading...
दश अर्ब ९६ करोड भ्रष्टाचार गरेका आरोपीलाई छुटाउन बहस

काठमाडौं, ३१ असार ।  निलम्बनमा रहनुभएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई रिहाइको मागसहित दायर बन्दीप्रत्यक्षीकरण मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
अदालतको आदेशअनुसार शर्मालाई समेत शुक्रबार इजलासमा हाजिर गराइएको थियो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आइतबार सुनुवाइ जारी राख्ने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो । अख्तियारको न्यायिक हिरासतमा रहनुभएका शर्मालाई बन्दीप्रत्यक्षीकरणको आदेशबाट रिहा गर्ने÷नगर्नेबारे आइतबार पनि बहस हुनेछ ।
सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले यो मुद्दा हेर्दाहेर्दैमा निरन्तर रहेको बताउनुभयो । उपाध्यायले भन्नुभयो, “मुद्दा हेर्दाहेर्दैमा छ । आइतबार मुद्दाको सुनुवाइ हुनेछ । ” शुक्रबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतबार पनि न्यायाधीशद्वय जबरा र राउतकै इजलासले मुद्दाको सुनुवाइ गर्नेछ । सामान्यतया हेर्दाहेर्दैमा मुद्दा रहेका न्यायाधीशले उक्त मुद्दाको पेसी रहेको अवस्थामा अन्य मुद्दा हेर्ने प्रचलन छैन ।
यसअघि गत बुधबार शर्मालाई अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश जारी गरेको थियो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । आदेशअनुसार अख्तियारले शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराएको हो ।
शर्मालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँकी पत्नी कल्पना उप्रेती शर्माले मङ्गलबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर गर्नुभएको थियो ।
उप्रेतीले मुद्दामा कर फछ्र्योट आयोगको कामकारबाहीबारे अदालतमा समेत प्रश्न उठाउन नसकिने विषयलाई लिएर शर्मालाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्नुभएको थियो । मुद्दामा उहाँले आयोगको विशेषाधिकारविपरीत शर्मालाई थुनामा राखिएको जिकिर गर्नुभएको छ ।
अख्तियारले शर्मासँग असार १५ मा तीन अर्ब रुपियाँ धरौटी माग गरेको थियो तर धरौटी रकम नबुझाएका कारण उहाँ हाल पनि अख्तियारको न्यायिक हिरासतमा हुनुहुन्छ । अख्तियारले जेठ १९ गते कर निर्धारणमा अनियमितता आरोपमा महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो ।
मुद्दा दर्ता हुन सकेन
कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध शुक्रबार पनि मुद्दा दर्ता हुन सकेन । बिहीबार समय अभावका कारण दर्ता हुन नसकेको मुद्दा शुक्रबार अन्तिम समयमा पेस भएको भन्दै दर्ता नभएको हो ।
प्रतिवादीमध्ये आयोगका सदस्यसचिव चूडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि सर्वोच्चमा हाजिर गराउँदा विशेषमा पेस गर्न ढिलाइ भएको थियो । मुद्दा रुजुका लागि पेस गर्न ढिलाइ भएपछि शुक्रबार पनि दर्ता हुन नसकेको हो ।
विशेष अदालतले आइतबार बिहान १० बजे प्रतिवादीसहित मुद्दा पेस गर्न अख्तियारलाई पूर्वसूचना दिएको छ । अख्तियारले कर फछ्र्योट अनियमिततामा आयोगका अध्यक्ष लुम्वध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव शर्माविरुद्ध मुद्दाको तयारी गरी विशेषमा पेस गरेको छ ।
अख्तियारले विशेषमा पेस गरेको मुद्दाको मिसिल संलग्न फाइल ठूलो भएकाले अध्ययनमा समय लाग्ने देखिएको छ । शुक्रबार पनि कार्यालय समय सकिन करिब १५ मिनेटअघि मात्र मुद्दा पेस भएकाले दर्ता हुन नसकेको हो ।
अख्तियारले मिसिलमात्र ८० पृष्ठभन्दा लामो तयार पारेको छ । करिब तीन सय पृष्ठको अभियोगपत्र छ । हालसम्मको तयारीअनुसार बिगोदाबी १० अर्ब ९६ करोड रहेको छ ।
कर फछ्र्योट आयोगमा रहँदा अनियमित रूपमा कर छुट दिएको आरोप पदाधिकारीमाथि छ । अख्तियारले शर्मालाई जेठ १९ गते कार्यालयबाटै पक्राउ गरेको थियो । अध्यक्ष महत र सदस्य ढकाललाई अख्तियारमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको थियो ।
अध्यक्ष र सदस्य दुवै अख्तियारमा उपस्थित नभएपछि सूचना दिनेलाई पुरस्कार दिने भन्दै अख्तियारले सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । महत र ढकाल दुवै सम्पर्कमा छैनन् ।
यसअघि अख्तियारले असार १५ गते शर्मासँग भने तीन अर्ब रुपियाँ धरौटी माग गरेको थियो तर शर्माले धरौटी रकम बुझाउनुभएको छैन ।
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको कार्यकालमा कर फछ्र्योट आयोग गठन भएको थियो । आयोगका अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट महत हुनुहुन्थ्यो । अर्का सदस्यमा चार्टर्ड एकाउन्टेन्ट ढकाल र सदस्यसचिवमा शर्मा हुनुहुन्थ्यो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads