Loading...
नेपाल राष्ट्र बैंकले आगामी साउन १६ गते सोमबार २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने



काठमाडौं, १३ साउन – नेपाल राष्ट्र बैंकले आगामी साउन १६ गते सोमबार २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन प्रयोग गरिने यो बिल विक्रि अहिले ९१ दिने अवधिको लागि जारी गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौलेलले जानकारी दिए ।
साउन १६ गते जारी भई १७ गते मंगलबार निष्काशन हुने ट्रेजरी बिल आगामी कात्तिक १४ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । 
राष्ट्र बैंकले इच्छुक खरिकर्तालाई सोमबार दिउसो ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बोलपत्र अनलाइनमार्फत पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

के हो ट्रेजरी बिल ?

राष्ट्र बैंकका प्रवक्ता पौलेलका अनुसार ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । राष्ट्र बैंकले विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।
निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ ।
ट्रेजरी बिल बोलकबोलको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइटका साथै अनलाइन बिडीङ प्रणाली मार्फत प्रकाशित गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ ।
बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ ।
बोलकबोलमा सफल बोलवालालाई प्रमाणको रूपमा विवरणसहितको प्रमाणपत्र उपलब्ध गराइन्छ । ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम (प्रमाणपत्रमा अंकित मूल्य) भुक्तानी गरिन्छ । 

ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।

ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ ।

नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर कुनै विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भएपछि बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्र ऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ । 
नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । 

बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाको अर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ । 

ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा सम्झौता गरी खरिद–बिक्री गर्न सकिन्छ ।

तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads