Loading...
दमकल ल्याएर हलिउड सेलेब्रेटीहरु काठमाडौं आउँदै

चर्चित हलिउड सेलेब्रेटीहरू आउँदो नोभेम्बरमा काठमाडौं आउने भएका छन् ।
उनीहरु १० थान दमकल ल्याएर वीरगन्जको बाटो हुँदै काठमाडौं आउन लागेका हुन् । विदेशी कलाकारले वीरगन्जबाट दमकल हाँकेर काठमाडौं ल्याउने तयारी भइरहेको जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए । यो सबै कामको चाँजोपाँजो मिलाइरहेका छन्, जर्मन मूलका अमेरिकी नागरिक माइकल कोबल्डले।
दुई पटक सगरमाथा आरोहण गरिसकेका कोबल्ड घडी निर्माता हुन्। प्रायः नेपाल आइरहने उनले काठमाडौं उपत्यकामा अग्नि नियन्त्रणको नाजुक अवस्था देखेपछि दमकल ल्याउने योजना बनाएका थिए। ‘हाम्रो नाजुक अवस्था देखेपछि दमकल कसरी ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो,’ भट्टराईले भने, ‘पछि अमेरिकी पूर्वराजदूत स्कट एच डेलसीको पनि सहभागितामा सोरवे इन्स्टिच्युट फर डेभ्लपमेन्ट संस्था बन्यो। सोही संस्थाले अहिले दमकल ल्याउन लागेको हो।’
अमेरिकाको पेन्सलभेनिया राज्यबाट दमकल आउन लागेका हुन्। दमकलसँगै हलिउडका चर्चित कलाकार म्याल्कम म्याकडावेल लगायतका कलाकार, हिमाल आरोही र्‍यानल्फ फाइन्जल, राजनीतिज्ञ र समाजसेवी पनि काठमाडौं आउने छन्। अमेरिकामा टिभी सोबाट ख्याति कमाएका माइकल इम्पेरियोली काठमाडौं आएर कार्यक्रमको प्रवर्द्धनात्मक भिडियो खेलिसकेका छन्।
बेलायती अभिनेत्री जोना लुम्ले पनि कार्यक्रममा सहभागी हुने गरी कुराकानी भइरहेको भट्टराईले जानकारी दिए। अन्य को को कलाकार नेपाल आउँदैछन् भन्ने टुंगो लाग्न बाँकी छ। वीरगन्जबाट काठमाडौं आउने टोलीमा नेपाली कलाकारहरु पनि सहभागी हुनेछन्।
दमकलका साथै अन्य अग्नि नियन्त्रण सामाग्री पनि आउन लागेको भट्टराईले जानकारी दिए। त्यसमध्ये पाँच वटा दमकल हुन् भने एउटा रोड रेस्क्यू ट्रक, एउटा ३० मिटर लामो एरियल ल्याडर, एउटा कमाण्ड जिप र स्किड लोडर २ वटा जुद्ध वारुण यन्त्रलाई दिन लागिएको हो।त्यस्तै पम्प र अग्नि नियन्त्रकले लाउने पोशाक, फायर गियर प्लेट, पछाडि बोक्ने सिलिन्डर पनि सहयोग स्वरुप आउन लागेको छ। ‘यति सामान आयो भने काठमाडौंको आगलागी नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ’, भट्टराईले भने।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads