Loading...
क्लिन फिड लागू भए साउनदेखि टेलिभिजन च्यानल बन्द गर्ने चेतावनी

क्लिन फिड
सरकारले विज्ञापनरहित नीति २०७३ रद्द नगरे केवल व्यवसायीहरुले साउन एक गतेदेखि सबै केवल टेलिभिजन र डिस होमबाट प्रसारण बन्द गर्ने चेतावनी दिएका छन्। आइतबार प्रधानमन्त्री र सूचना तथा सञ्चार सचिवलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले असार मसान्तभित्रै विज्ञापनरहित नीति (क्लिन फिड) रद्द गर्न आग्रह गरेका हुन्।
नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै केवल र डिस होम माध्यमबाट प्रसारण हुने टेलिभिजन बन्द गर्ने चेतावनी दिएका हुन्। 
नेपाली डिटिएच कम्पनी र केवल कम्पनीहरुबाट प्रसारण भई आएका सशुल्क, निशुल्क, स्वदेशी, विदेशी र स्थानीय केवल टिभी समेत बन्द गर्ने चेतावनी दिइएको हो।
नेपालमा हाल ८० प्रतिशत च्यानल विदेशी भएको र तिनले नेपालका लागि मात्रै बेग्लै विज्ञापनरहित फिड (टेलिभिजन सामग्री) उत्पादन नगर्ने भएकाले सरकारले यो नीति लागू गर्नासाथ नेपालका डिटिएच कम्पनी र केवल कम्पनीहरु प्रत्यक्ष रुपमा बन्द हुने उनीहरुको भनाइ छ।
नेपालजस्तो सानो भूगोलमा रहेको देशका लागि अलग्गै फिड तयार गर्ने सम्भावना पनि नभएको र भारतीय प्रसारक फाउन्डेसले नेपालका लागि क्लिन फिड उपलब्ध गराउन नसकिने जानकारी समेत गराएको ज्ञापनपत्रमा उल्लेख छ।
यसैगरी नेपाल जस्तो भूपरिवेष्ठित र खुला सिमाना भएको मुलुकमा डिटिएचको चोरी पैठारी हुन सक्ने र नेपाली डिटिएच कम्पनी तथा केवल कम्पनी पनि धरासायी हुने उनीहरुले चेतावनी दिएका छन्।
विज्ञापन रहित नीति, २०७३ लागू गरिएमा केवल क्षेत्रमा लगानी भएको अरबौँ रुपैयाँको लगानी खेर जाने भन्दै उनीहरुले यसमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन्।
ज्ञापन पत्रमा नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका सदस्य ध्रुव शर्मा, डिस होम नेपालका कार्यकारी प्रमुख सुदीप आचार्यको हस्ताक्षर रहेको छ।
सरकारले अघिल्लो वर्षदेखि नै नेपाली टेलिभिजन च्यानलमा विज्ञापनरहित च्यानल (क्लिन फिड) नीति लागू गर्ने घोषणा गरेको थियो। आर्थिक वर्ष २०७४–०७५ को बजेट भाषणमा उक्त नीति साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो।
यो पनि पढ्नुहोस्ः

    0 comments

    Write Down Your Responses

    Loading...
    Amrit Baskune

    ads