Loading...
अनौंठो प्रचलनः जहाँ हुन्छ सार्वजनिक रुपमा बेहुलाको खरिद

सौराठ (विहार), १७ असार । सीमावर्ती विहार राज्यको मधुवनी जिल्लाअन्तर्गतको सौराठमा मिथिलाञ्चल खासगरी ब्राह्मण समाजको विवाहको एउटा अदभूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । 

मिथिलाञ्चलअन्तर्गत यस सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्छ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्छ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्त हैसियतअनुसार बेहुला किन्ने गर्छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । 

प्राचीन मिथिला संस्कृतिमा विवाहलाई स्त्री र पुरुषबीचको एक पवित्र सम्बन्धका रुपमा लिइन्छ । युवायुवतीलाई दाम्पत्य सूत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा रीतिरिवाज सम्पन्न गर्नुपर्ने हुन्छ । युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व दुवैतिरका परिवार एकअर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गर्छन् । 

इतिहासकारहरु सौराठसभाको सुरुवात १४औँ शताब्दीमा कर्नाटक वंशीय राजा हरिसिंह देवले सुरुवात गरेका थिए । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वान्बीच शास्त्रार्थ हुने गथ्र्याे र यसमा विजयी विद्वान्लाई पुरस्कृत गर्ने गरिन्थ्यो । 

सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए । लामो समयसम्म सो प्रतियोगिता चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय जस्ता विषयमाथि गहन चर्चा भयो । राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र उनले अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गर्न चाहे । शास्त्रार्थमा भाग लिने सबै युवक अविवाहित भएको देखेपछि पुरस्कारस्वरुप उनीहरुलाई एक÷एक जना सुन्दर बेहुलीसँग विवाह गर्न लगाए । 

भनिन्छ, त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवाको सभा हुने गथ्र्यो जसमा उनीहरुबीच शास्त्रार्थ हुनेगथ्र्यो र बेहुली पक्ष आफ्ना छोरीका लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्रार्थको पुरानो परम्परा समाप्त भएको छ । कालान्तरमा सौराठसभा मैथिल बेहुलीका लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गयो । 

सौराठसभा सीमावर्ती भारत विहार राज्यअन्तर्गत बासोपट्टी कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित छ । यस गाउँको एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पीपलको रुखमुनि प्रतिवर्ष सौराठसभा मेला हुन्छ र यो जेठदेखि लाग्ने गर्छ । 

यस वर्ष मलमास पर्ने भएकाले असारको सट्टा जेठमै सौराठसभा मेला लागेको छ । पोखरी नजिक भगवान् महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । करिब दुई सातासम्म चल्ने यो सौराठसभामा मैथिल ब्राह्मणहरु बेहुला खोज्न यस सभामा पुग्ने गर्छन् ।

यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टीका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसँगै भुइँमा ओछ्याएको दरी चटाइमा बसेको हुन्छ । यदि कुनै केटी पक्षलाई केटा मन प¥यो भने त्यसको अभिभावकसँग कुराकानी गरेर बेहुलाको खान्दान, उमेर, आर्थिक अवस्था, सम्भावित दाइजोबारे यथार्थ पत्ता लगाउने प्रयास गरिन्छ । बेहुला पक्ष र बेहुली पक्षबीच कुरा मिलेपछि विवाहका लागि पञ्जीकार (पुरोहित) बाट परामर्श लिने गरिन्छ । 

पञ्जीकारसँग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहन्छ । पञ्जीकारले पात्रो हेरी केटा र केटीको विवाहको साइत हेर्ने गर्छ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ताबीच रगतको सम्बन्ध नदेखिएमा पञ्जीकारले विवाहको अनुमति दिने गर्छ । यसमा एउटा अनौठो परम्परा ‘हथघडी’ विधिले स्थान पाएको हुन्छ जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछ । त्यसपछि बेहुलाले आफ्नो सासू, ससुरा तथा पूजनीय व्यक्तिको खुट्टा ढोग्छन् र दुवै पक्ष एकअर्कामा अङ्गालो हाली खुसी साटासाट गर्छन् । 

समयको परिवर्तनसँगै पञ्जीकारको भूमिकामा समेत परिवर्तन आएको छ । पञ्जीकार आजभोलि धनाढ्य बेहुली पक्षको खोजीमा रहन्छ । बेहुला र बेहुली पक्षबीच हुने दाइजोको विषयमा पञ्जीकारले टुङ्गो लगाउने गर्छ । सौराठसभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिब ब्राह्मणबीचको भेदभाव हटाउनका लागि गरिएको भए पनि आजभोलि सुन्दर समाज निर्माणका लागि ब्राह्मण समाज एकजुट भएर यो परम्पराको रक्षा गर्दैआएको सौराठसभा विकास समितिका सचिव डा शेखरचन्द्र मिश्रले बताउनुभयो । 

पछिल्लो समयमा दाइजो प्रथाको आलोचना र सरकारी उपेक्षाका कारण यो सभाको पौराणिकतामा ह्रास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मणहरु आफ्ना छोराछोरीको विवाहका लागि सौराठसभामा भाग लिने गर्थे । तर अब यो सभाको आवश्यकता महसुस गर्न छाडिएको छ । पढे लेखेका वर्ग यस प्रकार खुलेआम सभामा लिलामी हुनबाट डराउने गर्छन् । अब यो मेला गरिब ब्राह्मणमा मात्र सीमित हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजका मानिस सौराठ सभालाई नयाँ स्वरुप दिने प्रयास गरिरहेका छन् । 

ऐतिहासिक महत्वको सौराठसभाको संरक्षणमा युवा वर्ग अग्रसर हुनुपर्ने मधुवनी नाजीपुरका रामपृत पाण्डे बताउँछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads