Loading...
एमालेको हेडक्वार्टर नै तराईमा! कुन शीर्ष नेता कहाँ खटिए ?

काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि तराई केन्द्रीत अभियान सञ्चालन गरेको छ । प्रदेश नम्बर २ मा हुने चुनावमा पहिलो शक्ति बन्ने उद्देश्यका साथ एमाले नेतृत्व तराईका ८ जिल्लामा परिचालन भएको हो ।
यो अभियानमा शीर्ष नेताहरु पनि भदौदेखि परिचालन हुने सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार एमालेले भदौंबाट प्रदेश २ मै केन्द्रीय कार्यालय सरहको कार्यालय राख्ने भएको छ । महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले भदौंबाट प्रदेश २ को जनकपुर, सिरहा र र बीरगञ्जमा केन्द्रीय कार्यालय सरहकै कार्यालय स्थापना गर्ने र कार्यालयमा बरिष्ठ नेताहरु नै रहने निर्णय गरेको हो ।
चुनाव अवधिभर एमालेले तराई मधेशमा विकास हुन नदिने नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलको षडयन्त्रसमेत भण्डाफोर गर्दै जनतालाई सचेत पार्ने योजना बनाएको छ ।
एमालेले पहिलो र दोस्रो चरणको चुनावमा देखिएको केही असन्तुष्टिलाई समेत ध्यान दिई उम्मेदवार चयन अघि स्थलगत अनुगमन समेत गर्ने भएको छ । यसका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घणश्याम भुसाल सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, पृथ्वी सुब्वा गुरुङ, योगेश भट्टराई, भीम आचार्यलाई जिल्ला तोकेरै जिम्मेवारी दिइएको छ ।
जसअनुसार महासचिव पोखरेल पर्सा, उपमहासचिव पौडेल बारा, भुसाललाई रौतहट खटाइएको छ । यसैगरी सचिवहरु पनि जिल्लाको स्थलगत अध्ययनका लागि खटाइएको एमालेले जनाएको छ । जसमा बिष्ट सर्लाही, भट्टराई धनुषा, आचार्य सप्तरी खटाइएको छ । अन्य जिल्लामा ज्ञवाली र गुरुङले जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads