Loading...
पनामा पेपर्समा मुछिएका नेपाली, कहिले होला कारबाही ?


काठमाडौं, १४ साउन– पनामा पेपर्स प्रकरणले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको पद नै गुमेको छ । 

पाकिस्तानी प्रधानमन्त्री सरिफले अवैध रुपमा धन जम्मा गरी विदेश पुर्याएको तथा त्यहाँ लगानी गरेको विवरण पनामा पेपर्समा सार्वजनिक भएपछि उनीमाथि छानविन भएको थियो । 

छानविनमा उनी दोषी भेटिएपछि त्यहाँको सर्वोच्च अदालतले सरिफलाई पदमा बस्न योग्य नभएको आदेश जारी गर्यो । अदालतको आदेश पछि सरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । 

शुक्रबार पाकिस्तानको सर्वोच्च अदालतका पाँच न्यायाधीशको इजलासले सरिफलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै दोषी ठहर गरेको हो । 

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमरान खानले पनामा पेपर लिक्स प्रकरणमा प्रधानमन्त्री सरिफविरुद्ध मुद्दा दायर गरेका थिए । 

के हो पनामा पेपर्स ?

मध्य अमेरिकी देश पनामास्थित एउटा ल फर्म मोसाक फोन्सेकाबाट लिक भएका ११ करोड भन्दाबढी कागजातलाई ‘पनामा पेपर्स’को नाम दिइएको हो । 

यी काजातमा कर छली प्रयोजनका लागि विदेशमा छद्म नाममा कम्पनी खोलेको आशंका गरिएका विश्वका शक्तिशाली राजनीतिज्ञ, तिनका परिवार र विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तिहरुको नामावली र तिनको कारोबारको विवरण संलग्न छ ।

पनामास्थित फोन्सेका ल फर्मले कर छल्ने प्रयोजनका लागि विदेशमा खोलिएका कम्पनीहरुलाई कानुनी तथा प्रशासनिक सहयोग गर्छ । 

को को छन् पनामा पेपर्समा परेका नेपाली ?

पनामा पेपर्समा नेपाली व्यवसायी उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्माको नाम छ । 

यस्तै यो पेपरमा यसअघि सन् २०१३ मा सार्वजनिक भएका व्यक्तिको नामपनि रहेको छ । जसमा रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिश कुमार तोदि, बिजेश कुमार अग्रवाल, शैलेन्द्र कुमार गुप्ता, बिमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्र कुमार काव्राको नाम रहेको छ । 

कानूनी व्यवस्था के छ ? 

नेपालको कानून अनुसार कुनै पनि नेपालीले विदेशमा लगानी गर्न पाउँदैन । विदेशमा लगानी गर्न प्रतिवन्ध लगाइएको ऐन २०२१ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने छैनन् ।

ऐनअनुसार विदेशमै कमाएर आफ्नो धनको सुरक्षा गर्न विदेशमै बैंक खाता खोलेर सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, नेपाल फर्किएको एक महिनाभित्र सम्बन्धित निकाय (नेपाल राष्ट्र बैंकलाई) जानकारी गराउनुपर्ने हुन्छ ।

त्यस्तै, सोही ऐनको दफा ३ मा नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । तर, त्यसका लागि नेपाल सरकारबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने हुन्छ । सरकारले पनि राजपत्रमा सूचना प्रकाशित गरेर मात्रै विदेशमा लगानी गर्न अनुमति दिन पाउने कानूनी व्यवस्था छ । तर, अहिलेसम्म कसैले पनि यसका लागि अनुमति लिएका छैनन् । 

होला त कारबाही ?
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई पनामा पेपर्सका आधारमा त्यहाँको अदालतले अयोग्य ठहर गरेसँगै नेपाली व्यवसायी माथि पनि अनुसन्धान थाल्न माग उठेको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अवैधरुपमा विदेशमा धन लुकाउने र अकुत कमाउनेमाथि कारबाही हुनपर्ने माग गरेका छन् । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले पनामा पेपर्स काण्डमा मुछिएका नेपालीहरुको छानविन नहुनु लज्जाको विषय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘पनामा पेपर्स काण्डमा मुछिएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पदच्यूत भए । त्यही काण्डमा मुछिएका नेपालीहरुको छानविन नहुनु मुलुककै लागि लज्जा बनेको छ ।’

यसअघि अख्तियारका तत्कालिन प्रवक्ता कृष्णहरि पुस्करले पनामा पेपर्स लिक बारेमा अध्ययन गर्ने र त्यहाँ समावेश भएका नेपालीको नाम, उनीहरुको सम्पत्तिको स्रोत र ट्याक्स हेभनसम्म उनीहरुको कनेक्सनको विषयमा छानविन थाल्ने बताएको भएपनि अहिलेसम्म हुन सकेको छैन । 

विश्वका हस्तीको नाम पनामा पेपर्समा
पनामा पेपर्समा विभिन्न देशका १४२ राजनीतिज्ञ मुछिएका छन् । रसियाका शक्तिशाली राष्ट्रपति भ्ल्यादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्को, आइसल्याण्डका प्रधानमन्त्री सिग्मंदुर डेभिड गुनलौग्सन, इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोरा अला मुबारक र ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनका बुबाको नाम पनि मुछिएको छ । 

त्यस्तै भारतका अभिनेताहरुको नाम पनि पनामा पेपर्समा मुछिएको छ । जसअनुसार अमिताभ बच्चन, अभिनेत्री ऐश्वर्या राय, उद्योगपति समिर गेलौट र केपी सिंहलगायतका छन् । भारतका विभिन्न ५ सय भन्दा बढी उद्योगी व्यवसायीको नाम पेपर्समा रहेको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads