Loading...
प्रेमको नयाँ तरिकाः बहुप्रेम सम्बन्ध

दि अब्जर्भर
एकनिष्ठ सम्बन्धमा (मोनोगामी)मा म कहिल्यै रम्न सकिनँ। यसले मलाई दाइजो र जिन्दगीभर एकै पार्टनरसँग सम्बन्ध राख्ने प्रेयरी भोलको याद दिलाउँछ। प्रेयरी भोल उत्तर अमेरिकामा पाइने मुसाको एक त्यस्तो प्रजाति हो, जसले जिन्दगीभर एउटै पार्टनरसँग सम्बन्ध राख्छ। ऐतिहासिक रूपले हेर्ने हो भने एक जोडी प्रथाले कुनै न कुनै तरिकाले महिलालाई कज्याएकै हुन्छ, किनभने त्यस्तो प्रथा आर्थिक उद्देश्यले गरिने विवाह र सम्पत्तिको स्वामित्वमा आधारित हुन्छ।
केही वर्षयता मैले आफूलाई बहुप्रेम सम्बन्ध गाँस्न रूचाउने व्यक्ति अर्थात् पोलिआमोरिस्टको रूपमा चित्रित गर्ने गरेको छु। साथीहरू मलाई ‘महिला मैत्री’ व्यक्तिका रूपमा चिन्छन्। मानिसहरूलाई चुम्बन गर्न मलाई मन पर्छ। खासगरी पोलो नेक लगाएका साथीहरू वा महिलाहरूलाई। बहुप्रेम सम्बन्ध सहमतिमा राखिने गैरएकनिष्ठ(ननमोनोगामस) सम्बन्ध हो। यो एउटा दर्शन हो। कामुक तरिकाले एकै पटक धेरै जना पार्टनरसँग सम्बन्ध बनाउनेभन्दा यो एकै समयमा एकभन्दा बढी व्यक्तिसँग प्रेममा पर्न र सम्बन्ध राख्न सम्भव छ भन्ने तथ्यलाई बुझ्नु र स्वीकार गर्नु हो।
एकैचोटि धेरैथरि काम गर्न आवश्यक पर्ने सीप विकाससँगै बहुप्रेम सम्बन्ध मैले सामना गरेमध्ये प्रेम गर्ने सबैभन्दा शक्तिशाली तरिका हो। अन्य सम्बन्धका मोडेलले अहिलेसम्म दिएभन्दा यस प्रकारको सम्बन्धले महिलालाई बढी स्वतन्त्रता दिन्छ। धेरैका लागि एक जोडी सम्बन्धले काम गरेपनि समाजमा सम्बन्ध कायम राख्ने त्यो एक मात्रै तरिका होइन। गैरएकनिष्ठसम्बन्धमा सम्बन्धको सफलता सुरूवातदेखि नै इमान्दारिता र खुलापनमा निर्भर हुन्छ। मलाई विश्वास छ, नारीवादी आन्दोलनलाई आवश्यक सम्बन्धबारेको ठूलो क्रान्ति यही हुन सक्छ।
धेरैलाई लाग्छ, यो यौनसँग सम्बन्धित छ तर त्यसो होइन। यो यौनसाथी साटासाट गर्नु पनि होइन। यो पोकेमन गो खेलजस्तो अघिल्तिर भेटिइने सबैलाई अँगाल्नैपर्छ भन्ने पनि छैन। यो त आफ्नो विकसित हुँदै गएको भावनालाई इमान्दारितापूर्वक पोख्न सक्ने स्वतन्त्रता हो। यसले साथी र प्रेमीबीचको सीमालाई सुरक्षित र पारदर्शी तरिकाले खोल्दछ।
किशोरावस्थामा व्यभिचारी हुनु भनेको के होला भनेर म सोध्ने गर्थेँ। मैले अन्य साथीहरूको सम्बन्धमा निष्ठाहीनता देखेँ। मेरा पार्टनरहरूले अरू मानिसलाई आकर्षक देखेको कुरा बताउँदा पनि मैले कहिल्यै आपत्ति जनाइनँ। यो स्वाभाविक थियो। ‘स्टेफेनीलाई किन चुम्बन गर्न नचाहने? ऊ खतरा छे!’ निश्चय नै उत्तर दिने यो तरिकालाई सामान्य मानिदैँनथ्यो।
किशोरावस्थामा मैले बुझेको कुरा के हो भने एकभन्दा बढी व्यक्तिलाई माया गर्नु सम्भव छ। यसले चिन्ता, पछुतो र बेकारको कविता लेख्न खर्च गरिएको समयलाई बचाउँथ्यो। यसबारेमा आफूलाई दोष दिनमै मैले वर्षौँ गुजारेँ। यही कारण प्रायसः मैले आन्धधुन्ध सम्बन्धहरूको अन्त्य गरेँ। ‘म सम्बन्धका लागि अझै तयार भइसकेको छैन’ वा ‘ममा वचनबद्धताको समस्या छ’ जस्ता बहाना गर्थेँ। म सम्बन्धहरू अन्त्य गर्न चाहन्नथेँ तर मेरो भावना अरूका अगाडि पोख्नु धोखा दिनुजस्तो लाग्थ्यो। त्यसैले झुठ बोल्दै म सम्बन्ध तोड्थेँ।
बहुप्रेम सम्बन्धलाई मैले २३ वर्षको उमेरमा फेला पारेँ। एडिलेड फेस्टिवलमा मैले धेरै बहुप्रेम सम्बन्ध कायम गरेका प्रस्तोताहरू भेटेँ। ती उदार, दयालु र हिप्पीजस्ता थिए। ती प्रस्तोताहरूले आफ्ना पार्टनर, बालबच्चा र बहुपरिवारबारे त्यहाँ बोले। त्यहाँ साथमा काम गरिरहेका पूर्व दम्पत्तीहरू थिए, जसका बहु परिवारहरू अन्यत्र कतै घुमिरहेका हुन्थे। लिभ–इन पार्टनर राखेका विवाहित जोडी तथा सन्तुलित र समान साझेदारीयुक्त सम्बन्ध भएका तीन पार्टनर (ट्रिमभाइरेट्स) पनि त्यहाँ थिए। म उनीहरूको खुलापन देखेर आश्चर्यचकित भएँ। त्यो परिवर्तन भइरहेको भूमण्डलीकृत विश्वको प्रतीकजस्तो लाग्यो। र, त्यहाँ धेरैजो व्यक्तिहरूले फिरन्ते जीवनशैली विकास गरिरहेका थिए। कामका लागि यात्रा गर्ने, यात्रामै प्रेमको खोजी गर्ने।
त्यसैले म जब थिएटर अध्ययन गर्न पेरिस गएँ (तीन बच्चाको बाबु ४५ वर्षीय फ्रान्सेली व्यक्तिसँगको सम्बन्ध तोड्नेबित्तिकै) मैले आफूभित्रको बारबारेल्ला (१९६८ को एक इरोटिक साइन्स फिक्सन फिल्म चरित्र) लाई आत्मसात गर्ने निर्णय गरेँ। अनि वास्तविकता? गैरएकनिष्ठसम्बन्ध साधारण त थियो र कहिलेकाहीँ निष्प्राण लाग्थ्यो। आइज वाइड सट नामक फिल्ममा देखाइएको विचित्र सेक्स पार्टी र सार्त्र, सिमोन र ओल्गाबीचको यौन सम्बन्धका स्टेरियोटाइपलाई पन्छाउँदा यो सामान्य सम्बन्धजस्तै थियो। फरक के थियो भने यसमा बढी समय, व्यवस्थापन, ‘अनुभूति’बारे बढी कुराकानी आवश्यक पर्थ्यो। कहिलेकाहीँ परिचितहरूसँग पार्टीमा अफ्ठ्यारो अवस्थामा जम्काभेट पनि हुन पुग्थ्यो, जसले तपाईंलाई आफ्नो यौन जागरणका लागि प्रयोग गर्थे। उदाहरणका लागि बुक क्लबकी लजालु केटी मात्तिएपछि तपाईंको गोडामा हात राख्थी र तपाईंलाई चुम्बन गर्नुअघि लर्बराउँदै बोल्थी, ‘ओरेन्ज इज द न्यु ब्ल्याक’ मलाई साँच्चै मन पर्‍यो...।’
बहुप्रेम सम्बन्धबारे धेरै गलत अवधारणाहरू पनि छन्। एक पटक मसँग डेट गएको एक व्यक्तिले अनपेक्षित रूपमा चुम्बन गर्न खोज्यो। मैले स्पष्ट शब्दमा उसप्रति म इच्छुक छैन भनिसकेपछि पनि उसले त्यसो गरेको थियो। (‘यो काम लाग्दैन। युरोपेली युनियनबारे हाम्रो विचार बिल्कुल अलग छ र तिमीले मलाई भर्खरै ‘एक महिलाका लागि निकै हास्यास्पद’ रहेको बताइसक्यौ।’ मेरो शब्द ठ्याक्कै यही थियो।) जब मैले उसलाई धकेलेँ, उ चकित भयो। म ‘यौनमा जागृत’ भएकोले उसलाई चाहेको गर्न छुट थियो भन्नेमा ऊ विश्वस्त थियो। भाग्यवश मेरो अनुभूतिको अर्थ के थियो भने म आफ्नो कुरा स्पष्टसँग राख्थेँ र आत्मविश्वासी थिएँ, त्यसैले आफ्नो लागि उभिन सक्थेँ। हो म आफ्नो सम्बन्ध र चाहनाप्रति खुला र स्पष्ट छु। तर त्यसको अर्थ के होइन भने जोसुकैले मेरो अनुमतिबिनै मलाई छुन सकोस्। यौन जागरण भनेको सहमतिको अनुपस्थिति होइन।
मैले स्वीकार गर्नैपर्छ, बहुप्रेम सम्बन्धमा जब मैले पहिलो पाइला टेकेँ, मैले गलत बुझेँ, जसका कारण पानीमा खसेको अनुभव भयो। त्यो अनुभव तनावपूर्ण थियो। बहुप्रेम सम्बन्धलाई मानिसहरू जोडी गाँस्नुको अर्थमा बुझ्छन्, जबकि यो सत्य होइन।
मानिसहरू प्राय सोध्ने गर्छन्ः ‘उता अर्कैसँग सम्बन्ध गाँस्ने चाहना हुँदाहुँदै यता कसैलाई साँचो माया कसरी गर्न सक्छौ?’ वा ‘तिमीलाई ईर्ष्या लाग्दैन?’ मलाई लाग्छ, यस्ता भनाइहरूले अस्वस्थ सम्बन्धका आदर्शलाई स्थापित गर्छन्। तपाईं एक जनाले मात्रै कुनै अर्को व्यक्तिको जीवनलाई पूर्णता दिन सक्छु भन्ने सोच्नु खतरनाक छ। तिनको विश्वास पात्र, तिनको साथी, तिनका सहयोगी सञ्जाल र तिनका यौन पार्टनर तपाईं एक्लै बन्न सक्नुहुन्न। यतिधेरै जिम्मेवारीमा अत्यधिक दबाब हुन्छ। तपाईं आफ्नो अहंलाई छोडेर एक कदम पछाडि हट्नुभयो र सोच्नुभयो भने तपाईं कसैको जीवनको अलग तत्व भएको महसुस गर्नुहुनेछ। यो उदार र स्वतन्त्रतायुक्त छ। ईर्ष्या समाप्त भएपछि तपाईं पक्कै स्वीकार गर्न सक्नुहुन्छ, उनीहरू अर्को व्यक्तिलाई आकर्षक फेला पार्न सक्छन् किनभने हामी सबै अलगअलग रहस्यका टुक्रा हौँ। यसले मलाई आफैलाई बुझ्न पनि बढी सहज बनाएको छ। मैले आफूलाई परम्परागत सुन्दरताको कुनै मानकभित्र सीमित गरेको छैन, किनभने म अरू सैयौँ अलग तरिकाले यो कुराको अनुभूति गर्न सक्छु।
मैले आफू छाडिएको महसुस गर्दा पक्कै पनि आँसु, टुटेको मुटु, अस्तित्वको संकटजस्ता समस्याहरूको सामना गर्छु। सबैभन्दा गलत समयमा ईर्ष्या प्रस्फुटन हुँदा यसले मलाई अझ मुक्त गरेको छ वा असुरक्षित गरेको छ, म चकित हुन्छु। मैले झुठो बोल्ने मान्छेहरूसँग डेट गरेको छु र त्यस्ता मान्छेहरूसँग सम्बन्ध कायम गरेको छु, जो बहुप्रेम सम्बन्धमा विश्वास राख्दैनथे, जसका कारण सम्बन्ध समाप्त भएको थियो।
यसका नकारात्मक पक्ष हुँदाहुँदै पनि गैरएकनिष्ठ सम्बन्धले प्रेमप्रतिको मेरो दृष्टिकोणमा क्रान्ति ल्याइदिएको छ। पहिलो कुरा यसले आफ्नो यौनिकताबारे मेरो लाजलाई कम गरेको छ। केटाहरूलाई मन पराउनुभन्दा निकै अघि म केटीहरूलाई मन पराउँथे। तर किशोरावस्थामा पार्टीहरूमा सहभागी हुँदा म के सोच्न बाध्य हुन्थेँ भने महिलाको आपसी यौनसम्बन्ध भनेको विशुद्ध पुरूषहरूलाई उत्तेजित तुल्याउनका लागि हो। मलाई सम्झना छ, केटीहरू पार्टीमा चुम्बन गर्थे र केटाहरू त्यसको वाहवाही गर्थे। यो प्रदर्शनका लागि थियो। तर म केटीहरूलाई चुम्बन गर्न चाहन्थेँ किनकि म उनीहरूलाई मन पराउँथे।
बहुप्रेम सम्बन्ध कायम राख्ने समुदायका व्यक्तिहरूलाई चिन्न थालेपछि मलाई धातुयुक्त ब्रा खोलेजत्तिकै आरामदायी महसुस भयो। महिला र पुरूष दुवै मेरा पार्टनर थिए। मैले कसैलाई ‘रोज्नु’ आवश्यक थिएन। मैले भेटेका मानिसहरूले महिला, पुरूष दुवैलाई अनन्त र समान प्रेम दिन सम्भव छ भन्ने कुरा बुझ्थे। मेरो आत्मविश्वास पनि बढ्यो। म लुकिरहेको थिइनँ। मेरो जीवनमा महिला र पुरूष दुवैको समान स्थान थियो। मैले एक जनाबाट अर्को जनासम्म उछिट्टिरहेको पेण्डुलमजस्तो महसुस गर्न छोडेको थिएँ। यो ताजा जागरणका कारण आमाबुबासँग मेरो अजीव संवाद हुन थालेको थियोः
एल्फः आमाबुबा म विचित्र (क्वीर) हुँ।
आमाः त्यसको अर्थ के हो?
एल्फः यसको अर्थ म महिला र पुरूष दुवैसँग सम्बन्ध राख्छु।
आमाः ए, म पनि विचित्र हुँ। तिम्रो बुबा, हजुरआमा सबै विचित्र हुन्। हामी सबै विचित्र हौँ।’
एल्फः होइन तपाईंले बुझ्नुभएन। मैले भन्न खोजेको म महिला र पुरूष दुवैसँग यौनसम्बन्ध राख्छु।
आमाः ओ एल्फी, तिमी थकित भएकोमा कुनै शंकै छैन।
म यौन मन पराउँछु तर पुराना अप्रिय अनुभवका कारण म अलिअलि यसबाट डराउँछु पनि। त्यसैले गैरएकनिष्ठ सम्बन्धको अनुभव लिन सुरू गरेपछि भावनात्मक र शारीरिक रूपले एकभन्दा बढी व्यक्तिसँग अन्तरंग बन्ने कुरो निकै चुनौतीपूर्ण थियो। तर छनोटले मलाई शक्ति र आफ्नो इच्छामाथिको स्वामित्व दियो, जसलाई मैले पहिले गुमाएको थिएँ। मैले भेटेजति सबैसँग ओच्छ्यानमा पस्थेँ भनिरहेकी छैन। यस्तो होइन पनि। म निकै व्यस्त छु। तर आफैँलाई तौलिने काम कम गरेर मैले आराम लिएँ। आफूले विश्वास गरेका मानिसहरूसँग म खुलेँ अनि पुनः आफैँलाई प्रेम गर्न थालेँ। यसले तपाईंलाई वास्तवमै इमान्दार हुन र अदम्य मुटुको साथमा जीवन जिउन प्रेरणा दिन्छ।
यो सहज यात्रा थिएन। ‘यदि तिमी आफैँलाई त माया गर्न सक्दैनौ भने अरूलाई कसरी गर्छौ?’ रू पाउलको यो भनाइ गैरएकनिष्ठ सम्बन्धका लागि अभिन्न कुरा हो। तपाईं धेरै जनासँगको सम्बन्धलाई शून्यता भर्न प्रयोग गर्न सक्नुहुन्न र यसले तपाईं आफैँले आफैँलाई दिने सन्तुष्टि पनि दिन सक्दैन। धेरै प्रेम गर्दैमा झन् राम्रो प्रेम हुन्छ भन्ने छैन। तपाईं आफ्नो मूल्य बढाउन धेरै जनासँग डेट गरिरहनुभएको छ भने तपाईंले आफूलाई बासी खाना ठान्न थाल्नुहुनेछ। जुनसुकै समयमा जुनसुकै व्यक्तिले अरू कसैसँग डेटमा जाने र समय बिताउने निर्णय गर्नसक्छ, जसले गर्दा उत्पन्न हुने ईर्ष्याका कारण तपाईं आफ्ना पार्टनरहरूलाई खराब र बिनाआदर व्यवहार गर्न थाल्नुहुनेछ।
सामाजिक र यौनिक रूपले आत्मविश्वासपूर्ण बन्दा हामीले लज्जित महसुस गर्न हुँदैन। महिलाहरूलाई धेरै लामो समय आफ्ना इच्छाहरूका लागि लज्जित हुन बाध्य बनाइयो। यो आफ्नो मनको कुरा भन्ने र आफूले चाहेको व्यवहार गर्ने विश्वासको कुरा हो। आफू टुट्न थालेको महसुस हुनेबित्तिकै रोकिएर तपाईंले चाहेको कुरा के हो र के ले तपाईंलाई खुसी बनाउँछ, त्यो सोध्न आवश्यक छ। धेरैबाट प्रेम प्राप्त हुनु र धेरै व्यक्तिलाई प्रेम दिनुले तपाईंलाई शक्तिशाली महसुस गराउनुपर्छ, कमजोर होइन।
महिलामाथि आक्रमण र नियन्त्रण भइरहेको सन्दर्भमा बहुप्रेम सम्बन्ध, यसको घोषणा, जिम्मेवारी बाँडफाँड र विश्वव्यापी प्रभावकारी सञ्चारजस्ता कुराले विशेषाधिकार, असमानता र महिलाअधिकारमाथिको नियन्त्रणविरूद्ध लड्ने हाम्रो तरिकालाई बदल्न सहयोग गर्छ।
अहिले मसँग त्यस्तो स्वत्व र आवाज भएको महसुस हुन्छ, जुन पहिले थिएन। साथीहरूसँगको सम्बन्ध र मेरो स्वास्थ्य पनि पहिलेभन्दा राम्रो छ। बहुप्रेम सम्बन्ध राख्ने व्यक्ति भएर र यो समुदायको एक हिस्सा भएकाले म व्यक्तिगत र राजनीतिक दुवै खालका मुद्दाहरूप्रति सचेत बनाइएको छु, जसलाई अनावृत्त गर्नुका साथै सम्बोधन गर्नुपर्ने आवश्यकता छ।
बहुप्रेम सम्बन्धबारे प्रत्येक व्यक्ति अझ खुला हुने हो भने यो संसार झनै राम्रो बन्ने थियो। एउटा बच्चा हुर्काउन पूरा गाउँकै साथ चाहिन्छ भनेझैँ बहुप्रेम सम्बन्धमार्फत् हामी अझ धेरै र अझ राम्रो प्रेम गर्न सक्थ्यौँ। एकै समयमा फरकफरक व्यक्तिसँग प्रेम गर्नु भनेको एकै पटक फरकफरक भाषा सिक्नुजस्तै हो। यसका लागि प्रत्येक पटक फरकफरक नियमहरू हुन्छन् र यो सँधै छलफलका लागि खुला हुन्छ। प्रेम अनन्त हुन्छ भन्ने कुरा तपाईंले पनि महसुस गर्न थाल्नुहुन्छ। तपाईंले कसैलाई ‘आइ लभ यु’ भन्दा प्रत्येक पटक त्यसले नयाँ अर्थ दिन्छ। यो पुनर्अनुदित हुन्छ र यो अद्भूत हुन्छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads