Loading...
कालीपुल बसपार्कको प्रारम्भिक नक्सा तयार


रुप्से दैनिक
म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्वारमा रहेको कालीपुल बसपार्कको गुरूयोजनाको प्रारम्भिक नक्सा तयार भएको छ । जिल्लाको प्रवेशद्वारमै रहेको बसपार्कलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यसहित बसपार्क गुरुयोजना अनुसार प्रारम्भिक चरणको नक्सा निर्माण गरिएको हो ।
बेनी नगरपालिका वडानम्बर ८ को वडा कार्यालय, नगरपालिका र शहरी भवन तथा डिभिजन कार्यालय बागलुङसँगको समन्वयमा बसपार्कको नक्सा तयार पार्न लागिएको वडा कार्यालयले जनाएको छ । बसपार्कको व्यवस्थापन र आधुनिकीकरण गर्ने उद्देश्यसहित आफ्नो चुनाबी घोषणापत्रको प्रतिबद्धताअनुरुप बसपार्कको नक्सा बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए ।
उनका अनुसार अहिले बसपार्कको गुरुयोजनाको डिपिआर तयार भैरहेको छ भने नक्सा समेत परिमार्जन गरी निर्माण गरिने भएको छ । गुरूयोजनाको प्रारम्भिक चित्रमा टर्मिलन भवन, ट्याक्सी, जीप र बसपार्कका साथै जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगरी पूर्वाधार विस्तार गरिने वडाध्यक्ष बराईलीले बताए । बसपार्कमा म्याग्दीका सूचनामूलक सन्देश, पर्यटकीय क्षेत्रका जानकारीसहितको सूचना केन्द्र समेत राखिने भएको छ ।
यसैगरी हाल रहेको बास्केटबलको मैदानलाई स्थानान्तर गरिनेछ । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र राजमार्ग बेनी–जोमसोम सडकखण्डमा आवतजावत गर्ने बसपार्क हिलाम्मे र अव्यवस्थितका कारणले गर्दा यात्रु तथा पर्यटक, सर्वसाधारण लगायतलाई सास्ती हुने गरेको छ । बसपार्क अस्तव्यस्त हुँदा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै यसअघि पटकपटक आलोचना हुने गरेको थियो ।
बेनी नगरपालिकाले पनि बसपार्क बनाउन प्राथमिकता दिएको छ । बेनी–जोमसोम सडकमा दैनिक ठूलो सङ्ख्यामा पर्यटकहरु भित्रिने भएकाले तत्काल बसपार्क मर्मतको कार्य सुरु गर्नुपर्नेमा सरोकारावालाले दवाव दिएका छन् । कालीपुलमा बसपार्क सञ्चालन भएको झण्डै १२÷१३ वर्षको अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बसपार्क व्यवस्थापनको प्रारम्भिक काम अगाडि बढेको हो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads