Loading...
सरकारलाई बाबुराम र उपेन्द्र चेतावनी- संसदको संख्या बढाउने प्रस्ताव स्वीकार्य छैन्


काठमाडौं, १ साउन । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय निर्वाचन क्षेत्र संख्या २४० राख्ने सत्तारुढ दलको प्रस्तावमा कडा आपत्ति जनाएको छ ।
दुबै नेताले आइतबार विज्ञप्ति जारी गर्दै ‘संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरि संघीय व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकुल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव गरियोस’ भनेका छन् ।
केही दिनअघि बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा कांग्रेस नेता रामचन्द पौडेलले नयाँ संविधानले व्यवस्था गरेको १६५ बाट बढाएर सांसदको संख्या २४० पुर्याउने प्रस्ताव गरेका थिए । जसमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन जनाएका थिए ।
यो खबर बाहिर आएपछि उपेन्द्र र बाबुरामले संयुक्त वक्तप्यमार्फत राज्यको पुनर्संरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा फेरि उही पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य छैन् भनेका छन् ।
उपेन्द्र र बाबुरामले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गर्न पनि माग गरेका छन् । ‘राज्य पुनर्संरचनाको कुनैपनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न पाइने छैन् र राष्ट्रिय एकतालाई असर पार्ने कुनै कार्य हामीलाई स्वीकार्य हुनेछैन्,’ विज्ञप्तिमा भनिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads