Loading...
डोल्मा शेर्पा १० वर्ष जेल सजाय बेहोर्दै नेपाल फर्केकीन


विदेशमा काम भन्दा पनि महत्वपूर्ण कुरा त्यो ठाउँमा कसरी अभ्यस्त हुन भन्ने कुरा ठूलो हो ।
त्यसपछि त्यो देशको नियम, कानुन, भाषा, रहनसहन जस्ता आधारभूत कुराले वैदेशिक यात्रा सुरक्षित बनाउँछ । हाम्रा नेपाली चेलीहरु नेपालको विमानस्थल मात्र होईन्, छिमेकी देश भारतको विमानस्थल प्रयोग गरेर समेत सरकारले बन्देज गरेका अत्यन्तै जोखिमपूर्ण कामहरुमा समेत जानेगर्दछन् ।
डोल्मा लामा, एउटा नेपाली चेली जस्ले कुवेतमा कामको चाप सहन सकेन् । साथीहरुसँग सहकार्य गरेर विरानो देशमा आफुलाई सहजरुपमा उभ्याउन सकेन्, र आफ्नै साथीको हत्या गरेको आरोप लाग्यो । आरोप सहि पनि होला ।
कसैले कसैको हत्या गर्ने अधिकार पनि छैन् । तर आवेशमा आएर त्यस्तो कदम चाल्दा कानुनी रुपमा निकै जटिल हुने देशमा आफैलाई झमेला हुन्छ, जेल सजाय भोग्ने त सामान्य कुरा हो । कागताली मिलाउन सकेन् भने उस्तै परे फाँसीको सुलीमा चढ्नुपर्दछ ।
रोजीरोटीको लागि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा १० वर्ष जेल सजाय बेहोर्दै नेपाल फर्केकी छन् । ‘सानो छोरा र श्रीमानलाई घर छाडेर कुवेत गएकी थिएँ, सबै कुरा आफूले भनेजस्तो कसको हुन्छ र ?’,एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र (डिपोर्टसेन सेन्टर) बाट घर फर्किएकी ३८ वर्षिया डोल्माले सुनाइन, ‘जसरी भएपनि घर फर्कन पाएँ, म अत्यन्त खुशी छु, इन्साल्ला ।’
डोल्मालाई लिन उनका भाइ शेराब लामा बिमानस्थल पुगेका थिए । खाडी मुलुकमा रोजीरोटीको सपनामयी योजना लिएर कुवेत पुगेकी सिन्धुपाल्चोक, क्यानसिङकी डोल्माका श्रीमान आङ तेन्जि शेर्पा अहिले रोजगारीकै क्रममा इराक पुगेका छन् भने उनका एक छोरा आफन्तको सहयोगमा काठमाडौंको बिद्यालयमा अध्यनरत छन् ।
कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ ।
१० बर्ष लामो जेल सजायको अवधी यो जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया (डिर्पोटेसन) केन्द्रमा राखेको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो ।
लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रुपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रुपान्तरण भएको थियो । इस्लामिक कानूनअनुसार पीडित परिवारले ‘ब्लड मनी’ (क्षतिपूर्ति) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाह भएको थियो ।
सहमति अनुसारको १० हजार डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बीउ पैसा’ राखेर बाँकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो । डोल्मा भारतको बाटो हुँदै अवैध रुपमा कुवेत गएकी थिइन् । कुवेत पुगेको केही महिनामा कुवेती मालिकको घर फेर्ने क्रममा र भगौडा भएर बस्नुपरेको तनावको अवस्थामा फिलिपिनो युवतीको हत्या प्रकरण उब्जिएको थियो ।
उनी कुवेत पुगेर बेहोरेको हैरानी र घरपरिवारको कथानक जोडेर निर्देशक केसाङ छेतेनले बनाएको ‘सेभिङ डोल्मा’ वृत्तचित्र निकै चर्चामा रहिआएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads