Loading...
किन अस्वीकार गरे ‘शताब्दी पदक’ प्रचण्डले

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ अस्वीकार गरेका छन् ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार बसेको त्रिमूर्ति निकेतनको बैठकले शताब्दी पदक प्रचण्डलाई प्रदान गर्ने घोषणा गरेको थियो । तर, प्रचण्डको निजी सचिवालयले विहिबार एक विज्ञप्ति जारी गर्दै उनले शताब्दी पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको जनाएको छ ।
बुधबा त्रिमूर्ति निकेतनका पदाधिकारीले प्रचण्डलाई भेटेर भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरेका थिए । तर, प्रचण्डले भने इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाएको भएको चासो एवं सकारात्मक सुझाव दिएर ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्ताे छ विज्ञप्ति:
त्रिमूर्ति सम्मान र शताब्दी पदकसम्बन्धि अध्यक्ष प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोट
त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’द्वारा सम्मानित गर्ने समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो । तर, यसबारे पर्याप्त जानकारी लिएर मात्रै आवश्यक निर्णयमा पुग्नुपर्ने भएकाले सम्मान र पदक लिने वा नलिनेबारे अध्यक्ष क. प्रचण्ड र अध्यक्षको सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।
बुधबार अध्यक्षको सचिवालयलाई जानकारी नै नदिई पार्टीका केही नेताहरुको पहलमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरुद्वारा अध्यक्ष क. प्रचण्डलाई भेटी भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको र विभिन्न मीडिया र सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो । तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाउनु भएको चासो एवं सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष क. प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिन्छ ।
यस सन्दर्भमा प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष क. प्रचण्डले खेल्नुभएको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न आग्रह गर्दै बेलैमा सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्नुभएकोमा सम्पूर्ण प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछौं, धन्यवाद ।
५ श्रावण, २०७४

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads