Loading...
किन डुब्यो तराई ? को हो दोषी

काठमाडौं, २९ साउन । तराईका जिल्लाहरू अविरल वर्षातका कारण आएको बाढीले जलमग्न भएको छ । लाखौँ सर्वसाधारण घरबारबिहीन बन्न पुगेका छन् । थप्रैको संख्यामा सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।
बाढीका कारण करोडौँको सम्पत्ती नोक्सानी भइसकेको छ । सरकारले बाढी पीडितको उद्धार र राहत वितरणका लागि प्रयासहरू गरिरहेको जनाएको छ । यद्यपि, पीडितले अपेक्षा गरेअनुसारको कुनै पनि उद्धारको काम हुन सकेका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा प्रमुख र सरोकारवाला निकायलाई बोलाएर उद्धार र राहत वितरणमा कुनै पनि कमी नगर्न निर्देशन दिइसकेका छन् । तर, गृहमन्त्री जनार्दन शर्मा भने मिडियावाजीमै केन्द्रित देखिएका छन् ।
सञ्चारकर्मीहरूलाई गृहमन्त्रालयमा बोलाउने, सुरक्षा निकायहरूसँग गरिएका सम्वादलाई फेसबुकमा हाल्ने, आफ्नो पक्षमा समाचार लेख्न लगाउने जस्ता हल्काफुल्का कार्य गरेको भनेर पीडितहरूले गुनासो गर्न थालेका छन् । मन्त्री शर्माले उद्धार र पीडितलाई के कस्तो सहयोग गरे भन्ने प्रतिगति विवरण राम्रोसँग नदिएको धेरैको गुनासो छ ।
किन भयो तराईमा डुबान ?
तर, दशगजा क्षेत्रमा भारतले बनाएको उच्च सडक र बाँध नै तराईको डुबानको समस्या भएको हो । पीडित क्षेत्रका सर्वसाधारणले नेपाल सरकारको लाचारी र नेताहरूको भारतपरस्त व्यवहारका कारण भारतीय पक्षले बनाएको उच्च बाँधहरूले गर्दा डुबान भएको जनाइएको छ ।
पहाडबाट आउने खोला र नदीका पानी सहज रुपमा जान नसक्दा तराईमा डुबान भएको हो । प्रभावित क्षेत्रका स्थानीयले भारतको दशगजा क्षेत्रमा बनाइएका उच्च बाँध र उच्च सडकहरू भत्काउनु पर्ने वा पानीको बहाव हुन दिने व्यवस्था मिलाउनै पर्ने बताउँछन् ।
भारतले कोशी ब्यारेज, कमला नदीको बाँधलगायतमा भारतीयको कब्जामा हुनु पनि तराईको डुबानको प्रमुख समस्या हो । कोशी ब्यारेजका ढाको खोल्न भारतीय पक्ष कहिल्यै चाहँदैन । किन भने कोशी ब्यारेजका ढोका खोल्नेवित्तिक आधार बिहान डुबानमा पर्छ । बिहारलाई डुबानबाट बचाउन भारतले नेपालको तराई क्षेत्रलाई सधै समस्यामा बनाउने गरेको हो ।
दशगजामा बनेका भारतीय संरचना भत्काउनु पर्छ
भारतले दशगजा क्षेत्रमा बनाएका संरचनाहरू भत्काउनु पर्ने हुन्छ । यी संरचना भत्काएर दुबै देशको सहमति र समझदारीमा उचित व्यवस्थापन गर्नुपर्ने बेलाबेलामा कुरा उठ्दै आएको छ । नेपालका शासकहरूले यो विषय भारतसँग कुटनीतिक रुपमा उच्च प्राथमिकताका साथ कहिल्यै उठाउन नसकेको आरोप छ । सत्तामा बस्नेहरूले भारतले दशगजा क्षेत्रमा बनाएका संरचना भत्काउनका लागि कहिल्यै भारतसँग आग्रह गर्ने छैनन् ।
सिचाइ मन्त्री र कर्मचारीहरूपनि दोषी
नदीनाला नियन्त्रण गर्ने जिम्मेवारी पाएको सिचाइ मन्त्रालय मातहतका विभाग र कार्यालयहरूले कहिल्यै पनि जिम्मेवारीपूर्ण रुपमा काम नगरेको सधै गुनासो आउने गर्छ । नदी नालाहरू नियन्त्रणका लागि वर्षेनी अबौं रुपियाँ निकास हुन्छ । तर, आधा रकम कमिशनमा सकिने गरेको छ । बाँकी भएको पैसाले गुणस्तरीय काम नहुँदा डुबानको समस्या आउने गरेको हो । केही समय अगाडि पनि सिचाइ मन्त्रालयमा प्रिपेड भ्रष्टाचार हुन्छ भनेर समाचार बाहिर आइसकेका छन् ।
सिचाइ मन्त्रालयले नदीनालाहरूको पानीलाई सिचाइका लागि उचित व्यवस्थापन र नियन्त्रण गर्ने हो भने यति धेरै नोक्सानी नहुने धेरैको भनाइ छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads