Loading...
त्रिभुवन विश्वविद्यालय र चण्डिगढ युनिभर्सिटीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १८ साउन । उच्च शिक्षा, अनुसन्धान, विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान र दुवै देशका विद्यार्थीलाई गुणस्तरीय शिक्षाबाट लाभान्वित गर्ने उद्देश्यले त्रिभुवन विश्व विद्यालय र भारतको चण्डिगढबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
छिमेकका विश्वविद्यालयहरूसँग घनिष्ट सम्बन्ध राख्ने उद्देश्य बोकेर चण्डिगढ विश्व विद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेको हो । यसका लागि दुई विश्व विद्यालयका समकक्षीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्व विद्यालयका तर्फबाट उपकूलपति डा. तीर्थराज खनिया र चण्डिगढ विश्वविद्यालयको प्रतिनिधित्व गर्दै त्यसका उपकूलपति आर.एस. बावाले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सोमबार हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा प्राज्ञिक समूह, अनुसन्धानकर्तालगायतको उपस्थिति रहेको थियो । समारोहमा प्राज्ञिक तथा अनुसन्धानकर्ताहरूले दुवै देशका विद्यार्थीलाई कुन स्वरुपमा अघि बढ्दा फाइदा पुग्छ भन्नेमा केन्द्रित रहेर छलफल गरेका थिए ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा समझदारीबारे चण्डिगढका उपकूलपतिले विस्तारमा बताएका थिए । उनले भने, ‘विद्यार्थी भर्नाको दृष्टिले विश्वकै नवौं ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग प्राज्ञिक, अनुसन्धान र उच्च शिक्षामा सहयोग आदानप्रदान गर्न बनेको यो समझदारीले हामी गौरववान्वित त छँदैछौं, नयाँ युग सुरु गर्ने विश्वास समेत लिएका छौं ।’ उनले भने, ‘यो सहमतिले दुई देशका विद्यार्थीले सबैखाले कोर्षहरू गर्न नयाँ मार्ग खोलेको छ ।’
‘उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा पर्ने देश भारत हो । पाँच वर्षको दौरानमा चण्डिगढ विश्व विद्यालयमा नेपाली विद्यार्थीको संख्या १३३ प्रतिशतले वृद्धि हुनुले पुष्टि गर्छ’, पत्रकार सम्मेलनमा डा. बावाले भने ।
यस विश्वविद्यालयले ११८ वटा व्यवसायिक व्यवसायिक कोर्षहरू डिप्लोमादेखि विद्यावारिधिसम्म कोर्षहरू सञ्चालन गर्दै आएको छ । यसले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको छ । यस विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरका ४० मुलुकका १६० वटा विश्वविद्यालयसँग सहसम्बन्ध कायम गरी अध्ययन–अध्यापन गराउँदै आएको डा.बावाले बताए ।
चण्डिगढ विश्वविद्यालयमा नेपाललगायत ३५ मुलुकका १२ सयभन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेका छन् । मेरिटको आधारमा नेपाललगायतका विद्यार्थीले यसको छात्रवृत्तिमा समेत अध्ययन गर्ने मौका पाएका छन् । विश्वविद्यालयको नेपालको आधिकारिक कन्सल्ट्यान्सी एआईपी हो । एआईपीबाट २४३ नेपाली विद्यार्थीले यस विश्वविद्यालयको विभिन्न संकायमा उच्च शिक्षा लिइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads