Loading...
भगवान छोइन्छ' भन्दै दलित समुदायलाई मन्दिर प्रवेशमा रोक

अझै मन्दिर पस्न पाउँदैनन् दलित
कलैया उपमहानगरपालिका १८ मोतिसरस्थित रामटोलको शंकर मन्दिर अगाडि दलित समुदायका महिला । अन्नपूर्ण

मोतीसर (बारा) : दलित समुदायको बसोबास रहेको कलैया उपमहानगरपालिका १८ मोतिसरस्थित रामटोल बस्तीको बीचमा शंकर मन्दिर छ। मन्दिरमा बस्तीका स्थानीय आफूले चाहेको बेला पूजा गर्छन। तर त्यही बस्तीका दलित समुदाय भने मन्दिरभित्र पस्नसमेत पाउँदैनन्।
‘भगवान छोइन्छ' भन्दै दलितलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ। दलित समुदायका व्यक्ति मन्दिर पसिहाले पुजारीले मन्दिर नै पखाल्छन्। मन्दिर पस्ने दलितले समाजमा बेइज्जती सहनुपर्छ। त्यही डरले पनि दलित समुदायका व्यक्ति मन्दिर प्रवेश गर्ने हिम्मत जुटाउन सक्दैनन्।
‘हामी पस्दा मन्दिर नै पखालिन्छ, आफ्नै अगाडि मन्दिर पखालिँदा धेरै नराम्रो लाग्छ', स्थानीय लक्ष्मीयादेवी रामले भनिन्, ‘धेरैपटक मन्दिरमा पूजा गर्न प्रयास गर्यौं तर हामीलाई सधैं रोकिन्छ, पूजा गर्न कहाँ जानु? '
दलित भएकै कारण मन्दिर पस्न नपाएको पीडा लामो समयदेखि भोग्नु परेको लक्ष्मीयादेवीले बताइन्। मन्दिरमा सामूहिक पूजाको समयमा अझै बढी दुःख लाग्ने गरेको उनको भनाइ छ। गाउँका अन्य महिला र पुरुष पूजामा सहभागी भइरहँदा आफूहरू भने घरमै बस्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।
‘गाउँका सबैजना मन्दिरमा भेला भएर सामूहिक पूजा गर्छन् तर हामी त्यहाँ जान पाउँदैनौं', उनले भनिन्, ‘त्यतिबेला झन् बढी दुःख लाग्छ। हामी पनि कसैको रोकतोकबिना मन्दिरमा गएर पूजा गर्न चाहन्छाै‌।'
केही महिनाअघि अष्ठजाम पूजाका लागि दलितसँग चन्दा उठाए पनि मन्दिरमा पस्न नदिएको घटनापछि गाउँका दलित समुदाय अझै बढी निराश भएका छन्। लक्ष्मीयादेवीका अनुसार आठ दिने पूजाका लागि मन्दिरका पुजारीले गाउँका सबैसँग चन्दा उठाए। दलित समुदायले पनि पूजाका लागि आफूले सकेको सहयोग गरे तर दलित समुदाय पूजामा सहभागी हुन पाएनन् र मन्दिरको ढोकाबाटै घर फर्कनुपर्यो ।
‘गाउँको सबैभन्दा ठूलो पूजा थियो, हामीसँग पनि चन्दा उठाइयो अनि सकेको सहयोग सबैले गरेका थियांै', इन्दुदेवी रामले भनिन्, ‘तर पूजा गर्न जाँदा भित्र पस्न दिइएन, हामी पूजा नगरी घर फर्कियौं।' रात्री पूजाको सबै तयारी गरेर मन्दिर पुग्दा पुजारीले ढोकाबाट भित्र पस्न नदिएपछि निराश भएर रुँदै घर फर्किएको पीडा इन्दुदेवीले सुनाइन्। मन्दिरबाट फर्किएको दिन गाउँका सबै दलित एकै ठाउमा भेला भएर रातभर रोएको र भोकै सुतेको इन्दुदेवीको भनाइ छ ।
‘राति मन्दिरमा पूजा गर्नुपर्ने भएकाले हामीले खाना पकाएनौं, सबै परिवार तयार भएर मन्दिर गएका थियौं, इन्दुदेवीले भनिन्, ‘तर यत्तिकै फर्कनु परेपछि सबैजना एक ठाउँमा भेला भएर धेरैबेर रोयौं । खाना पकाएर खान मन लागेन, अनि यत्तिकै सुत्यौं।'
मन्दिरका पुजारीले चन्दा फिर्ता लैजान सक्ने तर मन्दिरमा प्रवेश गर्न नपाउने बताएपछि भगवानका लागि गरेको सहयोग फिर्ता नलिने भन्दै आफूहरू यत्तिकै फर्किएको इन्दुदेवीले बताइन्। ‘पूजाका लागि सहयोग गरेका थियौं, हामी जान नपाए पनि पूजा भइरहेको थियो। चन्दा फिर्ता लिँदैनौं भनेर फर्कियौं, उनले भनिन्।
दलित समुदायलाई गर्ने व्यवहारमा पहिलाभन्दा केही सुधार आए पनि मन्दिर पस्न र सामूहिक भोजमा सहभागी हुन रोक लगाउँदा भने दुःख लाग्ने गरेको स्थानीय संगीतादेवी रामले बताइन्। दलित समुदायका व्यक्ति बाटोमा हिँड्दा छोइन्छ भनेर परैबाट हिँड्ने, अन्नबाली छोए त्यसैअनुसारको पैसा लिने र सार्वजनिक चापाकलमा सहजै पानी थाप्न नपाउनेजस्तो पीडा भने अहिले नरहेको संगीतादेवीको भनाइ छ। ‘अहिले त सबैका घरमा धारा छन् त्यसैले पानीको समस्या भोग्नुपरेको छैन। हामी धारा बनाउन सक्छौं तर मन्दिर बनाउन त सक्दैनौं नि', उनले भनिन् ।
संगीतादेवीका अनुसार केही वर्ष पहिलेसम्म गाउँका दलितले कसैको घाममा सुकाएको अन्न छोए त्यसैअनुसार पैसा तिर्नुपथ्र्यो। तर दलित जनजाति उत्थान केन्द्र बाराले किशोरकिशोरी सशक्तीकरणका लागि अभियान थालेपछि केही परिवर्तन आएको संगीतादेवीको भनाइ छ। छुवाछुत मान्दै आएका किशोरकिशोरीलाई भेला गरेर केन्द्रले छुवाछुतलगायत अन्य सामाजिक विकृतिविरुद्ध चेतनामूलक अभियान सुरुगरेपछि केही सुधार भने भएको उनले बताइन्।
‘पहिला छुवाछुत मान्दै आएका किशोरकिशोरी अहिले यसविरुद्ध लागिपरेका छन्। आफ्ना अभिभावकलाई सम्झाइरहेका छन् । किशोरकिशोरीका कारण पनि केही सुधार भएको छ', उनले भनिन्, ‘तर गाउँका पुराना मान्छे छुवाछुत छोड्न मान्दैनन् जसले गर्दा मन्दिर पस्न र भोजमा सहभागी हुन पाएका छैनौं।'
गाउँमा कसैको भोज भए दलित समुदायले त्यही दिन भोज खान पाउँदैनन्। त्यसको भोलिपल्ट मात्रै दलितलाई खुवाइन्छ । तर पछिल्लो समय दलितले भोलिपल्ट खुवाउने भोज बहिष्कार गर्न थालेका छन् । दलितलाई भोजका लागि निम्तो गरे मात्रै जाने र त्यही दिन नै भोज नखुवाए बहिष्कार गर्ने अभियान सुरु गरेको संगीतादेवीले बताइन् । दलितले भोज खुवाउनु परेमा भने सामान किन्न पैसा दिने गरेका छन् । सामान किनेर अन्य समुदायले आफैं खाने गरेका छन् । ‘दलितलाई हामी आफैं पकाएर खुवाउछौं र अरूका लागि सामान किन्न पैसा दिन्छाै अनि आफैं पकाएर खान्छन्', संगीतादेवीले भनिन्।
छुवाछुतविरुद्ध गाउँमा अभियान चलाउँदै आएकी किशोरी काजोल गुप्ताले पहिलाभन्दा केही सुधार भए पनि वृद्धवृद्धाको सोच बदल्न अझ केही समय लाग्ने बताइन्। ‘हामी आफैं पनि पहिला दलितसँग बसेर पढ्दैनथ्यौ, सँगै बस्न मन लाग्दैनथ्यो', उनले भनिन्, ‘हामीले अहिले सबै कुरा बुझ्यौ, अनि अभिभावकलाई बुझाइरहेका छौं, धेरै सुधार भएको छ । केही समय लाग्छ तर छुवाछुतको अन्त्य गरेर छोड्छाै ।' दलित समुदायलाई मन्दिर प्रवेश गराउन पछिल्लो पुस्ता तयार भए पनि पुरानो पुस्ताले विरोध गर्ने गरेका कारण समस्या भइरहेको काजोलले बताइन्।
अन्नपूर्ण बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads