Loading...
छात्रा फुटबल प्रतियोगिता शुरु



म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा जिल्लामै पहिलोपटक छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिद्वारा ‘हामी पनि सक्छौं’ भन्ने मूल नारासहित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबल प्रतियोगिता–२०७४ आयोजना गरिएको हो ।  
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले राष्ट्रको विकासमा खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले प्रतियोगिताबाट जिल्लामा महिला खेलाडीको उत्पादन गर्नुपर्नेमा जोड दिँदै खेलकुद क्षेत्रको व्यवसायिक विकासमा लाग्नुपर्ने बताएका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले खेलको माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपर्ने बताइन् ।  
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जिल्लामा सञ्चालन गरिने अधिकांश खेलमा सधैंभरी छात्राहरु खेल मैदानभन्दा बाहिरै बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि उनीहरुलाई खेलकुदमा सहभागी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले समितिमार्फत खेलकुदलाई निरन्तरता दिइने बताउँदै खेलमा छात्राको उपस्थिति वृद्धि गर्ने बताएका छन् । 
नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर दुई दिनसम्म आयोजित प्रतियोगितामा जिल्लास्थित विभिन्न १० ओटा विद्यालयका छात्राहरुले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ । बुधबार सम्पन्न पहिलो खेलमा माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले न्यु होराईजन आवासीय माविलाई शुन्यका विरुद्ध ३ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । 
त्यस्तै बेनी सामुदायिकले बुद्ध एकेडेमीलाई पेनाल्टीमार्फत एक गोल गर्दै अर्को चरणमा प्रवेश गरेको छ भने बेनी बोर्डिङले प्रकाश माविलाई शुन्यका विरुद्ध १ गोल गर्दै विजयी भएको छ । न्यु वेष्ट प्वाइन्टले बालमन्दिर विद्यालयलाई शुन्यका विरुद्ध ८ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबारै सम्पन्न दोस्रो चरणको खेलमा माउण्ट एभरेष्टले गलेश्वर आदर्श बोर्डिङ स्कुललाई शुन्यका विरुद्ध ४ गोल गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । 
विद्यालय उमेर समूहका छात्राको खेल प्रतिभालाई उजागर गर्न यस वर्षदेखि लिग चरणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको आयोजकले बताएको छ । शहरदेखि ग्रामीण क्षेत्रसम्म रहेका खेलकुद प्रतिभाको पहिचान गरी केन्द्रसम्म पु¥याउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताइएको छ । 
प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद १५ हजार, द्वितीयलाई ९ हजार, ट्रफी मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायतलाई पनि १ हजार पाँचसय तथा अनुशासित टिमलाई २ हजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रस्वरुप पुरस्कार दिइनेछ । 
प्रतियोगिताको उद्घाटनसत्र जिल्ला खेलकुद विकास समिति अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा स्वागत र कोषाध्यक्ष दीनेश केसीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितको अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले तीजसम्बन्धी गीत, सङ्गीत तथा नृत्य र विविध सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतीहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष विश्वकर्माको भनाई छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads