Loading...
गृहमन्त्री शर्मा र सचिव रेग्मीबीच खटपट

काठमाडौं, १ भदौ । प्रहरी संगठनमा गृहमन्त्री जनार्दन शर्माले अनावश्यक रुपमा हस्तक्षेप गर्न थालेपछि गृह सचिव लोकदर्शन रेग्मी असन्तुष्ट बनेका छन् ।
पछिल्लो समयमा गृहमन्त्री शर्माले सशस्त्र र नेपाल प्रहरीको सरुवा र बढुवामा मात्र नभई गृह मन्त्रालयमा सुरक्षा सल्लाहकार नै राखेर हस्तक्षेप गर्न थालेपछि सचिव रेग्मी असन्तुष्ट भएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार मन्त्री र सचिवबीच विवाद बढेपछि सचिव रेग्मीले गृह छाड्ने मनस्थिति बनाएका छन् ।
मन्त्री शर्माका सुरक्षा सल्लाहकार पुर्व एआईजी सुरेन्द्र बहादुर शाहले नेपाल प्रहरीका एसएसपी, एसपी र डिएसपी सहितका कर्मचारीलाई राखेर गृह मन्त्रालयमा सचिवालय नै खडा गरेको विषयलाई लिएर पनि रेग्मीले असन्तुष्टि जनाएको स्रोत बताउँछ ।
शाहले नेपाल प्रहरीबाट एसएसपी केदार रिजाल, एसपी मनोज न्यौपाने र डिएसपी वासु पाठकलाई प्रहरी हेडक्वाटरबाट झिकाएर टिम नै गठन गरेका थिए ।
राजनीतिक नियुक्ति पाएका शाहले प्रहरी नियमवाली बिपरित राष्ट्रसेवक प्रहरीहरु राखेर कार्यालय चलाएका कारण सचिव रेग्मीले त्यसको बिरोध गरेको गृहका अधिकारीहरु बताउँछन् ।
गृहमन्त्री र पूर्व एआईजी शाहको यो कार्यले नयाँ शक्ति केन्द्रको अभ्यास हुने खतरा बढेको भन्दै गृहका अधिकारीहरुले उक्त कार्यप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक रहेका सचिव रेग्मीले देउवाबाट आउने गरेका सिफारिसहरु मन्त्रीलाई बुझाउँदा आधामात्र सदर हुने गरेको भन्दै देउवालाई रिपोटिङ गरेरपछि मन्त्री र सचिवबीच खटपट शुरु भएको स्रोत बताउँछ ।
त्यसो त प्रहरीमा डिआईजीबाट एआईजीमा बढुवा भएकाहरुको पोष्टिङमा पनि गृहमन्त्री शर्मा बाधक बनेका छन् ।
हचुवाको भरमा प्रहरीमा संघीय संरचना लागू गरी एआईजीहरुको पोष्टिङ गर्ने तयारीमा लागेका गृहमन्त्री शर्माले नयाँ नियमावली नबनाई संघीय संरचनामा जान नहुने कुरा अहिले आएर बुझेपछि एआईजीहरुको पोष्टिङ पनि रोकेका छन् । जुन कुरा उनलाई सचिव रेग्मीले गृहमा आउनासाथ जानकारी गराएका थिए ।
तर, सस्तो प्रचार र लोकप्रियताका लागि मन्त्री शर्माले प्रहरीमा सरुवा र बढुवाको जाम खोलेको बताउँदै आएका छन् । त्यसो त बैशाखबाट बढुवा भएका सशस्त्र प्रहरीका केही उच्च अधिकारीहरुको पदस्थापनमा पनि मन्त्री शर्मा नै बाधक देखिएका छन् ।
बाढी पहिरो पीडितहरुको उद्दारमा फिल्डमा खटिनु पर्ने प्रहरी र सशस्त्रका उच्च अधिकारीहरु पदस्थापन नहुँदा त्यतिकै समय खेर फालेर बस्न बाध्य छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads