Loading...
उत्तर कोरियामाथि सुरक्षा परिषद्ले लगायो थप प्रतिबन्ध

काठमाडौं, २२ साउन — संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शनिवार उत्तर कोरियाविरुद्ध थप नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको लगातार परीक्षण गरिरहेको र संयुक्त राष्ट्रसंघका प्रस्तावहरूको उल्लंघन गरेको आरोपमा प्रतिबन्ध लगाइएको हो ।

प्रतिबन्धको पक्षमा १५ मत परेकाले प्रस्ताव २३७१ एकमतले पारित भयो ।
प्रस्तावले उत्तर कोरियाका प्रमुख निर्यात वस्तु कोयरा, फलाम, पारो र समुद्री खानेकुरालाई लक्षित गरेको छ ।
प्रतिबन्धबाट बैंक र विदेशी कम्पनीसँगको संयुक्त भेन्चर जस्ता आमदानीका स्रोतलाई पनि लक्ष्य बनाएको छ ।
प्रतिबन्धका कारण उत्तर कोरियाको वार्षिक निर्यात आमदानी एक तिहाईले घट्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रस्ताव ‘ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको प्रतिक्रियामा लगाइएको सबभन्दा बलियो प्रतिबन्ध हो’, वक्तव्यमा लेखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले न्यु जर्सीमा छुट्टी मनाइरहेका छन् र उनले ट्वीट गर्दै आफ्नो समर्थन यसरी व्यक्त गरे, ‘संयुक्त राष्ट्रंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउन १५–० मत दियो । चीन र रुसले पनि हामीसँगै मत दिए । चर्को आर्थिक प्रभाव !’
ट्रम्प संयुक्त राष्ट्रसंघको प्रदर्शनबाट विगतमा असन्तुष्ट भएपनि चीन र रुसले अमेरिकासँग मिलेर उत्तर कोरियाको आमदानीको स्रोतलाई निन्दा गर्ने र बन्द गराउने काममा लागेकोमा खुशी छन् । यही आमदानीबाट उत्तरले क्षेस्यास्त्र विस्तार कार्यक्रम चलाइरहेको हो ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads