Loading...
उत्तर कोरियाको अनौठो 'भूताहा' होटेल

काठमाडौं, २४ साउन — उत्तर कोरियाको राजधानी प्योङयाङमा पिरामिड आकारको चुच्चो गगनचुम्बी भवन छ । ३३० मिटर अग्लो यो भवनको आधिकारिक नाम होटेल रयुगयोङ हो ।

हुन त यहाँ १०५ वटा कोठा छन् तर तीमध्ये कुनै पनि कोठामा कोही पनि बस्दैन । शानदार देखिने यो होटेल कैयौं वर्षदेखि खुल्ने प्रतीक्षामा रहेको छ । मानिसहरूले यसलाई बिल्डिङ १०५ नाम दिएका छन् ।
होटेललाई उत्साहपूर्वक बनाइएको थियो । संसारको सबभन्दा ठूलो होटेल बनाउने लक्ष्य थियो र अहिले यो संसारको सबभन्दा अग्लो सूनसान भवन बन्न पुगेको छ ।
यो भवन समयमै पूरा गरिएको भए संसारको सातौं अग्लो भवन हुन्थ्यो । तर यसो हुन सकेन ।
यसको निर्माण कार्य सन् १९८७ मा शुरु भएको थियो । उत्तर कोरियाली सरकारले यो होटेलबाट पश्चिमी लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने ठानेको थियो । यसमा जापानी खानेकुरा र मनोरञ्जनका लागि नाइटक्लब राख्ने योजना थियो ।
दुई वर्षमा बनिसक्ने भनिएको होटेल कहिल्यै पूरा भएन । कहिले बनाउने तरिकामा समस्या आयो भने कहिले निर्माण सामग्री नै भेटिएन ।
सन् १९९२ मा यसको निर्माण पूरै रोकियो किनकि रुसले लगाएको नाकाबन्दीका कारण देश आर्थिक संकटमा डुबेको थियो ।
जापानी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले होटेल बनाउनका लागि लगभग ७५ अर्ब रुपैयाँ खर्च गरेको थियो । यो रकम उत्तरको जीडीपीको दुई प्रतिशत थियो ।
एक दशकभन्दा बढी समयसम्म यो भवन खाली नै रह्यो । यसको छतमा खियाले खाएको क्रेन देखिन्थ्यो जसले देशको असफतालाई झल्काउँथ्यो ।
केही विश्लेषकहरूका अनुसार यो खाली भवन उत्तर कोरियाका लागि लज्जाको विषय बन्यो । केही अखबारले यसलाई बनाउँदा दोस्रो दर्जाको निर्माण सामग्री प्रयोग गरेको भनी लेखेका थिए । निर्माण सामग्रीदेखि लिएर सुरक्षाको बन्दोबस्तसम्मका विषयमा आलोचना भयो ।
निर्माण शुरु भएको ३० वर्षपछि अहिले यो होटेलको कथामा ट्विस्ट आएको छ । यो होटेल निर्माण पूरा गर्ने कामलाई किम जोङ–उनले प्राथमिकतामा राखेका छन् ।
यसलाई पूरा गरेपछि पाहुनाको स्वागत गर्न उत्तर कोरिया आतूर छ ।
बीबीसी हिन्दीबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads