Loading...
एमाले र माओवादी दुवैका लागि प्रतिष्ठाको विषय भरतपुर

Click to Load Image


एमाले र माओवादी दुवैका लागि प्रतिष्ठाको विषय बन्यो भरतपुर 
चितवन– स्थानीय तहको पहिलो चरणमै बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको लफडाले रोकिएको भरतपुर महानगरपालिकामा कसले बाजी मार्ला सबैको चासोको विषय भएको छ । 

भरतपुर महानगर वडा नम्बर १९ को मतगणना भइरहँदा जेठ १४ गते राती मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भएको विवाद अन्ततः सर्वोच्च अदालतबाट फैसला भएपछि शुक्रबार सो वडामा पुनः मतदान हुँदैछ । पुनःमतदान हुन अब केही घण्टा मात्रै बाँकी रहेको छ । 

दोस्रो चरणमा भएको असार १४ गतेको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलेसमेत स्थानीय तहको पदभार सम्हालिसक्दा भरतपुर महानगरपालिकाले जनप्रतिनिधि अझै पाएको छैन । दुई महिना भन्दा बढी समयको अन्यौलतापछि मेयरका नेपाली कांग्रेस र माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवाली केही दिनअघिसम्म काठमाडौंमा थिए । अन्ततः सर्वोच्चको फैसलापछि पुनः मतदानका लागि दुवै उम्मेदवार अहिले भरतपुरमा वडा नम्बर १९ का मतदाताका बीचमा छन् । 

देवी र रेणुको मतान्तर 
३ हजार ७ सय ९७ जना मतदाता रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा बैशाख ३१ गतेको निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । जसमध्ये एक हजार ८ सय नौ मत गणना गरिसकिएको थियो । बाँकी मतगणना गर्ने क्रममा जेठ १४ गते मध्यराति उम्मेदवारका प्रतिनिधिबाट नै मतपत्र च्यात्ने काम भयो । जतिबेला एमालेका उम्मेदवार देवी माओवादी केन्द्रकी उम्मेदवार रेणु भन्दा मात्र ७ सय ३३ मतले अगाडि थिए । 

वडा नम्बर १९ को मत नै दुवै उम्मेदवारका लागि निर्णायक थियो । कांग्रेससँगको गठबन्धनमा मेयरकी उम्मेदवार रहेकी रेणुलाई सो वडाबाट राम्रो मत आउने अड्कल काटिएको थियो । तर सोँचेजस्तो मत रणुलाई आएन । जसका कारण देवीले जित्ने निश्चित जस्तै भएको थियो । 
दुवैका लागि प्रतिष्ठाको विषय 
पुनःमतदान हुने भएपछि परिस्थिति फेरिने भएकाले पनि एमालेले अन्तिम समयसम्म विरोध गरिरह्यो । निर्वाचन आयोगले गरेको पुनःमतदानको निर्णय रोक्न एमाले सर्वोच्चसम्म नै पुग्यो । सर्वोच्चले पनि पुनःमतदानकै फैसला सुनाएपछि विरोधका बाबजुद पनि एमाले पुनःचुनावमा होमिएको छ । 

पुनःमतदान हुनै नहुने अड्डी कसेको एमाले र पुनःमतदानको पक्षमा रहेको माओवादी केन्द्र दुवैका लागि भरतपुरको नतिजा प्रतिष्ठाको विषय भएको छ । 
 
मतदानको तयारी पुरा 
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा शुक्रबार हुने मतदानको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । सो वडामा हुने निर्वाचनका लागि आवश्यक सम्पुर्ण सामाग्रीको ढुवानी मतदानस्थल निर्माण कार्य सबै सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि ३६ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि ६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।  

बैशाख ३१ गते भएको निर्वाचनमा भरतपुर महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । वडा नम्बर १९ बाहेक वडा नम्बर २० को ३ हजार ३०२ मत पनि गणना गर्न बाँकी नै छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads