Loading...
किन जम्मा भए ‘विप्लव’सहितका शीर्ष नेता भरतपुरमा ?

भरतपुर, २३ साउन । राष्ट्रियताको विषयमा चर्को वकालत गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू सोमबार चितवनको भरतपुरमा भेला भएका छन् ।
भेलामा महासचिव ‘विप्लव’ सहितका सबै शीर्ष नेताहरू भरतपुरमा जम्मा भएको उच्च स्रोतले जनाएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकको रणनीति र भावी योजनाका विषयमा जानकारी दिन केन्द्रीयस्तरको प्रशिक्षण कार्यक्रम राखिएको हो ।’
प्रशिक्षणमा महासचिव ‘विप्लव’ र शीर्ष नेताहरूले दुई दिनसम्म भावी रणनीतिका विषयमा प्रशिक्षण दिने छन् । प्रशिक्षण भरतपुरको एक पार्टी प्यालेसमा सोमबार र मंगलबार दुई दिन हुनेछ ।
हालसम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाका बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । अत्यन्तै गोप्य राखिएको सो प्रशिक्षणका लागि सोमबार बिहानसम्म सबै नेताहरू भरतपुरमा जम्मा भएका छन् ।
राष्ट्रियताको नाराले एमालेलाई फाइदा
राष्ट्रियताका पक्षमा आवाज उठाउँदै आएको नेकपाले आफूहरूले उठाउँदै आएको राष्ट्रियताको नाराले एमालेलाई फाइदा पुगेको निष्कर्ष निकालेको छ । हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा महसचिव ‘विप्लव’ले आफूहरूले उठाएको नाराले एमालेलाई स्थानीय तहको निर्वाचनमा फाइदा पुगेको धारणा सुनाएको उच्च स्रोतको भनाइ छ ।
तेस्रो चरणको निर्वाचन बिथोल्ने
‘नेकपा’ले २ नं. प्रदेशमा असोज ३ गते हुन लागेको तेस्रो चरणको निर्वाचनलाई बिथोल्ने रणनीति बनाएको छ । निर्वाचन बिथोल्नका लागि ‘नेकपा’ विशेष टोली परिचालन गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
तीन महिने अभियान चलाउने
‘नेकपा’ले संगठन सुदृढीकरण र जनजागरण्का लागि तीन महिने अभियान चलाउने निर्णय गरेको छ । यो तीन महिनामा भातृसंगठनहरूको अधिवेशन गर्ने, प्रशिक्षण, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने स्रोतको भनाइ छ ।
पूर्वी र पश्चिम कमाण्ड
‘नेकपा’ले आफ्नो सांगठनिक संरचनामा हेरफेर गरेको छ । ‘नेकपा’ एक उच्च नेताका अनुसार नारायणी पूर्व र नारायणी पश्चिमलाई दुई भागमा विभाजन गरेर संगठन बनाइएको छ । पूर्वी कमाण्ड हेमन्त प्रकाश ओली र पश्चिम कमाण्ड सन्तोष बुढाले सम्हाल्ने छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads