Loading...
जनप्रतिनिधिज्यूको दिमागको मोल

लेखक : अजयमिलन श्रेष्ठ

नेताजीको दिमागको बारेमा एउटा घतलाग्दो उदाहरण सुनेको थिएँ – साम, दाम, दण्ड, भेदको सफलतम प्रयोगले चुनावी परिणाम आफ्नो पक्षमा पारेका एक जना नेता महोदय केही समयका लागि ओझेल परेछन् । चुनावी माहोल र ताजा परिणामकै वातावरण सेलाउन नपाउँदै ती नवनिर्वाचित जनप्रतिनिधि महोदयको अभाव मतदाता र कार्यकर्ताहरुको निम्ति चिन्ता र चासोको विषय समेत बनेछ, व्यापक खोज तलासले उनी मगजको उपचारार्थ हस्पिटलमा रहेको कुरा पत्ता लागेछ । संयोगवश त्यही दिनको एउटा स्थानीय वृहत आमसभालाई ती नेता महोदयले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेछ । त्यहाँ पुगेर कार्यकर्ताजनले सो कुराको जानकारी गराएपछि नेताजी कार्यकर्ताकै साथमा तत्कालै फर्कन तयार भएछन् तर उनको मगजको पुरै गिदी झिकेर परीक्षणका लागि प्रयोगशालामा राखिएको रहेछ । खाली दिमागमै फर्कन लागेका नेता महोदयलाई उनको उपचारमा संलग्न वरिष्ठ चिकित्सकले उक्त कुराको स्मरण गराउँदै भनेछन्– “त्यहाँ गएर तपाइँ रित्तो मस्तिष्कले कसरी भाषण गर्नुहुन्छ ? बरु यथाशीघ्र तपाइँको मगजमा गिदी राखिदिन्छु र जानुहोला ।” तर नेताजीले भने आफूलाई तत्कालै मगजको त्यति धेरै आवश्यकता नरहेको प्रतिक्रिया दिँदै भनेछन्– “मलाई अहिल्यै दिमागको खाँचो छैन, किनकि मैले चुनाव जितिसकें, अबको पाँच वर्षसम्म मेरा निम्ति ब्रेनको त्यति धेरै जरुरत पर्दैैैन ।”
नेताजीकै दिमागको विषयमा अर्को एक रोचक प्रसङ्ग पनि छ – एउटा दैनिक पत्रिकामा बुद्धिमानी मानिसको बहुमूल्य मस्तिष्क आवश्यकता परेको विज्ञापन रहेछ । आर्थिक अभावमा पिल्सिएका इन्जिनियर, डाक्टर, पाइटल हुँदै दार्शनिक एवम् बैज्ञानिकहरुसम्मका लागि यो एउटा स्वर्णीम अवसर पनि थियो । विज्ञापनमा दिइएको सम्पर्क नम्बरमा आआफ्नो दिमागको मूल्यसहित छलफल र मोलतोल हुने कार्य समेत भइरहेको थियो । यी दिग्गजहरुले आफ्नो ब्रेनको मूल्य १० देखि ५० लाखसम्म तोकेका थिए । यसैबीच नेताजीको मगज, जुन परीक्षणका क्रममा अस्पतालमै राखिएको थियो, ५ वर्षका लागि उनलाई त्यति जरुरी पनि थिएन, त्यो गिदीको विषयमा पनि कुराकानी भएछ । मोलमोलाइको जिम्मेवारी लिएका नेताजीका प्रिय कार्यकर्ताले आफ्नो नेताजीको दिमागको मूल्य १ करोड भएको बताएपछि क्रेतापक्षले डाक्टरदेखि दार्शनिकहुँदै वैज्ञानिकसम्मका व्यक्तित्वहरुको मगजको मूल्य १० देखि ५० लाखसम्म मात्रै भएकोले उक्त मूल्य महँगो भएको तर्क पेश गरेछन् । आफ्नो नेताजीको गिदीको अवमूल्यन गरिन लागिएकोमा झोक पोख्दै सन्काहा प्रवृत्तिका ती कार्यकर्ताले झर्कँदै भनेछन् – “एक करोडभन्दा बढी खर्च गरेर चुनाव जितेको दिमाग हो नेताजीको, अनि पाइन्छ करोडभन्दा घटीमा ? किन्नुहोस् वा नकिन्नुहोस् तर करोडभन्दा त सुको कममा हुन्न जा !” यसपछि क्रेतापक्षको बैठक बसेछ । वास्तवमै यो मुलुकमा इन्जिनियरको मस्तिष्कले धेरै निर्माण कार्य भइसकेको, डाक्टरको दिमागको प्रयोगले धेरै अप्रेसनहरु गरिसकिएका, पाइलटहरुको मगजले पनि धेरै उडानहरु भरिसेकेका, दार्शनिक र वैज्ञानिकहरुका खोपडी पनि बेलाबेलामा धेरथोर प्रयोग भइसकेकाले यी सबै सेकेण्डह्यान्डमा गनिने र अझैसम्म पूर्ण रुपले प्रयोग नै नभएको नेताको दिमागको फ्रेस गिदीलाई उचित मूल्य तिर्न हुने ठहरका साथ सोही मगज किन्ने निष्कर्षमा पुगेछन् ।
माथिका यी दुई दृष्टान्तबाट के कुरा प्रष्ट हुन्छ भने जुन जनप्रतिनिधिलाई आफ्नै दिमागको त्यति जरुरत पर्दैन, उनीहरु जनताप्रति के कति जिम्मेवार होलान् ? र, जहाँका जनप्रतिनिधिको दिमाग नै प्रयोगमा आउँदैन, समाजको रुपान्तरण कसरी सम्भव होला ? यी दुई प्रश्नहरु हाम्रासामु टड्कारो रहेका छन् । तर, पाठक वृन्द ! यी दुई दृष्टान्त केवल मिथक मात्र हुन् र हाम्रा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भने हरेक कुराको सोच विचारमा स्वविवेक प्रयोग गर्न र जनहितकारी कार्यमा भरपूर उपयोग गर्नका लागि दिमागको पूराकापूर प्रयोग हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
दुई दशकपछि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु जनताप्रतिको जवाफदेहितामा पूर्ण रुपमा सजग रहने अपेक्षा यतिखेर जनताको रहेको छ । यद्यपि हालको अवस्थामा राजनीतिप्रति वितृष्णा फैलिएको अवस्था छ, राजनीतिक दल, राजनीतिक नेता, कार्यकर्तादेखि मतदाताहरु अघाएका छन् । तथापि राजनीतिक दलको विकल्प भने छैन । किनकि राजनीतिलाई जति गाली गरे पनि समाज र राष्ट्रलाई राजनीतिले नै डो¥याएको हुन्छ । त्यसैले त जर्ज बर्नार्ड शाले भनेका थिए– “बरु राजनीति बदल, राजनीतिक संस्कारलाई परिवर्तन गर तर राजनीति सबैले गर ।” यस सन्दर्भलाई यहाँ जोड्न चाहेको किन पनि भने गत निर्वाचनमा अधिकांश जनप्रतिनिधिहरु राजनीतिक दल मार्फत् निर्वाचित भएका छन्, उनीहरुको काँधमा यही जिम्मेवारी आएको छ, जसबाट राजनीति र राजनीतिक दलप्रतिको अविश्वासको खाडललाई यथाशक्य पुर्न सक्नुपर्छ ।
जर्ज बर्नार्ड शाले यसो पनि भनेका थिए – “जब असल मान्छेहरु अगाडि आउँदैनन्, खराब मान्छेले शासन गर्ने मौका पाउँछन्, असल मान्छे शासित हुन्छन् ।” यहाँ उल्लेख गर्न चाहेको विषय हालका जनप्रतिनिधिहरु असक्षम वा खराब छन् भन्न चाहेको भने किमार्थ होइन, बरु प्रजातान्त्रिक पद्धतिमा मतदाताहरुले पनि आफ्नो सजगतालाई आफूले चुनेका प्रतिनिधिहरुको कार्यशैलीसँग जोडेर महत्वपूर्ण भूमिकादेखि पन्छिन हुँदैन भन्न खोजिएको हो । संसारको इतिहासमा निरंकुश तानाशाह जन्मनुका पछाडि जनताको सचेतनाको कमी नै प्रमुख कारण देखिन्छ । नेपालकै सन्दर्भमा पनि राणाकालमा जनचेतना कमी थियो, विकासै भएन । पञ्चायतले जनताको चेतनाद्वार खोल्दै खोलेन, तसर्थ अपेक्षित विकास भएन । तर आज प्रजातन्त्रले नागरिकको चेतना खोलिदिएकाले नै विकासका ढोका पनि खुलेका छन् र विकासको यही निरन्तरताको कार्यमा जनताले जनप्रतिनिधिहरुसँग होस्टेमा हैंसे गर्नुपर्छ भन्ने मेरो आग्रह र आशय हो ।
प्रजातान्त्रिक हुँदै गणतान्त्रिक नेपालसम्म आइपुग्दा र राजनीतिक दल नै राज्य सञ्चालनका केन्द्रबिन्दुमा रहँदा पनि यो मुलुकमा कर्मचारीतन्त्र हावी रहेको यथार्थलाई छिपाउन मिल्दैन । स्थानीय तह, जनप्रतिनिधि र जनतालाई नै अधिकार हस्तान्तरण गरिएको वर्तमान अवस्थामा समेत कर्मचारीवर्गकै हालिमुहाली भएको तीतो अनुभव गरिरहनु परेको छ । यसको मतलब कर्मचारीप्रति दोषारोपण वा आग्रह, पूर्वाग्रह, दुराग्रह पनि होइन, किनकि जनताप्रतिको जवाफदेही जनप्रतिनिधि नै हुने वातावरण तयार हुन आवश्यक छ भन्न खोजिएको हो । भ्रष्टाचार मौलाइरहेको, थुप्रै योजनाहरु अधुरै रहने गरेका र विनियोजित रकम समेत फ्रिज भएर जाने गरेका विडम्बनाहरुलाई मात्रै हटाउन सकियो भने पनि जनविश्वासको मापन अङ्क बढोत्तरी हुने निश्चितै छ ।
महानगरका नवनिर्वाचित मेयरसाहेबले साइरनवाला गाडी चढेर सरसफाई अभियानका लागि नगरको एउटा टोलमा पुग्दा त्यहाँका बासिन्दाले झाडु उपहार दिएर पठाएको घटना त्यति पुरानो भएको छैन, तसर्थ जनताको यो चेतनास्तरले पक्कै पनि जनप्रतिनिधिहरुलाई गतिलै दवाव सिर्जना गर्ने नै छ । यहाँका केही जनप्रतिनिधिहरुले पनि आफूले गरेका सामान्य कामलाई समेत फोटोसहित सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेका छन् । गरिएका कामको प्रचार वा विज्ञापन गर्नै हुँदैन भन्ने होइन कि, काममा तल्लीन रहँदा जुन काम गर्न खोजिएको हो, अनुहार र नजर त्यसैमा हुन्छ (क्यामराको लेन्समा हुँदैन) भन्ने कुरासम्मलाई हेक्का राख्न सकेको खण्डमा धेरै राम्रो हुने थियो । हाम्रो समाजमा कामको लागि मात्र नभई नामको लागि काम गर्ने परिपाटीले प्रश्रय पाइरहेको छ । यसलाई चिर्दै जनप्रतिनिधिहरुले नामको लागि नभई कामका लागि काम गर्ने परम्परा थालनी गर्न जरुरी छ ।
यस दैनिक पत्रिकाको २६८ औं अङ्कमा जनप्रतिनिधिको जिम्मेदारी शीर्षक अन्तर्गत एक बुँदामा नयाँ कार्यको थालनी गर्नु जनप्रतिनिधिको महत्वपूर्ण पक्ष रहेकोमा जोड दिएको थिएँ । नेपालीहरुको नयनमा नयाँ नेपाल निर्माणको नवोदित नक्सा रहेकोले उक्त अपेक्षालाई पूरा गर्न नयाँ जनप्रतिनिधिहरुमा नयाँ सोच र नयाँ विचार हुनु जरुरी छ । केवल बैठक, भत्ता, सिफारिस, तोक, हस्ताक्षरमै सीमित रहेर होइन कि विवेकलाई नयाँ प्रयोगका साथ नयाँ परिवर्तनमा ढाल्नु आवश्यक छ । नयाँ सोच र नयाँ दृष्टिकोणका साथ काम गर्दै जनप्रतिनिधिहरुले नयाँ शैली र तरिका अपनाउन आवश्यक छ । नयाँनयाँ कार्ययोजना निर्माण, त्यसका लागि नयाँ अवधारणाका साथ सम्बन्धित विषयका विज्ञहरुबाट सुझाव सल्लाह लिने र आफ्नो योजनालाई दृढताका साथ कार्यान्वयन गर्ने दिशामा जनप्रतिनिधि अगाडि बढ्न जरुरी छ । राम्रा काम गर्नका लागि डराउन वा हच्कन पर्दैन, जनताको हात र साथ यतिखेर तपाइँसँग छ र मस्तिष्कको समुचित प्रयोग अनि विवेकपूर्ण कार्यद्वारा मतदाताहरुको मन जित्नु आवश्यक छ । जनताले जुन अपेक्षाका साथ मतदान गरेका हुन्, त्यसका लागि प्रयत्नशील रहन सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक शुभकामना छ ।
नयाँ सोच विचार एवम् परिकल्पनामार्फत् नयाँ कामको थालनी गर्दै विश्वास र प्रतिबद्धताका साथ अगाडि बढेमा जनताले जनप्रतिनिधिज्यूको दिमागको मोल निर्धारण गर्नेछन्, जसका लागि ब्रेन हस्पिटलको प्रयोगशाला आवश्यक पर्नेछैन । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads