Loading...
संयुक्त वक्तव्य : बुँदासंख्यालाई आधार मान्दा देउवाले प्रचण्डलाई उछिने



पोहोर साल भदौको अन्त्यमा प्रचण्डको स्वागत, वार्तापछि दिल्लीमा प्रकाशित भएको ‘संयुक्त वक्तत्व’ मा २५ वटा बुँदा मात्र भएकोमा यसपल्ट देउवाको यात्राबारे जारी गरिएको उस्तै वक्तव्यमा ४६ बुँदा परेका छन् । भनौं, बुँदासंख्यालाई आधार मान्दा देउवाले प्रचण्डलाई उछिनेका छन् ।
अन्तर्वस्तुको हिसाबले सविस्तार गर्नसकिने आकलनको लागि केही समय लाग्छ, तर तात्तातो मूल्याङ्कन गर्न खोज्नेले बुँदागत आधारमा हेर्दा प्रचण्डले जस्तै देउवाले पनि मुलुकको लागि खास उपलब्धि गर्न सकेको देखिँदैन । निजी लाभ गरे, भएको भए सरोकारवालाहरूले जान्ने कुरा भयो ।
संविधान संशोधनजस्तो नेपालको घरेलु मामिलालाई दिल्लीमा सुनाएर देउवाले यसपालि कमाएको अवगाल पोहोर प्रचण्डले बेहोर्नु परेको थिएन । यता, पोहोर प्रचण्डले परराष्ट्र मामिलामा भारतसित ‘निकट सामञ्जस्य’ मा रहेर मात्र नेपालले राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुनुपर्नेजस्तो शब्दावलीको प्रस्ताव स्वीकार गर्दा निम्त्याएको अपजश यसपल्ट देउवाले खेप्नुपरेको छैन । अर्थात् पोहोरको बुँदा नम्बर ११मा परेको पदावली यसवर्षको बुँदा नम्बर ४१ मा भेटिँदैन । हो, राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यमा भारतको उम्मेदवारी पर्दा नेपालले समर्थन गर्ने बाचामा भने प्रचण्डझैं देउवा पनि अहिले नै वचनबध्द भएका छन् । नेपाली उखान चरितार्थ गरेका छन् : नानी पाउनु कैले कैले थाङ्ना गाँस्नु अहिले !
 यसपालिको संयुक्त वक्तव्यमा बीच-बीचमा उपशीर्षकहरू राखिएका छन् जुन पहिलेकोमा थिएनन् । यसपल्ट ११ र १२ नंबर बुँदालाई मात्र समेट्ने गरी प्रतिरक्षा र सुरक्षासम्बन्धी उपशीर्षक राखिएको रहेछ, उदाहरणमा आउने कुरो भयो । भ्रमणटोलीमा रक्षामन्त्री सामेल नरहेका बखतको यस उल्लेखले पर्यवेक्षकहरूको ध्यान तानिनु स्वाभाविक नै हो ।
 बुँदा नंबर १६ ले नयाँ कुरा भित्र्याएको छ जसले नेपालको राष्ट्रिय योजना आयोगले भारतको नीति आयोगबीच हरेक वर्ष ‘नीतिगत संवाद’ गर्नुपर्ने प्रावधान राखेको छ । यसले सहयोगको नयाँ आयाम थप्ने हो वा नेपालको लागि नयाँ दायित्व सिर्जना गर्ने हो, यसै भन्न गाह्रो छ । संयोग, देउवा दिल्ली ओर्लेकै दिन भारतको ‘इण्डियन एक्सप्रेस’ छापामा डा.स्वर्णिम वाग्लेको योजना विषयक लेख प्रकाशित भएको थियो । नेपालको योजना आयोगका उपाध्यक्षको अंग्रेजी लेख नेपालकै अंग्रेजी अखवारमा निस्केको भए शायद कसैले अनौठो मान्ने थिएन ।
 यसैपालिको बुँदा नंबर २१ र ३८ मा पशुपतिनाथ क्षेत्रका कुरा छन् । पशुपतिनाथको विषय त एउटै नंबरमा समेट्न सकिँदो हो, किन गरिएन मसौदाकारहरू नै जानुन् । एउटा बुँदामा धर्मशाला निर्माणमा भारतीय सहयोगको मामिला दोहो-याइएको छ भने अर्को (३८) मा पशुपतिक्षेत्र विकास कोष र भारतको पुरातत्व सर्वेक्षणसम्बन्धी निकाय ‘आर्कीयोलोजिकल सर्वे अफ् इण्डिया’का बीच हुने समझदारीपत्रको मसौदालाई अन्तिम रूप दिन दुबै देशका प्रधानमन्त्रीहरूले आ-आफ्ना कर्मचारीलाई निर्देशन दिएको जानकारी अभिलेख गरिएको छ ।

प्रस्तावित समझदारी अनुसार काम हुने हो भने त्यस कामको सिलसिलामा नेपाल आउने भारतीय पुरातत्वविद् र प्राविधिक कर्मचारीहरूले पशुपतिको मन्दिरको भित्रीभागमै पसेर पुन: निर्माण र जीर्णोध्दारका काम गर्न नखोज्लान् कसरी भन्ने ? देउवा र निजका टोलीसदस्यले यस पक्षको लेखाजोखा राम्ररी गरेका होलान्  त ?

संयुक्त वक्तव्यको सिरानतिरै नेपाल र भारतबीच दौत्यसम्बन्ध स्थापना भएको ७० औं वर्षमा देउवाको भ्रमण भएको चर्चा गरिएको छ जसलाई भने देउवा पक्षले उपलब्धिको श्रेणीमा राखे हुन्छ । किनभने नेपाल-भारतबीचको राजनीतिक सम्बन्ध स्वतन्त्र भारतको जन्म भएपछि विकसित भएको हो । यस यथार्थप्रति आँखा चिम्लेर  नेपाल-भारत सम्बन्ध   ‘युगौं पुरानो’  हो भन्ने थेगो समात्नेहरूलाई बुँदा नंबर ५ को उल्लेखले पठनीय पाठ्य-सामग्री दिएको छ । पढ्ने जाँगर चाहिँ सरोकारवालाहरूमा हुनुपर्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads