Loading...
एसएसपीद्वय धानुक र लोहनीले पाए काठमाडौंको जिम्मेवारी

काठमाडौं, ५ भदौ । रुपन्देही जिल्लामा रहँदा शान्ति सुरक्षा बहाल गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका एसएसपी रविन्द्रबहादुर धानुकलाई गृहमन्त्री जनार्दन शर्माले जिल्ला प्रहरी कार्यालय काठमडौं प्रमुखको जिम्मेवारी दिएका छन् ।
एसएसपी बढुवा सूचीमा सबैभन्दा पुछारमा रहेका एसएसपी धानुकलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । धानुकले जिम्मेवारी पाएसँग उनीभन्दा सिनियर र सक्षम एसएसपीहरूले असन्तुष्टि जनाएको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री शर्मासँग राम्रो ‘लिङ्क’ बनाएका धानुकलाई रुपन्देहीमा शान्ति सुरक्षा बनाउन नसकेको चर्जा लागेको थियो । काठमाडौंको प्रहरी प्रमुख बनाइनुमा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहयोग गरेको बताइन्छ ।
प्रहरीभित्र धानुकलाई विवादित प्रहरी अधिकृतका रुपमा चर्चा गरिने गरेको एक उच्च अधिकारीले बताए ।
छविलाल जोशीको डिआइजीमा बढुवा भएपछि खाली रहेको महानगरीय प्रहरी परिसर प्रमुखको पदमा कसलाई ल्याउने भन्नेबारे आइजी र गृहमन्त्रीबीच विवादका कारण लामो समयदेखि पदस्थापन हुन सकिरहेको थिएन ।
रुकुमको प्रहरी प्रमुख हुँदा एसएसपी धानुक र हालका गृहमन्त्री शर्मासँग नजिकिएका थिए । प्रधानमन्त्री र गृहमन्त्रीबीच धानुकलाई नै प्रमुख बनाएर पठाउने पक्कापक्की भइसकेको थियो ।
रुपन्देहीमा एमाले निकट युवा संघ नेपालका अध्यक्ष मनोज तिरावरीलाई गोली हानेर हत्या गरिएका सम्बन्धमा धानुकले राम्रोसँग अनुसन्धान नगरेको आरोप छ । एमालेले सो घटनाका विरुद्ध प्रदर्शन समेत गरेको थियो । तिनै विवादास्पद छविका एसएसपी धानुकलाई काठमाडौंमा प्रमुख बनाइएको छ ।
अपराध अनुसन्धानका लागि महत्वपूर्ण महानगरीय अपराध महाशाखामा दिवेश लोहनीको पदस्थापन भएको छ । लोहनी यसअघि सप्तरीका प्रहरी प्रमुख थिए ।
उनी प्रमुख हुँदा सप्तरीमा एमालेले गरेको कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुने क्रममा पाँच जनाको मृत्यु भएको थियो । घटनापछि त्यहाँ कार्यरत एसपी लोहनीलाई काठमाडौं फिर्ता बोलाइएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads