Loading...
म्याग्दीमा एक वर्षको अवधिमा राहदानीबाटै डेढ करोड राजश्व सङ्कलन

प्रताप बानियाँ/रुप्से दैनिक



पछिल्लो समय म्याग्दी जिल्लामा विदेशिने क्रम बढेसँगै एक वर्षको अवधिमा राहदानी दस्तुरबाट मात्रै करिब डेढ करोड राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा कुल एक करोड ४६ लाख ८० हजार सातसय रुपैयाँ राजश्व सङ्कलन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीको रेकर्डअनुसार राहदानी दस्तुरबाट मात्रै एक करोड ४३ लाख ४७ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी संस्था दर्ताबाट दुईलाख ३८ हजार ४५० रुपैयाँ, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार ५००, न्यायिक दस्तुर २६ हजार ५०० र परीक्षा शुल्कस्वरुप आठहजार ४०० रुपैयाँ सङ्कलन भएको छ । राहदानीबाहेक अन्य शीर्षकको रकम जिल्ला प्रशासन कार्यालयमार्फत र राहदानीबापतको नगद नेपाल बैङ्क लिमिटेडको शाखामा रहेको प्रशासनको कोर्ड हुँदै कोष तथा लेखा नियन्त्रकको कार्यालयको राजश्व खातामा जम्मा हुने व्यवस्था रहेको लेखापाल शर्माको भनाई छ ।
म्याग्दीमा नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी लिनेहरु धेरै हुँदा राजश्वको दरमा वृद्धि हुन गएको हो । रोजगारीका लागि विदेश जाने क्रमसँगै नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढ्न गएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको रेकर्डअनुसार पछिल्ला वर्षहरुमा नागरिकताको तुलनामा राहदानी लिने युवायुवतीको सङ्ख्या क्रमशः बढ्दै जान थालेको छ ।
गत आर्थिक वर्षमा कुल ४ हजार ५१ ओटा राहदानी सिफारिस भएकोमा द्रुत सेवातर्फ १ हजार ४५६ र सामान्यतर्फ २ हजार ५९५ ओटा रहेका छन् । यसैगरी राहदानी वितरणतर्फ १ हजार ९५५ ओटा राहदानी वितरण गरिएको कार्यालयको प्रशासन तथा मुद्दा शाखाले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीले कुल ५ हजार ६२४ ओटा राहदानी सिफारिस गरेको थियो । तीमध्ये सामान्य ३ हजार ६७३ र द्रुत सेवातर्फ १ हजार ९५१ ओटा राहदानी सिफारीस भएका थिएभने ३ हजार २३८ ओटा राहदानी वितरण गरिएको थियो । सामान्य राहदानीका लागि प्रति राहदानीवापत ५ हजार रुपैयाँ राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने हुन्छ भने द्रुत सेवाको राहदानी परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै वंशजको आधारमा गतवर्ष ५ हजार ६८ ओटा नागरिकता वितरण गरिएको छ भने एकवटा बैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष २०७२÷७३ मा वंशजको आधारमा ५ हजार १०८ र वैवाहिक अङ्गिकृत ४ ओटा नागरिकता वितरण गरिएको थियो ।
हातहतियार नवीकरणतर्फ ३४ ओटा भएका छन्भने २ ओटाको नामसारी गरिएको छ । संघसंस्था दर्तातर्फ २३, नवीकरण १८२, मुद्दा दर्ता २८, फस्र्यौट २३ र पत्रिका दर्ता एकवटा भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । गत वर्षमा सबैभन्दा धेरै राजश्व मङ्सिरमा १५ लाख ६३ हजार २५० र सबैभन्दा कम बैशाखमा सातलाख १६ हजार ८०० रुपैयाँ सङ्कलन भएको आर्थिक प्रशासन शाखाको रेकर्डमा उल्लेख गरिएको छ ।
एसएलसी र प्लस टु उत्तीर्णपछि नागरिकता बनाउने र राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए । बैदेशिक रोजगारप्रतिको आकर्षण, अवसरको खोजी, भाषा तथा सिप सिक्न विदेश जानेलगायतका कारणले गर्दा विदेशिने क्रम बढेको हुँदा राहदानी लिने र राजश्वमा समेत वृद्धि हुन गएको उनले बताएका छन् । नेपालमा रोजगारको अवसर नहुनु, आफन्तजन विदेशमा रहनु र अध्ययनका लागि पनि अधिकांश किशोरकिशोरीहरु र युवापुस्ताले राहदानी लिने गरेको उनको भनाई छ ।
कुन महिनामा कति राजश्व (आव ०७३÷७४)
महिना राजश्व
साउन १५,१६३५०।–
भदौ १०,६५४००।–
असोज ८,७६०००।–
कार्तिक १२,८०३५०।–
मङ्सिर १५,६३२५०।–
पुस १५,६११००।–
माघ १३,३२७५०।–
फागुन १०,१२२००।–
चैत १०,५७८५०।–
बैशाख ७,१६८००।–
जेठ १५,७०१५०।–
असार ११,२८५००।–
जम्मा १,४६,८०७००।–
स्रोतः जिल्ला प्रशासन कार्यालय, म्याग्दी आर्थिक प्रशासन शाखा ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads