Loading...
यस्तो बन्यो प्रदेश र संसद निर्वाचनको नमुना मत पत्र

काठमाडौं, १७ भदौ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको मतपत्रको नमुना तयार पारेको छ । नयाँ ढाँचाअनुसार दुई प्रकारका मतपत्र प्रयोग हुनेछन् । दुईथरी मतपत्रमध्ये एउटा मतपत्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हुनेछ । त्यसमा प्रदेश सभा र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै कोठा हुनेछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आयोगको प्रारम्भिक ढाँचाअनुसार प्रतिनिधिसभामा कुनै एक दलको उम्मेदवारलाई मतदान गर्ने मतदाताले प्रदेश सभाको अर्को दलको उम्मेदवारलाई मतदान गर्न सक्नेछ । अर्को मतपत्र समानुपातिकको हुनेछ । जसमा प्रदेश सभा र प्रतिनिधिसभाको एकैपटक मतदान गर्न सकिनेछ ।
मतदातामैत्री मतपत्र बनाउने
आयोगले मतपत्रलाई कसरी मतदातामैत्री बनाउन सकिन्छ भन्नेमा छलफल जारी राखेको छ । प्रदेश सभा सदस्यसम्बन्धी ऐन र प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन अहिलेसम्म संसद््बाट पारित हुन नसकेका कारण आयोगले मतपत्रको ढाँचा कस्तो बनाउने भन्ने निर्णय लिइनसकेको आयोग प्रवक्ता तथा सहसचिव नवराज ढकालले बताए । उनका अनुसार आयोग मतदातामैत्री मतपत्र बनाउने तयारीमा अघि बढेको छ ।
पूर्वप्रमुख आयुक्तसँग छलफल
निर्वाचन आयोगले मतपत्रको ढाँचाबारे शुक्रबार पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग छलफल गरेको थियो । उनीहरूले मतपत्र मतदातामैत्री बनाउन सुझाब दिएका थिए । प्रत्यक्षतर्फको मतपत्रमा एउटा लाइनमा प्रतिनिधिसभा र अर्को लाइनमा प्रदेश सभाको हुने गरी ढाँचा तयार गर्न सुझाब दिएका थिए ।
यस्तो हुनेछ मतपत्रको आकारप्रकार ?
मतपत्रको आकारप्रकारबारे आयोग प्रस्ट भइसकेको छैन । समानुपातिकतर्फको मतपत्रका विषयमा आयोग समस्यामा परेको छ । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि ९५ दल दर्ता भएका छन् । ती सबै दलले निर्वाचनमा भाग लिने भएकाले सबैलाई समेट्दा मतपत्र निकै ठूलो हुनेछ । समानुपातिकतर्फका उम्मेदवारको नामावलीको बन्दसूची माग गर्दा कति दलले भाग लिन्छन्, त्यसपछि मात्र मतपत्रमा कति निर्वाचन चिह्न राख्ने भन्ने टुंगो लाग्नेछ । आयोगले बन्दसूची माग गर्दा दलको संख्या घट्ने विश्वास गरेको छ ।
मतपत्रको रङबारे छलफल जारी
मतपत्रको रङ कस्तो राख्ने भन्नेमा आयोग टुंगोमा पुगिसकेको छैन । प्रत्यक्षतर्फको निर्वाचनका लागि एउटै पानामा प्रदेश सभा र प्रतिनिधिसभाको दुईवटा मतपत्र हुने भएपछि कसरी फरक रङ गर्ने भन्नेमा छलफल भइरहेको आयुक्त नरेन्द्र दाहालले बताए ।
आयोगको टोली प्रदेश नम्बर २ मा
निर्वाचन आयोगका आयुक्तसहितको टोली शनिबार प्रदेश नम्बर २ मा जाँदै छ । निर्वाचन तयारीको अनुगमनका लागि आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरप्रसाद शाह जाँदै छन् । उनीहरूसँगै आयोगका १८ कर्मचारी पनि जिल्ला अनुगमनमा जानेछन् । निर्वाचन आचारसंहिता उल्लंघनमा कडाइ गर्ने आयुक्त सुधीरकुमार शाहले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads