Loading...
मौन अवधि तोडे एक लाख जरिवाना र उम्मेदवारी रद्दसम्म


काठमाडौं–  तेस्रो चरणमा प्रदेश नम्बर २ असोज २ गते हुने निर्वाचनका लागि अबको केही घण्टापछि (राति १२ बजेपछि) निर्वाचनको मौन अवधि शुरु हुदैछ ।
मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मौनअवधिको उलंघन या मौनअवधि तोडेको भेटे सामान्यतया निर्वाचन आचारसंहिता उल्लङघन सम्बन्धि कारबाही गर्नेछ । आयोग प्रवक्ता नवराज ढकालले कसैले पनि मौनवधि विपरित काम गरे सुरुमा स्पष्टिकरण सोध्ने र एक लाखसम्म जरीवाना गरिने बताए । तर, हदै भएको खण्डमा भने आयोगलाई निर्वाचन कसुर सजाय ऐन आकर्षित गरेर कारवाहीसमेत गर्न सक्ने अधिकार रहेको छ ।

यो ऐन आकर्षित भए एक लाख जरिवाना, उम्मेदवारी रद्द या यस्तो उजुरी परे निर्वाचन जितेपछि पनि मान्यता नदिने अधिकार प्रयोग गर्न सक्नेछ । आयोगले मौनअवधिमा सभा–सम्मलेन र बाहिरी कार्यक्रम नगरे पनि सोसल मिडियाबाट उम्मेदवार वा पार्टीले गर्नसक्ने प्रचारप्रसारलाई ध्यानमा राखेर विशेष संयन्त्र परिचालन गरेको जनाएको छ । त्यसका लागि आयोगले छुट््टै ‘मिडिया मोनिटरिङ टोली’ गठन गरेको जनाएको छ । 

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा आचारसंहिताको पालना गर्न उक्त समयमा निषेधित गरेका काम कसैले गरे या भए कारवाहीबाट आयोग पछि नहट्ने चेतावनी दिएको छ । 
मौन अवधिमा गर्न नहुने काम
१.    निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, 
२.    मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका 
आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने ।
३.    एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।
४.    उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।
५.    उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads