Loading...
विद्यालयहरुका विविध कार्यक्रमहरु

माउण्ट एभरेष्ट आमाविमा भएको ब्याडमिन्टन प्रतियोगिताका बिजेता सूर्य तिवारी र उपबिजेता राजु बानियाँ । तस्बीर :अमृत बास्कुने
सन्दीप शर्मा
म्याग्दी जिल्लामा सञ्चालित विभिन्न विद्यालयहरुको विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । सदरमुकामस्थित सञ्चालित माउण्ट एभरेष्ट आवसीय माध्यमिक विद्यालयमा आयोजित बृहत खेलकुद प्रतियोगिताको समापनसहित बुधबार अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा भएको समापन कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने अभिभावक तथा विद्यार्थी एवं दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 
विद्यालयका प्रिन्सिपल राजु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सवोत्कृष्ट अभिभावक ठहरबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका विद्यार्थी सृष्टी पुन र कबिन पुनले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका मेघा रिजालले स्वागत गरेकी थिइन् । जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि बिक्रम रिजालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । 
कार्यक्रममा विद्यालयका अभिभावक तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईली, वडा सदस्यहरु हिमबहादुर भण्डारी, हिरा पुन र भीमकुमारी विकलाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयका पूर्व विद्यार्थी डा. विराट शर्मा, नर्स रविना जिसी, र ओस्कार पौडेललाइ पनि कार्यक्रमको अवसरमा उत्कृष्ट एवं पूर्व विद्यार्थीका रुपमा सम्मान गरिएको विद्यालयले जनाएको छ । 
त्यस्तै वर्ष २०७३ का उत्कृष्ट अभिभावकको रुपमा अमर बोगटीलाइ विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष राजु बानियाँ, विद्यालयका संस्थापक निर्देशक सुरत के.सी, प्रवन्ध निर्देशक सुनिता के.सीलगायतले मन्तव्य राखेका थिए । खेलकुद प्रतियोगितामा अभिभावकतर्फ पुरुष ब्याडमिन्टनमा प्रथम सूर्य तिवारी र द्वितीय राजु बानियाँलाई पुरस्कृत गरिएको थियो । 
पुरुष भलिबलतर्फ शेरबहादुरको समूह पहिलो र भूपू आर्मी क्याम्पसचोक दोस्रो भएका थिए । पञ्जा जुधाइमा पहिलो बिशाल खत्री, दोस्रो हिरा के.सी, तेस्रो राम केसी र रमेश विक, क्याप स्टिलिङ पुरुषमा हिरा केसी पहिलो, गोपाल कार्की दोस्रो र टेकबहादुर रसाईली तेस्रो भएका थिए । छेलो फ्याँक्ने प्रतियोगिता पुरुषतर्फ सुमन कुँबर पहिलो, शेरबहादुर सिर्पाली दोस्रो, रमेश सुनुवार तेस्रो र विशाल खत्रीले सान्त्वना स्थान हाँसिल गरेका थिए । महिलातर्फ नरमायाँ छन्त्याल पहिलो, पुष्पा थापा दोस्रो, शिव शाही तेस्रो र भूमिका किसानले सान्त्वना स्थान हासिल गरेका थिए ।
लठो तान्ने प्रतियोगितामा पुरुषतर्फ सूर्य तिवारीको समूह पहिलो र रबि कार्कीको समूहले दोस्रो स्थान हासिल गरेका थिए । महिलातर्फ लिला रोकाको समूह पहिलो र कल्पना खड्काको समूह दोस्रो, ‘हु इज टु हुम’तर्फ हिरा खत्री र सविना पुनको समूह पहिलो भएको थियो । पुरुष पोइन्ट टार्गेटमा बिशाल खत्री पहिलो, रामबहादुर खत्री दोस्रो र नबिन पूर्जाले तेस्रो स्थान हासिल गरेका थिए । म्युजिकल चियर महिलातर्फ टिका तिलिजा पहिलो कल्पना खड्का दोस्रो र जोनी थजालीले तेस्रो भएको विद्यालयको भनाई छ ।
१४औं वार्षिकोत्सव तथा अभिभावक दिवसः
यसैगरी म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटील गार्डेन एकेडेमीले बुधबार विविध कार्यक्रमसहित १४औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरिक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए । 
निमित्त जिल्ला शिक्षा अधिकारी दलबहादुर थापाले शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक संवेदनशिल बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँ र पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले शैक्षिक नतिजाको हिसाबले लिटील गार्डेन जिल्लामै अगाडि रहेको बताए । 
विद्यालयका प्रिन्सिपल खुमबहादुर केसीले विद्यालयको गतिविधिको बारेमा जानकारी गराउँदै २०७३ कौ एसईई परीक्षाको औसत नतिजामा लिटील गार्डेन जिल्लामा अगाडि रहेको बताए । सोही अवसरमा गत भदौ ३१ गतेदेखि विद्यालयमा सञ्चालित खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थीहरुले नृत्य र कलाकार सुर्य घतानेले गीत प्रस्तुत गरेका थिए । 
अभिभावक घनश्याम खड्का, विद्यार्थी सुदिप्ता पौडेल र अमिसा परियारको मन्तव्य, विद्यालयका प्रिन्सिपल केसीको अध्यक्षता, शिक्षक कमल रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षिका ईन्दिरा आचार्यले स्वागत गरेकी थिइन् । 
सकियो खेलकुद सप्ताहः
यसैबीच राष्ट्रिय माध्यमिक विद्यालय नेप्टेचौरको आयोजनामा बृहत खेलकुद सप्ताह बुधबार सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विद्यालयका विद्यार्थीहरुको बिचमा एथलेटिक्स, भलिबल, कबड्डी प्रतियोगिता एक कार्यक्रमबीच बुधबार सकिएको हो । 
जुनियर रेडक्रस सर्कल राष्ट्रिय माविको आयोजनामा जिल्लास्तरीय अन्तरमावि एकल नृत्य प्रतियोगिता सकिएको छ । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनीका रेजीना शेरपुञ्जा पहिलो, न्यु वेष्ट प्वाइन्ट आवासीय माविका ईच्छा राई द्वितीय, गलेश्वर मावि तोरीपानीका सञ्जु पुन तृतीय र दिपक मावि पात्लेखेतका गौरी घतानेले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताहरुले क्रमशः नगद तीनहजार पाँचसय, दुईहजार पाँचसय, एकहजार पाँचसय र एकहजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । 
नेपाल रेडक्रस सोसाइटी म्याग्दीका मन्त्री यामबहादुर चोखालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा बेनपा ९ का वडाध्यक्ष बेलबहादुर चोखाल, जुरेसका अध्यक्ष शर्मिला श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तारादेवी चोखाल, शिक्षक उपनायक विष्णु बानियाँले मन्तव्य राखेका थिएभने शिक्षक विजय चोखालले कार्यक्रम सञ्चालन गरेका थिए । सोही कार्यक्रममा वर्षको उत्कृष्ट सदनको पुरस्कार रातो सदनले प्राप्त गरेको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads