Loading...
टीकाको पूर्वसन्ध्यामा सात दुर्घटनाः सातको मृत्यु, दर्जन घाइते


काठमाडौं– बडादशैंको टीकाको पूर्वसन्ध्यामा छुट्टाछुट्टै सात ठाउँमा भएको सवारी दुर्घटनामा सात जना मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । 

बाग्लुङको बाग्लुङ नगरपालिका–१ मालढुङगामा पर्वतको लस्तीबाट बाग्लुङको बलेवातर्फ ब्लक लिएर जाँदै गरेको ग.१ त ४४७१ नम्बरको ट्याक्टरबाट खसेर विहीबार सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–७ लस्तीस्थित कालिगण्डकी ब्लक उद्योगमा काम गर्ने हुम्लाका राजु परियारको चप्पल खसेपछि चप्पल लिन झर्ने क्रममा सहचालक आफै खस्न जाँदा घाइते भएकोमा उपचारको लागि धवलागिरी अञ्चल अस्पताल बागलुङतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

यस्तै, रौतहटको राजपुर नगरपालिका–२ फतुवा गाउँस्थित सडकमा ना.१ ह ८४७१ नम्बरको टयाम्पो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही टेम्पोमा सवार पर्रोहा नगरपालिका–७ नरकटिया बस्ने ५७ वर्षीय गान्धी राउत कुर्मीको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यता, नवलपरासीको  कावासोती नगरपालिका–८ थकाली चोकमा युपी ३२ एफएन २७७१ भारतीय नम्बरप्लेटको ट्रकमा लु.८ प ८३३७ नम्बरको मोटरसाइकल बुधबार.ठोकिएर भएको दुर्घटनामा मोटरसाइकल चालक विनयी त्रिबेणी गाउँपालिका–२ बस्ने २३ वर्षीय हेमन्त पहराई मगर र मोटरसाइकलमा सवार कावासोती नगरपालिका–८ बस्ने २६ वर्षीय दिनेश थापा मगरको घटनास्थलमै मृत्यु भएको छ । 

साथै सोही मोटरसाइकलमा सवार विनयी त्रिबेणी गाउँपालिका–२ बस्ने २४ वर्षीय जयराम चापागाई घाइते भएकोले उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती पठाइएको छ ।

यसैगरी, दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीस्थित सडकमा भे.१ ख २२३३ नम्बरको मिनिबस बुधबार ब्रेक फेल भई दुर्घटना हुँदा बसमा सवार दैलेखको लयट्रीबिन्द्रासैनी बस्ने २६ वर्षीय अंगतबहादुर शाही र दुल्लु नगरपालिका–१० बस्ने २ जना गम्भीर घाइते भएपछि उपचारको लागि सुर्खेत हस्पिटल पठाएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा अंगतबहादुरको बाटोमै मृत्यु भएको छ । 

उता, कैलालीको चुरे गाउँपालिका–३ स्थित भासुको भिरबाट मोटरसाइकल खसेको खबर प्राप्त हुनासाथ खटिई गएको प्रहरीले खोजी गर्ने क्रममा से.४ प ६०६१ नम्बरको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय उमेश बोगतीलाई सड्कबाट करीव २ किमि तल भिरमा मृत अवस्थामा फेला पारेको छ । 

यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडक खण्डमा बा.८४ प ५८८९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्रकले बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकल चालक मिथिला नगरपालिका–२ विश्वकर्मा चोक बस्ने २३ वर्षीय शरदकुमार महतोको घटनास्थलमै मृत्यु भएको छ । साथै ज.१ ख २८८ नम्बरको ट्रकलाई समेत अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सप्तरीको सुरुङा नगरपालिका–५ कुशाहास्थित पुर्व–पश्चिम राजमार्गमा बा.४ ख ४४४१ नम्बरको बस र ना.४ ख १२०० नम्बरको ट्रक बिहीबार एकापसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार सुनसरीको चतरा–३ बस्ने  ३५ वर्षीय पिके गजमेर समेत १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारको लागि सप्तऋषि अस्पताल लहान र ७ जनालाई बिराटनगर न्युरो अस्पताल पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads