Loading...
अध्यक्ष केपी शर्मा ओली पनि मधेस उत्रिने

अध्यक्ष केपी शर्मा ओली
अध्यक्ष केपी शर्मा ओली
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रसहित सबै राजनीतिक दलका नेताहरु दुई नम्बर प्रदेशमै चुनावी कार्यक्रममा व्यस्त छन्। असोज २ मा हुने दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन शीर्षसहित धेरै जसो केन्द्रीय नेता घरदैलोमै पुगिरहेका पनि छन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार दुई नम्बर प्रदेश जाने भएका छन्। भदौ ३० गतेसम्म तराईमै बस्ने प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशका आठै जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायत शीर्ष नेताहरुले पनि चुनावी सभालाई सम्बोधन गर्ने छन्। प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री मंगलबार दुई नम्बर प्रदेश जाने र आगामी भदौं ३० गतेमात्रै काठमाडौं फर्किने कार्यक्रम छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु पनि दुई नम्बर प्रदेशमै चुनावी अभियानमा छन्। बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव इश्वर पोख्रेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्यहरु दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा व्यस्त छन्।
एमाले सचिव योगेश भट्टराईले पार्टीका सबै नेताहरु दुई नम्बर प्रदेशमै केन्द्रीत रहेको बताए। ‘महासचिवज्यूको कमाण्डमा दुई नम्बर प्रदेशमा शीर्ष नेताहरु चुनावी अभियानमा होमिनु भएको छ। अध्यक्ष केपी शर्मा ओली पनि मधेस आउनु हुन्छ,’ उनले भने। एमालेका शीर्ष नेताहरु मधेस झरेको साताभन्दा बढी भइसकेको भएपनि अध्यक्ष ओली अहिलेसम्म कुनै पनि कार्यक्रमका लागि दुई नम्बर प्रदेश गएका छैनन्।
यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता रामबहादुर थापा बादल लगायतका नेताहरु पनि दुई नम्बर प्रदेशमै व्यस्त छन्। प्रचण्ड एक सातादेखि नै तराईका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने र भोट माग्नमै व्यस्त छन्। राजपा नेपालका अध्यक्ष मण्डलका सबै सदस्यहरु दुई नम्बर प्रदेश पुगिसकेको महासचिव केशव झाले जानकारी दिए।
‘अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित सबै अध्यक्षमण्डलका सदस्यहरु चुनावी कार्यक्रमका लागि मधेस झरिसक्नु भएको छ,’ उनले भने। उनका अनुसार अध्यक्षमण्डलका सदस्यहरु सबै अहिले आफ्ना गृह जिल्लामा केन्द्रीत भएका छन्। गृह जिल्लाका चुनावी कार्यक्रमसँगसँगै अन्य जिल्लामा हुने कार्यक्रममा पनि सहभागी हुने झाले बताए।
यस्तै, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलका नेताहरु पनि दुई नम्बर प्रदेशकै निर्वाचनका कार्यक्रममा व्यस्त छन्। उनीहरु पार्टीले आयोजना गर्ने चुनावी सभा तथा भोट माग्ने अभियानमा सहभागी भइरहेका छन्।
सबै नेता जाँदा पनि किन झरेनन् ओली मधेस?
प्रमुख तीन दलसहित मधेस केन्द्रीत दलका सबै शीर्ष नेता असोज २ मा हुने स्थानीय तह निर्वाचनका लागि आफ्नो पक्षमा माहौल बनाउन केन्द्रीत भएका छन्। सबै जसो पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु मधेसका आठ जिल्लाका विभिन्न कार्यक्रममा दिनहुँ व्यस्त भइरहेको छन्। तर, एमाले अध्यक्ष ओली भने दुई नम्बर प्रदेश अझै झरेका छैनन्।
ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले ओलीको दुई नम्बर प्रदेश जाने टुंगो लागिनसकेको बताए। ‘दुई नम्बर प्रदेशका चुनावी कार्यक्रममा जानुहुन्छ। तर, अहिलेसम्म कुनै कार्यक्रमको टुंगो लागिसकेको छैन,’ स्वकीय सचिव बज्राचार्यले नेपालखबरसँग भने।
संविधान संशोधनको विपक्षमा उभिएको एमालेका लागि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन प्रतिष्ठाको लडाईको क्षेत्र बनेको छ। मधेसवादी दलहरुले एमाले र त्यसका अध्यक्ष ओलीलाई मधेसविरोध भएको आरोप लगाउँदै आएका छन्। एमाले अध्यक्ष ओलीले पटक पटक मधेसविरोधी अभिव्यक्ति दिएपछि उनीप्रति मधेसवादी दलहरुको दृष्टिकोण मधेसविरोध भन्ने नै छ।
कुनै पनि कार्यक्रममा भाषणा गर्दा अन्य दलको चर्को आलोचनामा उत्रिने ओली चुनावी सभालाई सम्बोधन गर्दा झनै तितो घोचपेच गर्ने गर्छन्। चुनावी सभामा ओली सहभागी हुँदा एमालेको विपक्षमा माहौल बन्न सक्ने भयका कारण पनि एमालेकै शीर्ष नेताहरुले अन्तिम समयमा मात्रै मधेस आउन र पार्टीका एजेन्डामा मात्रै केन्द्रीय रहेर अभिव्यक्ति दिन सुझाएका छन्।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads