Loading...
बैकल्पिक उर्जाले कालो सूचीका कम्पनीलाई दियो चार करोड, ९० करोडको हिसाव गोलमाल

काठमाडौं, २२ भदौ । नविकरणीय उर्जाको विकासका लागि काम गर्ने संस्था वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा बेरुजु र भ्रष्टाचारले सिमा नै नाघ्न थालेको छ ।
विभिन्न दातृ निकाय र नेपाल सरकारको आफ्नै आन्तरिक स्रोतबाट उर्जा क्षेत्रमा काम गर्दै आएको केन्द्रमा आर्थिक वर्ष २०६०/०६१ देखि २०७१/०७२ सम्म बेरुजु र लगती वेरुजु समेत गरी पाँच अर्व ११ करोड ६८ लाख २३ हजार पुगेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र लेखाका प्रमुख चन्द्रकिशोर चौधरीको मिलेमतोमा विभिन्न पार्टीलाई सहयोग गर्ने नाममा करोडौं रकम निकासा गर्ने र उक्त रकमबाट कमिसन असुलेर बेरुजु बढाई संस्थालाई नै धराशायी बनाउँदै आएका छन् । तीन वर्ष अघि कार्यकारी निर्देशक बनेका धितालले करिव चार अर्वको केन्द्रको खाता सञ्चालन गर्ने नविकरणीय उर्जा कोषको बैंकिङ कारोबारको सूचना समेत लुकाउँदै आएका छन् ।
कालो सूचीमा रहेका कम्पनीहरुलाई हर्जना तिराउनु पर्ने भनेर लेखा परिक्षणको प्रतिवेदनले सुझाव दिंदा पनि धितालको समूहले पाँचवटा कालो सूचीका कम्पनीलाई चार करोड भुक्तानी दिएर लाखौं कमिसन असुलेको स्रोतको दावी छ । केन्द्रको ९० करोड भन्दा बढिको खर्च त उनले कतै पनि नदेखाएको स्रोत बताउँछ ।
वेरुजु रकम फछ्र्यौटका लागि आवाज उठाउने कर्मचारीहरुलाई समेत धितालले अनेक वहानामा केन्द्रबाट हटाउन थालेका छन् । त्यसको ज्वलन्त उदाहरण हो, उपसचिव पुष्पप्रसाद गुरागाईं । २०७३ चैत २७ गते काजमा आएका गुरागाईंलाई धिताल र चौधरी मिलेर तीन महिनामै फिर्ता पठाउन सफल भएका छन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत महालेखा नियन्त्रक टंकमणी शर्मालाई फोन गर्न लगाई धितालले भन्सार विभागमा कार्ज फिर्ता पठाएको कर्मचारी स्रोतले बतायो ।
केन्द्रमा प्रवेश गरेकै दिनदेखि गुरागाईंले आर्थिक कारोबार, गोश्वार भौचर, खर्चको फाँटवारी र वेरुजुको लगत हेर्न खोज्दा भ्रष्टाचारको पर्दाफास हुने देखेपछि धिताल र चौधरी मिलेर सेटिङ मिलाई गुरागाईंलाई त्यहाँबाट हटाएको एक कर्मचारीले बताए । यतिसम्मकी लेखाका उपसचिव समेत रहेको गुरागाईंको नेम प्लेट ढोकामा राख्न दिइएको थिएन ।
गुरागाईंले धिताललाई फछ्र्यौंट गर्नुपर्ने वेरुजुको बारेमा रिपोर्ट दिंदा उल्टै पुरस्कार स्वरुप त्यहाँबाट हटाइदिएको कर्मचारीहरुसामु गुनासो गरेका छन् । केन्द्रलाई महालेखा परिक्षकको कार्यालयले समेत सबैभन्दा बढि बेरुजु रहेको संस्थाको रुपमा औंल्याएको छ ।
यति हुँदा पनि धितालमाथि कुनै कारबाही हुन सकेको छैन । महालेखाले लेखेको बेरुजु फछ्र्यौंट गर्न र कानुनी आधार खुलाएर केन्द्रका पदाधिकारी तथा कर्मचारीहरुलाई धितालले निर्देशन दिनु पर्नेमा उल्टै त्यस्ता आवाज उठाउने कर्मचारीहरुलाई छानि–छानि हटाएका कारण धितालको मनपरीले सिमा नै नाघ्न थालेको प्रष्ट हुन्छ ।
स्रोतका अनुसार धिताललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही उच्च अधिकारी, अर्थ र जनसंख्या तथा वातावरण मन्त्रालयका भ्रष्ट गिरोहले संरक्षण दिएका कारण उनलाई जे गर्न पनि छुट भएको छ ।
यस्तो छ बेरुजु
केन्द्रको बेरुजु रकममध्ये पेश्की १३ करोड ७५ लाख ७७ हजार र असुल उपर गर्नुपर्ने बेरुजु ४३ करोड ३८ लाख ९६ हजार देखिएको छ । आर्थिक वर्ष २०७२/०७३ को बेरुजु मध्ये नियमित गर्नुपर्ने १५ करोड ५६ लाख ६८ हजार र असुल गर्नु पर्ने आठ करोड ९७ लाख ८८ हजार देखिएको छ । त्यस्तै पेस्की वेरुजु १२ करोड ५० लाख ८७ हजार उल्लेख छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads