Loading...
कसरी छापिन्छ नयाँ नोट


काठमाडौं १ असोज– हिन्दु नेपालीहरुको प्रमुख चाड दशैं र तिहारको समयमा नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउँछ । दशैंको टिका लगाएर दक्षिणामा नयाँ नोट दिने गरिन्छ । त्यसैले नयाँ नोट साँट्नका लागि राष्ट्र बैंकले तोकेका सरकारी बैंकमा अहिले लामो भिड लागेको छ । 

हरेक वर्ष दशैंको समयमा नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणका लागि नयाँ नोट साट्ने बिशेष व्यवस्था समेत गरिदिएको हुन्छ । 

यो वर्ष पनि दशैं तिहारको मौकामा नेपाल राष्ट्र बैङ्कले पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा बितरण गर्न छुट्याएको छ । सर्वसाधारणले राष्ट्र बैंकको थापाथलीका शाखाका साथै सरकारी स्वामित्वका तीन बाणिज्य बैंकको १६ शाखा कार्यालय मार्फत नयाँ नोट साटिरहेका छन् ।

नोट साट्नका लागि यो बर्ष राष्ट्र बैंकले १० दिन समय छुट्याएको छ, गत साल भने ७ दिन मात्रै नोट साट्न पाइएको थियो । 

अघिल्लो बर्षमा काठमाडौंमा थापाथलीबाट तथा पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय कार्यालयबाट मात्र नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्ष काठमाडौंमा कृषि विकास बैंकको पाँच शाखा, नेपाल बैंकको पाँच शाखा र राष्ट्रिय वाणिज्य बैंकको ६ शाखा कार्यालयबाट प्रतिव्यक्ति २० हजार रुपैयाँको नयाँ नोट वितरण गर्न लागेको हो ।

पैसा छाप्नु अघि एक वर्षमा चलन चल्तिको निमित्त कति रुपैयाँ बराबरको नोट आवश्यक पर्छ भन्ने तय गर्नुपर्छ । देशको कुल गार्हस्थ उत्पादन, बजेटले व्यवस्था गरेको चालु खर्च र त्यस वर्ष आएको रेमिट्यान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ । 

कसरी छापिन्छ नयाँ नोट ?
नयाँ नोटबारे सर्बसाधारणको चासो हुँदाहुँदै पनि नयाँ नोट कहाँबाट आउँछ, कसरी छापिन्छ भन्नेबारे अनभिज्ञ जस्तै छन् । 

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अधिकारीहरुकाअनुसार कुनै पनि देशमा के उत्पादन हुन्छ ? रोजगारीको अवस्था कस्तो छ ? उत्पादन भएका वस्तु कति मात्रामा निर्यात हुन्छ ? सेवा र बस्तुको व्यापारबाट कतिको कमाई हुन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार तय हुन्छ । त्यही अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ । 

नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको सुरक्षा ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यीनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो त्यस बरावरको सम्पती हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ ।
यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय सोही देशको सरकार हो । बैंकको पनि बैंक मानिने अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रखेदेख गरिरहेको हुन्छ । 

कहाँ छापिन्छ नोट ?
विश्व बजारमा नोट छाप्ने प्रतिष्ठित कम्पनीहरु छन् । नोट छाप्नको लागि प्रेसको छनौट गर्दा त्यसको के–के योग्यता हेर्ने भन्ने नेपालका लागि राष्ट्र बैंकले तय गर्छ र टेण्डर आह्वान गर्छ । टेण्डर गर्ने कम्पनीहरुको प्राविधिक र आर्थिक पक्ष हेरिन्छ । 

प्राविधिक रुपमा उक्त कम्पनीले कति रकम बराबरको कस्ता नोट कस्ता सुरक्षा चिह्न राखेर छापेको छ भन्ने हेरिन्छ । सम्बन्धित कम्पनीले पनि त्यसको प्रमाण पेश गर्नुपर्छ । आर्थिक पक्ष अन्तर्गत कुन प्रेसले आफूलाई चाहिएको सबै सुविधा सहित कम लागतमा नोट प्रिन्ट गर्न सक्छ भन्ने कुरामा ध्यान दिइन्छ र मापदण्ड पुरा गर्न सक्ने प्रेसलाई नोट छाप्ने जिम्मा दिइन्छ । 

नक्कली नोट बजारमा आउन सक्ने खतरालाई मध्यनजर गर्दै प्रशस्त मात्रामा सुरक्षा चिन्ह (सेक्युरिटी फिचर) राखिएको हुन्छ । गणतन्त्र स्थापनापूर्व नोटको सेतो भागमा श्रीपेच राखिएको हुन्थ्यो, गणतन्त्र स्थापनापछि लालिगुराँस राखिएको हुन्छ । नोटमा रहेको सुरक्षा चिन्हमा मा ‘एनआरबी’ लेखिएको हुन्छ । 

यसका लागि राष्ट्र बैंकले मापदण्ड नै बनाएको हुन्छ । यस्ता सेक्युरिटी प्रेसलाई नियमनका लागि राष्ट्रिय अन्तरर्राष्ट्रिय रुपमा पनि विभिन्न नियम कानुन बनेका हुन्छन् ।जेनेभामा रहेको इन्टरनेशनल बैंक फर सेटलमेन्ट र अन्तरर्राष्ट्रिय मुद्रा कोषले आफ्ना सदस्य देशले समय समयमा दिएको तथ्याङ्कको आधारमा मुद्राको अनुमति दिने तथा नियमन गर्ने हुन्छ । 

डिजाइन र डिनोमिनेशन
नेपाल राष्ट्र बैंकले छाप्ने नोटको आकार तयार गरेपछि त्यसको ‘डिनोमिनेशन (कुन दरका नोट कति) छाप्ने तयार गरिन्छ । जुन डिनोमेशनको नोट बजारमा बढी चलनचल्तिमा छ त्यही नोट बढी मात्रामा छापिन्छ । मानौ २० दरको नोट बढी चल्तिमा छ भने त्यही नोट बढी मात्रामा छापिन्छ ।

सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै देवनागरिको अ १ बाट छाप्न सुरु भएको नोट अ १०० सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरी आ १ बाट अरु नोट छापिन्छ । यसरी आवश्यकताको आधारमा ज्ञ सम्म नम्बरिङ गरेर नोट छाप्न सकिन्छ ।

नोटमा कस्ता कस्ता चित्र राख्ने तय गर्नका लागि छाप्नुअघि नेपाल राष्ट्र बैंकका गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकारसँगै धार्मिक तथा सांस्कृतिक समुदाय रहेको नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तु विज्ञले कुन बन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्ने सुझाव दिन्छन् ।

सोही सुझावका आधारमा तय गरिएपछि राष्ट्र बैंकको बोर्ड, मन्त्रीपरिषद्बाट स्वीकृतिका लिइन्छ ।

कसको हस्ताक्षर ?

मुद्रामा हस्ताक्षर गर्ने व्यक्तिलाई निकै महत्वका साथ हेरिन्छ । कुनै पनि देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन् । गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । तर, सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाउँदैनन् भने कोहीले छोटो समयका लागि गभर्नर हुदाँ पनि सबै नोटमा हस्ताक्षर गरेका हुन्छन् ।

लोकान्तर 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads