Loading...
किन अलमलमा परे बाम गठबन्धन

Click to Load Image
काठमाडौं– क्षेत्र निर्धारण तथा सिट संख्या बाँडफाँड गर्न बनेको एमाले–माओवादी गठबन्धनको कार्यदलको बैठक समयमा बस्न नसक्दा कार्यदलमा सहमति जुटाउन ढिलाई भएको छ । 
गत असोज १९ गते गठन भएको कार्यदलले तीन दिनभित्र सिटसंख्या र क्षेत्र बाँडफाँड गर्ने भनिएपनि कार्यदलमा रहेका नेताहरुको व्यस्तताले १२ दिनमा जम्मा ६ पटक मात्र बैठक बसेको नेताहरुले बताएका छन् ।
‘दुवैतर्फका नेताहरुको व्यस्तताले गठबन्धनको बैठक भनेका बेलामा बस्न सकेको छैन, त्यसले गर्दा ढिलाई भएको हो । हिजोसम्म नेताहरु समानुपातिकको सुचि तयार गर्न व्यस्त बनेकाले पनि कार्यदलको बैठक केही प्रभावित भयो, अव सायद चाँडै बैठक बसेर टुङिगएला,’  कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।
 उनले सुरुमा माओवादीका तर्फबाट कार्यदलमा सदस्य रहेका मात्रिका यादव काठमाडौ बाहिर गएकाले पनि बैठक बस्न नपाएको बताए । ‘लगत्तै समानुपातिक सुचितर्फ व्यस्त हुनुपर्यो । अव आज बस्ने भनिएको छ तरपनि निश्चित छैन’ पाण्डेले रातोपाटीलाई बताए । उनले सहमति भएका जिल्ला र क्षेत्रको पनि माइन्युट नभएको बताए । 
अहिलेसम्म कार्यदलले केके गर्यो ? भन्ने प्रश्नमा पनि कार्यदल सदस्यहरुले यो यो काम भयो भनेर भन्न सकेका छैनन् । एक सदस्य भन्छन् ‘अहिलेसम्म १ नम्बर प्रदेशका ६ जिल्लामा बाहेक सहमति जुट्न सकेको छैन ।
श्रोतका अनुसार माओवादीले अन्य प्रदेशको तुलनामा २ र ५ मा बढि सिट र क्षेत्र मागेको छ । तर, माओवादीको मागअनुसार एमालेले दिने या नदिने भन्नेमा निर्णय लिन सकेको छैन । त्यसका लागि एमालेको स्थायी समिति बैठकले निर्णय गर्ने भनेर पटकपटक बैठक बोलाएपनि ठोस निर्णय गर्न नसकेको बताइएको छ ।    
यसअघि एमाले–माओवादी ६०–४० अनुसार सिट र क्षेत्र बाँड्ने सहमति गरेका दुई दलले पुर्वसहमति अनुसार नै सिट बाँडफाँड गर्ने भनेपनि कुन जिल्लामा कसलाई सुरक्षित गर्ने भन्नेमा भने एकमत छैन । 
तर, माओवादीका तर्फबाट कार्यदलमा रहेका मात्रिका यादवले कार्यदलभित्र कुनै मतभेद नरहेको बताए । उनले भने ‘ हामी काम गरिरहेका छौ, त्यस्तो बाहिर प्रचार गरेजस्तो विवाद पनि छैन । समय अझै कात्तिक ४ गतेसम्म छ त्यो भित्र काम सकिन्छ ।’ नेता यादवले पुर्व सहमति अनुसार नै कार्यदलले सिट र क्षेत्र बााडफाँड गर्ने पनि बताए । 
कार्यदल सदस्य पाण्डेले गठबन्धनभित्रको कार्यदलको व्यवस्थापन पक्ष भद्रगोल भएकाले पनि समस्या भएको बताए । 
उनले भने के गर्ने कसरी गर्ने भन्ने स्पष्ट कार्यदिशा नभएकाले पनि काम गर्न कठिनाइ भएको बताए । ‘आज बैठक बस्ने भनिएपनि कति बजे र कहाँ बस्ने भन्ने निश्चित भइसकेको छैन, धेरै सदस्यहरु हुँदा एउटाको समय मिले अर्काको नमिल्ने भएकाले पनि समस्या भएको छ', पाण्डेले बताए । उनले समानुपातिकको काम सकिएकाले अव भने त्यस्तो नहुने आशा व्यक्त गरे । उनले भने ‘सायद आजबाट कार्यदलले आफ्नो काममा गति लेला ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads