Loading...
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा

नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् । 
निर्वाचन आयोगले पहिलो चरणको चुनाव हुने ३२ जिल्लाको उम्मेदवारी दर्ताका आधारमा हेर्दा ती जिल्लाका केही निर्वाचन क्षेत्रमा मुलुकभरकै मतदातालाई आकर्षित गर्ने खालको प्रतिस्पर्धा हुने देखिएको हो । 
गोरखा क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धालाई आमरुपमा रोचक प्रतिस्पर्धाका रुपमा लिइएको छ । 
नेकपा माओवादी केन्द्र परित्याग गर्नुभएका डा भट्टराई पछिल्लोपटक नेकपा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा सहभागी हुनुभएको थियो । गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा टिकट नपाएपछि नेपाली कांग्रेससँग चुनावी तालमेल गर्नुभएका भट्टराई र वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ विगतमा एकै पार्टीका नेताका रुपमा हुनुहुन्थ्यो । 
उम्मेदवारी दर्ता गराएपछि दुवै नेताले आफैले नै निर्वाचनमा विजयी हुने दाबी गर्नुभएको छ । डा. भट्टराईले गोरखाको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताइरहँदा वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले गोरखाको जनमत सधैँ प्रगतिशील र परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित निश्चित रहेको बताउनुहुन्छ । 
दोस्रो संविधानसभाको चुनावमा गोरखा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका भट्टराई र मकवानपुर क्षेत्र नं २ बाट पराजित श्रेष्ठ यसपटक एकै निर्वाचन क्षेत्रकाट चुनाव लड्न लाग्नुभएको हो । 
यस्तै ओखलढुंगाका दुई युवा नेता रामहरि खतिवडा र यज्ञराज सुनुवार यसपटक आमनेसामने हुनुभएको छ । खतिवडा कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने सुनुवार वाम गठबन्धनको संयुक्त उम्मेदवारका रुपमा हुनुहुन्छ । 
उता सिन्धुपाल्चोक–२ मा पनि यस्तै रोचक प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनका संयुक्त उम्मेदरवार पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा विगतमा जस्तै यसपटक पनि आमनेसामने हुन लाग्नुभएको हो । 
राणा संविधानसभाको दोस्रो निर्वाचनमा तामाङसँग पराजित हुनुभएको हो । तर यसपटक तामाङ एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार हुनुहुन्छ भने राणा कांग्रेससँगको चुनावी तालमेलमा हुनुहुन्छ । 
यहि जिल्लाको क्षेत्र नं १ मा वर्तमान सरकारका प्रवक्तासमेत रहनुभएका मोहनबहादुर बस्नेत पनि चुनावी मैदानमा हुनुहुन्छ । 
यस्तै नुवाकोटमा पनि यसअघि दुईपटक सँगै चुनावी प्रतिस्पर्धा गरेका पूर्वअर्थमन्त्री डा रामशरण महत र हितबहादुर तामाङले तेस्रोपटकसँगै उम्मेदवारी दर्ता गराउनुभएको छ । नुवाकोट क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धामा डा महत काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने तामाङ वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । नुवाकोट क्षेत्र नं २ मा कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी र एमालेका तर्फबाट उम्मेदवार रहनुभएका नारायणप्रसाद खतिवडाको चुनावी प्रतिस्पर्धा पनि रोचकमध्येको एक हुने बताइन्छ । 
उता जाजरकोटमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कांग्रेसका नेता राजीवविक्रम शाह, लमजुङमा वाम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ र काँग्रेसका उम्मेदवार दीलबहादुर घर्ती, पश्चिम रुकुममा विनाविभागीय मन्त्री जनार्दन शर्मा र लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीबीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रतिनिधिसभा छाडेर प्रदेशसभामा 

संविधानअनुसार पहिलोपटक स्थापना हुन लागेको प्रदेश सभामा विगतमा दुई/तीन पटक मन्त्री भइसकेका र राजनीतिमा ठूलै हैसियत बनाएका नेतासमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् । 
एमाले नेता राजेन्द्र पाण्डे प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । धादिङ क्षेत्र नं १ (क) बाट उम्मेदवार बन्नुभएका पाण्डे २०४८ को प्रतिनिधिसभा र २०७० को दोस्रो संविधानसभाको सभासद्मा निर्वाचित हुनुभएको थियो । 
यहि क्षेत्रबाट विगतमा प्रतिस्पर्धी रहनुभएका पाण्डे र नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टल यसपटक प्रदेशसभामा उम्मेदवार हुनुहुन्छ । विसं २०६४ को संविधान सभामा निर्वाचित सभासद् जमरकट्टेल धादिङ क्षेत्र नं १ (ख) बाट उम्मेदवार हुनुहुन्छ । 
यस्तै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही पनि प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । कालीकोटबाट दोस्रो संविधान सभामा निर्वाचित शाही यसपटक कालीकोट (ख) बाट प्रदेश सभाको उम्मेदवार बन्नुभएको छ । 
पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राई भोजपुर (ख), पूर्वविद्यार्थी नेता राजेन्द्र राई भोजपुर क, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही हुम्ला ख, पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वीसुब्बा गुरुङ लम्जुङ ख बाट उम्मेदवार बन्नुभएको छ । पूर्वसभासद् नरेश भण्डारी जुम्ला ख, २०५१ को प्रतिनिधि सभामा निर्वाचित सांसद दीपकजंग शाह पनि यसपटक जाजरकोट ख बाट उम्मेदवार बन्नुभएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads