Loading...
गीत सुनेर आत्महत्या गरे भन्दा आत्मग्लानी हुन्छ: बगर

राजकुमार बगर, नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि उदाएको नाम । ०५५ देखि बगर निरन्तर लोक तथा आधुनिक संगीत क्षेत्रमा छन् । उनले लेखेका दर्जनौँ लोकदोहोरी तथा आधुनिक गीत श्रोता–दर्शकको जिब्रोमा कण्ठस्थ होलान् । पछिल्लो समय संगीतकारको परिचय पनि बनाएका बगरको एकल संगीतमा मात्रै १२ वटा एल्बम सार्वजनिक भइसकेका छन् । ०६९ देखि लगातार ६ पटक उनले उत्कृष्ट संगीतकारका रूपमा म्युजिक अवार्ड पनि जितेका छन् । बगरको सफलताको कथामा तिता–मीठा धेरै घटना जोडिएर आएका छन् । अाजको नयाँ पत्रिकामा कृष्ण कट्टेलसँग बगरले आफैँलाई उत्कृष्ट लाग्ने आफ्नै १० सिर्जना र सम्बन्धित प्रसंग सुनाएका छन् ।

१. उँडेर जून छुन्छु भन्थेँ
‘उडेर जून छुन्छु भन्थेँ’ मैले लेखेकामध्ये सबैभन्दा पहिले रेकर्ड भएको गीत हो । रेडियो नेपालको ०५५ को अधिराज्यव्यापी राष्ट्रिय गीत सम्मेलनमा शब्द र स्वरतर्फ यो गीत पहिलो भयो । ०५४ सालमा यो गीत लेखेको हुँ । स्नातक तहको परीक्षा दिन पोखरामा बसेको समयमा कोठाभित्र टोलाइरहँदा यो गीत फुरेको थियो । संगीतकार बिबी अनुरागी र म त्यतिवेला सँगै बस्थ्यौँ । मैले शब्द कोरेपछि कोठामै उहाँले गीतको धुन गुनगुनाउनुभयो । मैले कुन गीतको धुन गुनगुनाउनुभएको ? भनेर सोधेँ । उहाँले खुलाउनुभएन । यत्तिकै हो, कुनै पनि होइन, भन्नुभयो । पछि त्यो धुन यही गीतका लागि मेल खायो र रेकर्ड गर्ने निष्कर्षमा पुग्यौँ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनू, उँडी छुनु चन्द्र एक’ भन्ने कथनसँग प्रभावित भएर मैले यो गीत लेखेको हुँ । हरेक मानिसको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्न नसक्दा मान्छे रुन्छ । यो पीडा आममानिसको हो भन्ने सोचेर नै यो गीत तयार गरेको हो । संगीतकार बिबी अनुरागीको संगीतमा रामभक्त जोजिजुले स्वर भर्नुभयो । गीतले सबैतिर प्रशंसा बटुल्यो । मेरो सांगीतिक जीवनको ‘माइलस्टोन’ हो यो गीत । ०५५ को रेडियो नेपालको राष्ट्रिय गीत सम्मेलनमा यही गीत गाएर रामभक्त प्रथम हुनुभएको खबर बेलुकी ७ बजेको समाचारमा सुन्दा ममा खुसीको सीमा रहेन । मन ढक्क भयो, त्यसपछि ध्यानै खै कता हरायो । त्यसलगत्तै ‘शब्दतर्फ पनि राजकुमार बगर प्रथम’ भनेर रेडियोबाट सार्वजनिक भएछ, तर मेरो त ध्यानै पुगेन । अस्पष्ट भएँ । त्यसपछि ८ बजेको अंग्रेजी समाचार टेप रेकर्डरमा रेकर्ड गरेँ र रिप्ले गरेर सुनेँ । अझै स्पष्ट हुन बेलुका ९ बजेको समाचार सुनेँ । त्यतिखेर पनि मेरो नाम आएपछि भने ढुक्क भएँ । ०५६ मा रेकर्ड गरेर गीत सार्वजनिक गरियो ।
२. यता कुलो काट्दाखेरि
म ०५८ मा काठमाडौं आएँ । ‘उडेर जून छुन्छु भन्थेँ’कै कारण काठमाडौं भित्रिएको थिएँ । यसको श्रेय भने नारायण रायमाझी दाइलाई दिन्छु । उहाँले नै ‘तिमीजस्तो गीतकार गाउँमा बस्नुहुन्न, काठमाडौं आएर संघर्ष गर्नुपर्छ’ भनेर मलाई काठमाडौं ल्याउन भूमिका खेल्नुभयो । तनहुँस्थित आफ्नै गाउँमा शिक्षण पेसामा सक्रिय म जागिर छाडेर हिडेँ । त्यसपछि नारायण दाइकै रिमा रेकर्डिङ स्टुडियोमा काम गर्न थालेँ।
रिमा रेकर्डिङमा काम गर्ने क्रममै ‘यता कुलो काट्दाखेरि उताको खेत सुक्यो अरे’ रेकर्ड भयो, राजेश पायल राई दाइको स्वरमा । समूहमा सरसल्लाह गर्दा व्यक्तिअनुसार फरक–फरक मत आउँछ । त्यसपछि उत्कष्ट विचारलाई आत्मसात गर्दा अर्कोपक्ष असन्तुष्ट हुन्छ । यही परिवेशलाई सम्झेर पहिले नै यो गीत लेखेर राखेको थिएँ । तर, द्वन्द्वकालमा निस्किएको यो गीतलाई लिएर कतिपयले ममाथि शंका पनि गरेँ । ‘तँ माओवादी होस्’ पनि भने । विशुद्ध सामाजिक परिवेशलाई आधार बनाएर लेखेको यो गीत संयोगबस राजनीतिक संक्रमणसँग जोडेर हेर्न मिल्ने भएछ ।
३. आमा ! रातो सारी चुरा पोते किन नलाको
रिमा रेकर्डिङ स्टुडियोसँग आबद्ध भएपछि ०६० मा भोजराज काफ्लेजीसँग बढी घुलमिल हुने मौका मिल्यो । उहाँले यही स्टुडियोबाट विभिन्न एल्बम निकालिसक्नुभएको थियो । उहाँसँग सहकार्य गर्ने उद्देश्यले यो गीत लेखेँ । भोजराजजीको संगीत रहेको मेरो शब्दको ‘आमा ! रातो सारी चुरा पोते किन नलाको’ गीत निकै लोकप्रिय भयो । भोजराजजीकै छोरा दिनेशले यो गीत गाउनुभयो । उहाँ त्यसवेला सानो हुनुहुन्थ्यो । अहिले त दिनेशजी ठूलो भइसक्नुभयो । त्यसवेला यो गीत भोजराजजीले आफैँ गाउँ कि भन्दै हुनुहुन्थ्यो, तर मैले मानिनँ । किनभने, एउटा परिपक्व मानिसले आमाले रातो सारी, चुरा, पोते किन नलगाएको भन्ने त बुझिहाल्छ नि भन्ने ठानेर सानै उमेरको व्यक्तिले गाउनुपर्छ भन्ने मेरो अडान रह्यो ।
त्यतिवेला देशमा सरकार र तत्कालीन विद्रोही माओवादीबीच द्वन्द्व चर्किरहेको थियो । धेरै दिदीबहिनी विधवा भइसकेका थिए । धेरै बालबालिका टुहुरा भएका थिए । सरकार पक्ष र माओवादी पक्षबाट यति र उतिजना मारिए भन्ने समाचार हरेक दिन रेडियोले फुक्थ्यो । एउटा अबोध टुहुरो बालकले आफ्नो आमाले अरूले भन्दा फरक पहिरन लगाउँदा अनि आफूसँगै कहिल्यै पनि ‘बाबा’ नहुँदा कस्तो अनुभूति गर्छ होला भन्ने परिवेशलाई सोचेर यो गीत लेखेको हुँ ।
दिनेश काफ्ले र गीतादेवीको स्वरमा सार्वजनिक गीतको सर्वत्र चर्चा भयो । बालगायनको एउटा इतिहास बनेको गीतले द्वन्द्वको घाउले पोलिरहेका र नजिकबाट नियालिरहेका सबैको मन छोयो । यो पनि मेरो सांगीतिक जीवनको अविस्मरणीय रचना लाग्छ ।
४. मिर्मिरेको घाम
यो गीतको प्रसंग आउँदा शीला क्यासेट सेन्टर र इन्द्र जिसी दाइलाई सम्झिन्छु । मेरो गीतिलेखनलाई मन पराएर इन्द्र दाइले एल्म निकाल्ने प्रस्ताव राख्नुभयो । उहाँको प्रस्ताव मेरा लागि ‘ढुंगा खोज्दा देउता मिले’जस्तै भयो । बिन खातीजीले लय बनाउनुभयो भने राजु परियार र लक्ष्मी न्यौपानेले गाउनुभयो । लोकगीतको यात्रामा मलाई सफल बनाउने गीत हो, यो । आर्थिक रूपमा पनि मलाई काठमाडौंमै अडिरहन यसै गीतले बल पु¥यायो । लोकगीत नलेखेको भए म काठमाडौंमा टिक्न सक्दिनँ थिएँ होला । किनभने, म काठमाडौं छिर्दै गर्दाको करिब एक दशकसम्म लोकदोहोरीको बजार असाध्यै राम्रो थियो ।
हुन त यो गीतभन्दा अगाडि नै मैले ‘कम्मर बारुलै’ भन्ने गीतबाट पारिश्रमिक लिइसकेको थिएँ । यो भन्दैगर्दा कतिपयले घमन्ड ग¥यो भन्लान्, तर नेपाली लोकसंगीतमा लेखेर पारिश्रमिक लिने यात्रा मबाटै सुरु भएको रहेछ । पछि अन्य संगीतकर्मीले पनि यो कुरा स्वीकार गरे । माया–प्रेमसँग सम्बन्धित मिर्मिरेको घामले मलाई धेरै दिनसम्म दालभात खान दियो ।
५. मनको देउतैले
मिर्मिरेको घामपछि मैले ‘माया नमार’ र ‘मनको देउतैले’ भन्ने एल्बम गरेँ । खुमन अधिकारी भाइले त्यसअघि पनि केही गीत त गाउनुभएको थियो । तर, उहाँलाई व्यावसायिक रूपमा सफल बनाउन ‘मनको देउतैले, नरोऊ भन्ने हजारौँ भेटियो, रुवायो एउटैले’ बोलको गीतले सहयोग ग¥यो भन्ने लाग्छ । खुमन भाइले समेत यो कुरा स्विकार्नुहुन्छ । यो गीतको लय संकलन मेरै हो ।
यसको बजार व्यवस्थापकलगायत अन्य संगीतकर्मीले त्यतिखेर मलाई भन्नुभएको थियो, ‘राजु परियारको बजार भइरहेको वेला नयाँ कलाकार खुमनलाई लिएर तपाईंले जोखिम मोल्नुभयो ।’ तर, नयाँ कलाकारलाई अगाडि ल्याउनुपर्छ भन्ने मेरो जोड थियो । मैले जोखिम लिएको हो, तर खुमनको स्वर अत्यधिकले मन पराइदिनुभयो ।
६. तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमे पनि
लोकदोहोरी गीतको बजार खस्किँदै गर्दा आधुनिक गीतको बजार फेरि आउन थाल्यो । मैले लोकदोहोरी गीत धेरै लेखेँ । तर, आधुनिक गीत लेख्दा पनि राम्रै गर्छु कि भन्ने आशा थियो । आधुनिक गीत गर्ने र संगीत पनि गर्ने दुस्साहस मैले गरेँ । आधुनिक गीत लेखे पनि संगीत गर्दा गीत मर्छ कि भन्ने डर पनि थियो । डरकै माझ मैले ‘तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमे पनि’ बोलको गीत आफ्नै संगीतमा बजारमा ल्याएँ । श्रोताले मन पराइदिनुभयो । त्यसपछि भने मेरो संगीत साँच्चिकै संगीत भएछ भनेर ढुक्क भएँ ।
यो गीतको प्रसंगमा कुमार केसी भाइलाई सम्झिन्छु । उज्यालो म्युजिकमार्फत उहाँले मेरो पहिलो एल्बम ‘कसम’ ल्याइदिनुभयो । रेकर्डिङका हिसाबले मेरो पहिलो संगीत रहेको र मेरै शब्दमा रहेको ‘कसम’ एल्बममा रहेको यो गीत अञ्जु पन्त बहिनीले गाउनुभयो । मेरो सांगीतिक गोरेटो यसपछि झन् फराकिलो भयो ।
७. किन शंका गर्छौ मेरो
प्रमोद खरेलजीले मेरो गीतमा स्वर दिएको यो नै पहिलो हो । गायत्री थापाजीको शब्दमा मैले संगीत गरेको यो गीतले पनि राम्रो चर्चा पायो । कालिका म्युजिक अवार्डमा नोमिनेसनमा पर्दा म निकै खुसी भएँ । मसँगै दिग्गज संगीतकारहरू सुरेश अधिकारी, राजु सिंह दाइ नोमिनेसनमा परेका थियौँ । पहिलोपटक मेरो नोमिनेसनमा परेको गीतले अवार्ड पाउने झिनो आशा थियो । मभन्दा दिग्गज संगीतकारको बीचबाट मेरो यो सिर्जनाले अवार्ड पायो । म त्यसपटक भक्कानिएँ । संगीततर्फबाट समेत मैले अवार्ड पाउँदा कतिपय संगीतकर्मीले ‘गीत लेख्नेले समेत संगीत गरेर अवार्ड थाप्ने भयौ है !’ भन्दै व्यंग्य पनि गरे ।
८. मस्र्याङ्दीमा फूल बगाम् भो
खुमन अधिकारी र विष्णु माझीले गाएको यो गीतको लय सिर्जनामिन दर्लामीले गर्नुभएको हो । प्रेम सफल नभएपछि प्रेमी–प्रेमिकाबीच सँगै मरौँ कि क्या हो भन्ने सोचाइ उत्पन्न हुने परिस्थितिलाई सम्झेर मैले यो गीत लेखेको हुँ । यसको म्युजिक भिडियोमा विछोडको क्षणमा रहेका प्रेमी–प्रेमिकाले सँगै आत्महत्या गरेकै देखाइएको छ । गीत सुनेर-हेरेर एक–दुईजनाले आत्महत्या गरे रे भन्ने हल्ला आयो । त्यसपछि एउटा हुलले कतिपय रेडियोबाट यो गीत बजाउन ‘ब्यान्ड’ नै गरे । केही एफएमहरूमा अडियोसमेत नबजाउने भन्थे, तर अहिले पनि यो गीत विभिन्न सञ्चारमाध्यममा बजिरहेको छ । निकै लोकप्रिय भए पनि यही गीत सुनेर केहीले आत्महत्या गरे भनेको सुन्दा कतै गल्ती पो गरिएछ कि भन्ने लाग्छ । अहिले आत्मसमीक्षा गर्दा आत्मग्लानी हुन्छ ।
९. सुनेँ खबर जीवनसाथी
यो गीतले विन्ध्यवासिनी म्युजिकसँग पहिलोपटक मेरो सहकार्य गरायो । दुई वर्षअघि नरेन्द्र प्यासी दाइको स्वरमा रेकर्ड हुँदा नै मैले यो गीत लोकप्रिय हुन्छ भन्ने अड्कल गरेको थिएँ । नभन्दै त्यस्तै भयो । महिला स्वरमा श्रेयसी चेम्जोङले पनि गाउनुभयो । तर, सुरुको गायकी चित्त बुझेन । फेरि दोस्रो दिन बोलाएर गाउन लगाएँ । दोस्रोपटक निकै राम्रो गाइन् । यही गीतले उनलाई चिनायो । उनी औसतभन्दा ‘हाई रेन्ज’मा गाउँछिन् । यो गीतले मलाई बिन्ध्यवासिनी अवार्ड र कालिका अवार्ड दिलायो ।
१०. तिमी छौ र पो हाँसेको छु म
पछिल्लो समय चर्चित भएको गीत हो, ‘प्रतिविम्ब’ चलचित्रमा समावेश ‘तिमी छौ र पो हाँसेको छु म’ । यसमा मेरो शब्द र संगीत छ भने हेमन्त राना र संगीता राना प्रधान दिदीले गाउनुभएको छ । ठूलो पर्दाको चलचित्रका लागि यो नै मेरो पहिलो संगीत दिएको गीत हो । दोहोरी साँझदेखि सार्वजनिक सवारीसाधनमा पनि यो गीत बजाएको सुन्छु ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads