Loading...
८८ राजनीतिक दललाई समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमुखीकरण

Click to Load Image
काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फबाट उम्मेदवार छनौट गर्न राजनीतिक दलहरुलाई सहज होस् भन्ने उद्देश्यले ८८ राजनीतिक दललाई ‘समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’को आयोजना गरेको छ । 
आयोगमा दर्ता रहेका ९१ राजनीतिक दलमध्ये दुई दिनमा गरी समानुपातिकतर्फ दर्ता भएका ८८ राजनीतिक दललाई संविधान र ऐनले व्यवस्था गरेबमोजिम उम्मेदवारहरुको बन्दसूची पेश गर्ने तरिका सिकाइएको छ ।  समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची पेश गर्न असोज २९ को मिति तय गरिएको छ । 
यसैवीच दोस्रो दिनको उक्त कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले राष्ट्रियसभा सदस्य ऐन बनाउन समानुपातिक  र समावेशी हुनका लागि एकल सङ्क्रमणीय मतप्रणाली अनुसारको राष्ट्रियसभा सदस्य विधयेक पारित होस् भन्ने आयोगको चाहना रहेको बताइन् । उनले भनिन्, ‘राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल सङ्क्रमणीय व्यवस्था अनुसारको राष्ट्रियसभाको कानून संसद्बाट पारित होस् भन्ने हाम्रो आग्रह हो । स्थानीय तहदेखि माथि राष्ट्रियसभासम्म नै संविधान र लोकतन्त्रको  मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेन भने संविधानको भावना नसमेटिन सक्दछ ।’
त्यस्तै निर्वाचन  आयुक्त नरेन्द्र दाहालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्दा आउन सक्ने अस्पष्टतालाई प्रशिक्षणले  सहज तुल्याउने बताए । अर्का  आयुक्त इश्वरीप्रसाद पौड्यालले नेपालका लागि समानुपातिक निर्वाचन प्रणाली नयाँ भएकाले मतपरिणाम घोषणा गर्ने सूत्र तथा बन्दसूचिको क्रम मिलाउने लगायतका विषयमा प्रशिक्षणबाट प्रष्ट हुन सकिने उल्लेख गरे । 
    अर्का  आयुक्त सुधीरकुमार शाहले  निर्वाचनलाई स्वच्छ र स्वतन्त्र  बनाउनका लागि आचारसंहिताको उल्लङ्घन गर्ने जो कोहीलाई पनि आयोगले नछोड्ने चेतावनी दिए । उनले आचार संहिता भनेको स्वअनुशासन हो भन्दै जनताको विश्वास प्राप्त गरेको व्यक्तिले जित्नुपर्छ भन्ने लोकतन्त्रको मान्यता भएकाले ठूलो जुलुस लिएर उम्मेदवारी मनोनयन गरे चुनाव जितिन्छ भन्ने सोच त्याग्नुपर्ने बताए । आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणाली स्वाभाविकरुपमा भिन्न प्राविधिक र गणीतीय रहेकाले राजनीतिक दललाई उम्मेदवारको बन्द सूची तयार गर्न प्रशिक्षण प्रदान गरिएको बताए । 
आचारसंहिताको पुर्ण पालना थगर्न आग्रह
निर्वाचन आयुक्त इला शर्माले आगामी मङ्सिरमा हुने निर्वाचनलाई  स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेकी छन् । निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षण प्रशिक्षक तालिमको शुभारम्भ गर्दै उनले आचारसंहिताको पूर्णपालना गर्न गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेकी हुन् ।
कार्यक्रममा आयुक्त नरेन्द्र दाहालले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनको व्यवस्थापन सरल तुल्याउने र मतदाताको सहभागिता बढाउने दिशामा सवैको सहयोगी भूमिका हुनुपर्ने बताए । प्रशासकीय अदालतका अध्यक्ष एवम् संविधानविद् काशीराज दाहालले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन निर्वाचन आयोगलाई आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कानून अनुरुप कारबाही गर्न सुझाव दिए । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन बनेका ऐन र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 
आयोगका सहसचिव नवराज ढकालले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा मतदाता नामावलीलाई अन्तिमरुप प्रदान गरिएको, मतपत्र  छपाइको काम शुरु भएको, विभिन्न नौ प्रकारका तालिम प्रशिक्षण चलिरहेको जानकारी दिए । नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीका प्रतिनिधि रिनाउड मेयरले संयुक्त राष्ट्रसंघले नेपालको निर्वाचनका लागि प्राविधिक सहयोग गर्दै आएको जानकारी दिएका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads