Loading...
वाम गठबन्धनको क्षेत्र बाँडफाँडः ११५ को टुंगियो

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो । अब पाँच जिल्लाका १३ क्षेत्रको मात्रै टुंगो लाग्न बाँकी छ । एमालेले ६८, माओवादी केन्द्रले ३६, स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति संयोजन समितिमा भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए । २१ मंसिरमा दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन हुँदै छ । क्षेत्र बाँडफाँड टुंग्याएर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने एमाले र माओवादी केन्द्रको तयारी छ ।
‘पाँच जिल्लाबाहेक सबै क्षेत्रको टुंगो लागेको छ,’ एमाले नेता तथा कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘टुंगिएका क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाउने गरी अब छलफल अघि बढ्नेछ ।’
टुंगिन बाँकी जिल्लामा झापा र सुनसरीमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दुई/दुई सिट दाबी गरेको छ । उदयपुरमा प्रतिनिधिसभा र प्रदेश सभाको पनि टुंगो लागेको छैन ।
टुंगिन बाँकी जिल्ला झापा, सुनसरी, उदयपुर, चितवन र सल्यान 
त्यस्तै, चितवन २ र सल्यानमा दुवै दलले प्रतिनिधिसभामा दाबी गरेका छन् । सल्यानको प्रतिनिधिसभा छाड्न तयार भए पनि एमालेले प्रदेश सभाको दुवै सिटमा अडान राखेको छ ।
त्यस्तै, महोत्तरी–१ प्रदेशतर्फको सिट पनि टुंगो लाग्न बाँकी छ । दाङ–२ माओवादीले लिने र प्रदेशमा एमाले नेता शंकर पोखरेलले उम्मेदवारी दिने गरी संयोजन समितिमा समझदारी बनेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । त्यस्तै, दैलेख र सुर्खेतमध्ये एउटा जिल्लामा माओवादी केन्द्रले प्रतिनिधिसभा पाउनुपर्ने अडान कायम राखेको छ । एमालेले भने सल्यान छाड्न तयार रहेको, तर पकड रहेको दुई जिल्लामा प्रतिनिधिसभा आफैँले राख्न पाउनुपर्ने अडान राखिरहेको छ ।
कार्यदलले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको क्षेत्र बाँडफाँड टुंगो लगाएको छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १, ८ र १० लिने, बाँकी सबै एमालेले लिने समझदारी भएको छ ।
त्यस्तै, भक्तपुरका दुवै क्षेत्र र ललितपुरको १ र २ एमालेले र ३ नम्बर क्षेत्र माओवादीले लिने समझदारी भएको नेताहरूले बताए । २ नम्बर प्रदेशमा १६–१६ सिट बराबरी भागबन्डा गर्ने समझदारी भएको छ । तेह्रथुम, धनकुटा, काभ्रे, मकावनपुर, नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बर्दिया, प्युठान र कैलालीका क्षेत्र बाँडफाँड टुंगिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads