Loading...
किन बढ्यो बाम गठबन्धन : सिट बाँडफाँडमा झमेला


Click to Load Image
काठमाडौं– एमाले, माओवादी र नयाँ शक्तिको ‘बाम गठबन्धन’ बीच आगामी निर्वाचनमा कसलाई कति सिट छुट्याउने भन्ने निर्णय गर्न कठिन परेको छ । गत मंगलबार बाम गठबन्धन घोषणा गरेका उनिहरुले एक साता वित्दा समेत निर्वाचन क्षेत्र र सिट बाँडफाँड गर्न सकेका छैनन् । 
यसअघि ६० ÷४० को नीतिअनुसार भागबण्डा मिलाउने बताएका ती दलले गठबन्धन घोषणापछि कार्यदल बनाएर सहमति जुटाउन जिम्मेवारी दिएका थिए ।
बिहीबार कार्यदल बनाएर सिट र क्षेत्र बाँडफाँडको जिम्मेवारी तोकिएपनि औपचारिक रुपमा कर्यदलस्तरको बैठक एक पटक बाहेक बस्नै सकेको छैन । एमालेका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलाई असोज २२ गते आइतबारभित्र सहमति जुटाउने म्याद तोकिएको थियो । तर, कार्यदलले पाएको समयसीमा सकिएको दुई दिन हुनलाग्दा समेत सहमतिमा नपुगेपछि गठबन्धनभित्र सिटसंख्या र क्षेत्र मिलाउन ‘सकस’ परेको बुझिएको छ । 
कार्यदलमा रहेका माओवादीका नेता मात्रृका यादवले सहमति जुटाउन अझै एक दुईदिन लाग्ने बताए । ‘सहमति जुटाउन त्यति सजिलो छैन,पहिलो आफ्नो पार्टीभित्र मिलाउनुपर्यो अनि संयुक्त रुपमा मिलाउने त छदैछ, अहिले तीनै दल आ–आफ्ना पार्टीभित्र छलफलमा छन् । कार्यदलमा रहेका माओवादी सदस्यहरुबीच आज छलफल हुन्छ, त्यसपछि संयुक्त रुपमा पुन छलफल गरिन्छ,’ नेता यादवले रातोपाटीलाई बताए ।  
यद्यपी दलहरुले धेरै कुरा मिलाउनुपर्ने भएकाले समय लागेको बताएका छन् । कार्यदल सदस्य एमाले नेता सुरेन्द्र पाण्डेले यसवीचमा धेरै गृहकार्य भएको बताए । उनले दिनहँजसो आन्तरिक छलफल भइरहेको भन्दै सहमतिको अन्तिम ड्राफट तयार गर्ने काम भइरहेको र पार्टीको स्थायी समिति बैठकमा त्यसवारे छलफल हुने बताए । एमालेले मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । 
‘प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा एमालेले ९० देखि ९५ सिट र माओवादीले ५५ देखि ६० को वरिपरि सिट सुरक्षित गर्नेगरी सहमति गरिन्छ । त्यस्तै प्रदेशसभाका लागि एमालेले १९८ र माओवादीले १३२ सिट हाराहारीमा विभाजन गरिने छ ।’ कार्यदल सदस्य पाण्डेले बताए ।  केही सिट नयाँ शक्ति पार्टीलाई दिने दलहरुको सहमति छ । नयाँ शक्तिलाई प्रत्यक्षतर्फ बढिमा ५ सिट दिनसकिने कार्यदलस्तरमा प्रस्ताव आएपनि कहाँ कहाँ दिने भन्नेमा मतभेद देखिएको बताइएको छ । यस्तै सिट बाँडफाँड गरेर चुनाव लडिसकेपछि गठबन्धनका उम्मेदवारले जित्नैपर्ने भएकाले पनि त्यसको हिसावकिताव गर्ने काम भइरहेको बताइएको छ । 
बाम गठबन्धनले सिट बाँडफाँडका लागि २०७० को संविधानसभा निर्वाचन र गत स्थानीय तहको मतलाई मुख्य आधार बनाउने सहमति भने गरिसकेका छन् । यद्यपी मुख्य विषयमा शीर्ष नेताहरुबीच नै कुराकानी गरेर टुङग्याउनुपर्ने भएकाले शीर्ष तहमा कुराकानी भइरहेको एमाले नेता पाण्डेले बताए । उम्मेदवारसंख्या र क्षेत्र विभाजन गर्न तीनवटै पार्टी सम्मिलित ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल बनाइएको थियो । सो कार्यदलमा दुवै पार्टीका अध्यक्षसहित एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रबाट रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेका छन् ।
उता, गठबन्धनको चुनावी घोषणापत्र मस्यौदा समितिले पनि खासै प्रगति गर्न नसकेको बताइएको छ । यो कार्यदलमा एमालेका उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल ‘आहुति’ तथा नयाँ शक्तिबाट डम्बर खतिवडा छन् । यो कार्यदलले एक साताको समय पाएको थियो । जसको म्याद असोज २६ गते बिहीबारसम्म रहेको छ । मस्यौदा समितिले भने मस्यौदा लेखनको काम गरिरहेको जनाएको छ । कार्यदलका सदस्य भीम रावलले समयसीमाभित्रै काम सक्नेगरी मस्यौदा लेखनको काम भइरहेको बताए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads