Loading...
निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरी हत्या

Click to Load Image
काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 
गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका थिए । घाइते गौचनलाई सिभिल अस्पताल लगिएको  थियो । बानेश्वर प्रहरीका डिएस्पी रवि कुमार पौडेलका अनुसार अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भने । 
डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन । 
प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा गाडीमा सवार भएर गौचन आउँदै थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए ।
लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि तीनवटा गोली प्रहार गरेका थिए । 
गोली प्रहारपछि ड्राइभरले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि गौचनको शरीरबाट रगत बगेको देखेपछि उनलाई सोही गाडीमा राखेर अस्पताल तर्फ लगेका थिए । स्थानीयका अनुसार गौचन अचेत अवस्थामा थिए ।
घटना हुँदा उनी घरतर्फ फर्कदै थिए । उनको घर घटनास्थलबाट नजिकै रहेको छ ।
गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए ।
प्रहरी यति बेला घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।
के कारणले उनीमाथि गोली प्रहार गरिएको भन्ने खुलेको छैन ।
ठेक्कापट्टा र गुण्डाहरुको सम्बन्ध रहँदै आएको विभिन्न समयमा घटेका घटनाहरुले पुष्टि गरेको छ । पछिल्लो समय राजधानीमा गुण्डागर्दी मौलाउनुको प्रमुख कारण ठेक्कापट्टा भएको प्रहरी अधिकारीहरु नै बताउँछन् । 
गौचन महासंघको महासचिव हुँदा रमेश बाहुन तथा कुमार घैंटेसँग पनि सम्बन्ध रहेको भन्ने खबरहरु बाहिर आएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads